Logo

‘आदिवासी जीवन-दर्शन नै आदिवासी साहित्यको आधार’


राजन मुकारुङ, अध्यक्ष, आदिवासी जनजाति साहित्यकार महासंघ


राजन मुकारुङ नेपाली सहित्यमा स्थापित नाम हो । आफूलाई मुलधार भन्नेहरुले उनलाई ‘इतर’ भन्छन् । तर, राजन आफै भने इतर भनिएकाहरुले लेख्ने साहित्य नै नेपाली सहित्यको मुलधार मान्छन् । नेपाली जीवन–दर्शनमा आधारित सहित्य नै नेपाली मुलधारको साहित्य हो भन्ने उनको मत छ । ‘सृजनशील अराजकता’ साहित्यिक आन्दोलनमार्फत नेपाली साहित्यमा तरंग पैदा गरेका मुकारुङ अहिले आदिवासी साहित्यकारलाई नेतृत्व गर्छन् । हालै मुकारुङको नेतृत्वमा ‘आदिवासी जनजाति साहित्यकार महासंघ’ गठन भयो । प्रस्तुत छ यसैको पेरिफेरीमा दृष्टि सम्वाददाता प्रकाश चाम्लिङले गरेको कुराकानी:

– आदिवासीको मुद्वा स्थापित गर्न लेखनबाटै सम्भव छैन र ? किन संगठन नै बनाउनुपर्‍यो ?

एउटा व्यक्तिले लेखेर भन्न सक्छ । तर, एउटा व्यक्तिले लेखेर भन्दाको प्रभावचाहिँ व्यक्ति केन्द्रित हुन्छ । विश्व सन्दर्भबाट नेपालको सन्दर्भमा जोडेर ल्याउँदा आदिवासी ‘मुभमेन्ट’को सन्दर्भ व्यक्तिको सन्दर्भ होइन । यो समुदायसँग जोडिन्छ । यसलाई मानव सभ्यता विकासक्रमको इतिहास, सभ्यताको विस्तार र विकाससँग जोडेर हेर्नुपर्छ । आदिवासी जनजाति आन्दोलनलाई एउटा व्याक्तिले लेखेरमात्र सम्भव छैन । सामूहिक अभ्यास आवश्यक छ ।

– साहित्यमा छुट्टै पहिचना बनाउन सफल तपाई आन्दोलन गर्ने कि लेख्ने ?
म पहिलेदेखि नै अभियानता हुँ । सुरुदेखि लेखन र आन्दोलनमा छु । संगठन अहिलेको आवश्यकता हो । त्यसैले संगठन विस्तारमा लागेको छु । अब पनि मेरो भूमिका दुबैतर्फ हुनेछ ।

– पहिले नै संगठन बनाएर लाग्नु पर्ने थियो ! सृजनशील अराजक आन्दोलनमार्फत गर्न त खोज्नु भयो तर, त्यो सानो समूहमात्रै थियो ।

सनो र ठूलो समूह भन्ने हुँदैन । मुख्य कुरा मुद्धा कसरी उठ्यो भन्ने हो । जति बेला हामी साहित्यिक ‘मुभमेन्ट’मा थियौँ त्यति नै बेला वर्तमान राज्यव्यवस्था स्थापित गर्ने राजनीतिक आन्दोलन पेचिलो रुपमा उठेको थियो । हामी संघीयता, गणतन्त्र, धर्मनिरपेक्ष र समानुपातिक समावेशी प्रतिनिधित्वका लागि राजनीतिक दलसँग मुद्धागत रुपमा एकै ठाउँ थियौँ । त्यो समय राजनीतिक रुपमै हाम्रा मुद्धा सम्बोधन हुन्छन् भन्नेमा विश्वस्त थियौं । तर, संविधानमा हाम्रो मुद्वा समावेश हुन सकेन । त्यसैले संगठन नै बनाएर फेरि संघर्षमा जुटेका हौँ । हाम्रा मुद्धाहरुलाई अझ सृजनात्मक ढंगले उठाउनुपर्छ भन्ने अभिप्राय हो ।

