Logo
Logo
टिप्पणी

अनि ओलीले भने– ‘म गणतन्त्र विरोधी होइन’


एमपी सुब्बा


न गाली, न व्यंग्य, न त कटाक्ष नै । नवरस मिश्रित उखान र कटाक्षले भरिएका भाषण सुन्ने बानी परेका कार्यकर्ता र जनमानसलाई त्यो दिन प्रधानमन्त्री केपी शर्मा ओलीको भाषण सुनेर सायद खल्लो महशुस गरे । टेलिभिजन र सामाजिक सञ्जालमा प्रत्यक्ष भाषण सुन्नेहरुले समेत टिप्पणी गरे, ‘ओलीले फेरे बोली । उखान टुक्का र गालीको कटाक्ष गर्नुको सट्टा ओली गम्भीर देखिए ।’ त्यसदिन राजा महेन्द्रको शालिकतिर फर्केर सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भने, ‘म गणतन्त्र विरोधी होइन ।’

माघ २३ गते शुक्रबार, प्रधानमन्त्री ओलीको गम्भीर्यता तर, रसविहीन भाषण । काठमाडौंको व्यापारिक केन्द्र त्योभन्दा पनि नारायणहिटी दरबारअगाडि नेकपा ओली पक्षको बागमती प्रदेशस्तरिय जनसभामा प्रधानमन्त्रीको प्रस्तुतीलाई लिएर हिजोआज दुईथरी टिप्पणी र विश्लेषण भइरहको छ ।

एकथरी ‘प्रधानमन्त्री ओलीमा राजनीति गम्भीरता’ देखिन थालेको टिप्पणी गर्दैछन् । अर्कोथरी मनोवैज्ञानिक रणनीतिमा ओली लागे । राजनीतिबृत्तमा ओलीप्रति भइरहेको पछिल्लो यी टिप्पणी, खाशमा टिप्पणीमात्र नभएर राजनीतिक संस्कार पनि हो । प्रतिनिधिसभा विघटनपछि विकसित राजनीति घटनाक्रमले