– लेखनमा कमजोर हुँदै गएपछि संगठन विस्तारमा लाग्नुभयो भन्ने आरोप छ नि !
लेखनमा कसरी कमजोर भए होला ! म त झन्झ-न् ऊर्जावान भएको छुजस्तो लाग्छ । म त अझ यसलाई ‘एकेडेमिक’ बनाउन सकिन्छ भन्नेमा प्रयत्नरत छु । कृतिहरु छिटो-छिटो आउनुपर्ने पाठकको आशा हुनसक्छ । तर, पाठकलाई जस्तो पायो, त्यस्तै कृति दिने कुरा हुँदैन । पठकलाई राम्रो विषयवस्तु समेटेर कृति दिनुपर्छ भन्ने मेरो मान्यता हो । त्यसैले ढिलो हुँदा लेखनमा कमजोर भयो कि भन्ने भान परेको हुनसक्छ ।

– तपाइँको संगठनले नेपाली साहित्यलाई कसरी व्याख्या गर्छ ?
नेपाली साहित्य भनेर बनाइएको मानक हिन्दु धर्ममा आधारित आर्य सभ्यतासँग आधारित साहित्य हो । तर, वास्ताविक नेपाली समाजको स्वरुप त्यो होइन । नेपाल विविध जाति, भाषी, साम्प्रदायिक समुदाय भएको विविधतायुक्त समाज हो । भन्ने गरिएको नेपाली साहित्यले हाम्रो वास्तविकता स्वीकार्न सकेको छैन । बारम्बार भन्ने गरेकै छु, अहिलेसम्म हाम्रो प्राथामिक तहदेखि विश्वविद्यालयमा पढाइने पाठ्यक्रमहरु पनि त्यहि एउटै धर्म दर्शन, सभ्यता अथवा इतिहासको गुणगानमै आधारित छन् । त्यसैले, त्यो आम नेपालीको बन्न नसकेको हो ।

– यो व्याख्या आरोपमात्र हो कि सत्यता पनि छ ?
स्कुलदेखि नै नैतिक शिक्षा पढाइन्छ । नैतिक शिक्षाको वियवस्तुहरु हिन्दु धर्म दर्शनमा आधारित छन् । सबैलाई हिन्दू दर्शनमा दिक्षित गरिँदैछ । विश्वविद्यालयसम्म पुग्दा तपाइँको दृष्टिकोण कस्तो बन्ला ? जस्तो शिक्षा पायो त्यस्तै ‘माइण्ड सेट’ हुने हो । तपाइँले पाएको शिक्षाअनुसार समाजलाई बुझ्ने धारणा तय हुन्छ । जुन धारणाले नेपाली समाजलालई फराकिलो रुपमा हेर्न सक्दैन । नेपालमा मुलधार नै के बनेको छ र ? अहिलेसम्म हिन्दु आर्य सभ्यतालाई मूलधार भन्ने गरिएको छ । त्यसैलाई मूलधार मान्नु पर्ने जरुरी नै छैन । जबसम्म समग्र नेपाली भाषा, साहित्य, संस्कृति, सभ्यता र दर्शनहरु साझा बन्दैन तबसम्म नेपालको मुलधार बन्दैन ।
अहिलेसम्म नेपालमा मुलधार भनेर महेन्द्रको राष्ट्रवादमा आधारित एक भाषा–एक नीति र हिन्दु धर्म–दर्शनमा आधारित ‘एस्थेटिक’लाई मानिएको छ । हाम्रो आन्दोलन त्यसको विरुद्धमा छ । हामी साझा दृष्टिकोण निर्माणका लागि आन्दोलनमा छौँ ।

– साहित्य क्षेत्रले मुलधारको नमान्ने नेपाली मौलिक विषयवस्तुलाई कसरी मुलधार साहित्यको रुपमा विकास गर्न सकिन्छ ?
आदिवासीमा लिखित दस्तावेजीकरणको परम्परा बिकास हुन सकेन । यसमा राज्यको नीति मुख्य कारक बन्यो । ‘ओरल ट्रेडिसन’ले मात्र निरन्तरता पाउँदा लिखित दस्तावेज बन्न सकेन । लिखित नभएका कारण सन्दर्भ ग्रन्थको रुपमा रहन पाएन । अब ‘ओरल ट्रेडिसन’मा आधारित साहित्यलाई लिखित गर्नुपर्छ । ती सामग्री भविश्यमा शैक्षिक सन्दर्भ सामग्री बन्नेछन् । मातृभाषामा लेखिएका साहित्यलाई आम मानिसमा पुर्याउने, उनीहरुको मुद्धालाई स्थापित गराउने हाम्रो ध्येय बनेको छ । जसका लागि सामुहिक प्रयत्न गर्न संगठित भएका छौँ ।

– नेपाली साहित्यमा खस भाषामा लेखिएका साहित्यमात्र प्राथमिकतामा पर्छन् । मातृभाषामा लेखिले साहित्यलाई कसरी स्थापित गर्ने ?
सीमित मान्छेले मातृभाषा बोल्छन् । त्यसैले, मातृभाषाका साहित्य पनि मातृभाषीहरुमा मात्रै सीमित रह्यो । उनीहरुको परम्परा यस्तो छ । दर्शनले यसो भन्छ । जीवन र जगतलाई हेर्ने दृष्टिकोण यस्तो छ भनेर लेखिनुपर्छ, बोलिनुपर्छ । सजका लागि फोरम चाहिन्छ । फोरमहरु निर्माण गरिदिनुपर्छ । राज्यले खस पर्वते भाषाका लागि खरबौं लगानी गरिरहेको छ । मातृभाषाहरुको बिकासका लागि राज्यले लगानी गर्नुपर्छ । हामी मातृभाषामा लेख्नुपर्छ भनेर उत्प्रेरित त गरिरहेका छौँ । सँगसँगै त्यहाँ लेखिएका विषयमा छलफल बहस पनि गरिदिनु पर्छ ।

– ‘आदिवासी साहित्य’ भनेर छुट्टै व्याख्या गर्दै सैद्धान्तिकरण गर्न सकिन्छ ? सकिन्छ भने यसका आधारहरु के हुन सक्छन् ?
सबै आदिवासी जनजाति समुदायहरुसँग आ–आफ्नै संस्कार संस्कृतिहरु छन् । परम्परागत ज्ञान र शीपहरु छन् । सबै जातिहरुको जीवन–दर्शन प्रक्रिया र पद्धतिहरु अहिलेसम्म बाँचेर आएका अनुभवहरु छन् । राई–लिम्बूसँग मुन्धुम छ । मुन्धुमका आफ्नै विशेषताहरु छन् । यी आधारबाट हामी आदिवासी सौन्द्धर्यमा आधारित ‘आदिवासी साहित्य’ भनेर सैद्धान्तिकरण गर्न सक्छाँैं ।

– वर्तमान राज्यव्यवस्थाप्रति तपाइँको संगठनको धारणा के हो ? संविधानमा सबै विषय समेटिए वा अझै बाँकी छन् ?
सबै अटाएको भए यो आन्दोलन किन ? त्यहि नसमेटिएको हुनाले हामी आन्दोलनमा छौँं । हामी विगतका परिवर्तनकामी राजनीतिक आन्दोलनहरुमा राजीनीतिक दलहरुसँग आशावादी भयौँ । ती आन्दोलनमार्फत मुक्ति देखेका थियौँ । राजनीतिक दलहरुलाई विश्वास गर्नाले हाम्रा मुद्धाहरु छुटेका हुन् । व्यवस्थाका नामहरु फेरिए । राजतन्त्रबाट गणतन्त्र भनेर परिवर्तन गरियो । तर, सबै नामहरु फेरिँदा पनि हाम्रो अवस्था फेरिएन । हाम्रा मागहरु सुनुवाइ भएनन् । त्यसकारण पछिल्लो संविधानसँग त हामी सहमत हुन सक्दैनौँ । जबसम्म नेपालमा पुर्णसमानुपातिक प्रतिनिधित्व प्रणाली लागू हुँदैन, तवसम्म साना—साना समुदायममा रहेका अल्पसंख्यक समुदायको मुद्धा सम्बोधन हुँदैन । त्यसैले हामी नीतिमै केन्द्रित छौँ । संविधानमा कसरी हुन्छ सबैलाई समेट्नु पर्छ ।

वर्तमान संवैधानिक संकटलाई के भन्नुहुन्छ ?
प्रधानमन्त्री ओलीको कदमलाई असंवैधानिक वा प्रतिगमन भन्नु राजनीतिक दलको बाध्यता हो । आदिवासी जनजातीका लागि बर्षौदेखि राज्यले असंवैधानिक व्यवहार गरिरहेको छ । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता यी नामहरु शीर्षकमा सम्बोधन गरिएको छ । तर, धर्मनिरपेक्षताको अभ्यास भएको छ त ? सांस्कृतिक बाजा ‘केः’ बनाउन गाईको छाला प्रयोग गरे एउटा लिम्बू तुरुन्तै जेल जान्छ । यो धर्मनिरपेक्षताको अभ्यास भयो त ? अहिले केपी ओलीले असंवैधानिक कदम चाल्यो भन्दै त्यै लिम्बूलाई ‘केः’ बजाए बिरोध गर्न लगाइएको छ ! ‘केः’ बनाउन अपराध हुने, त्यै ‘केः’ बजाएर शासकको विरोध गर्न चाहिँ हुने ? त्यसकारण हाम्रो लागि त हिजोदेखि नै पाइला–पाइलामा असंवैधानिक रुपमा दमन भएको छ ।

– उपलब्धि नै संकटमा परेको बेला किन मौन ?
मौन कसरी छौँ । केपी ओलीलाई सत्ताबाट हटाएर माधव—प्रचण्डलाई प्रधानमन्त्री बनाउन हामी किन आन्दोलनमा गर्ने ?
ओलीको कदमलाई असंवैधानिक भनियो त्यो ठिक छ । त्यसका विरुद्ध दलहरु आन्दोलनमा छन् । आन्दोलनप्रति हाम्रो पनि समर्थन छ । तर, हाम्रा केहि सवालहरु छन् । त्यसलाई सुनुवाइ गर्ने कि नगर्ने ? मसिना कानूनहरु मिचेर व्यवहारतः हामीमाथि अन्याय भइरहेको छ । हाम्रा सांस्कृतिक सम्पदाहरु विकासको नाममा ध्वस्त गर्ने कामहरु भइरहेको छ । विकास र समृद्धिको नाममा हाम्रो भाषा संस्कृतिको आन्दोलनहरुलाई नजरअन्दाज गर्ने काम भइरहेको छ । त्यो कुराहरुमा चाहिँ कहिले अपिल गर्ने त दलहरुले ? त्यत्रो थरुहट आन्दोलन भयो । थारु नेताहरु अहिले पनि जेलमा छन् । उनीहरुको विषयमा के भन्छन् त असंवैधानिक कदम विरुद्ध उठेको आन्दोलनले ? के बोल्छ त, किन बोल्दैन त ? थारुहरुको घर–घरमा पसेर राज्यले दमन गर्यो त्यतिबेला किन बोलिएन ? त्यतिबेला प्रचण्ड–माधवहरु कता थिए ? त्यतिबेला किन नदुखेको उनीहरुको मन ? त्यसकारण मिहिन ढंगले विमर्श गर्नुपर्छ । केहि नेताहको स्वार्थमा सबै लामवद्ध हुनुपर्छ भन्ने छैन । यसको मतलव ओलीसँग प्रतिगमनको यात्रा गर्नुपर्छ भन्ने हुँदैन । उलब्धि ओलीको असंवैधानिक कदमले मात्र खतरामा परेको होइन । वर्तमान राज्यव्यवस्थाका हिमायतीहरु नै उपलब्धि संस्थागत गर्ने सवालमा उदास हुनु वर्तमान संकटको आधार हो ।

प्रतिक्रिया दिनुहोस्
molmac.p3.gov.np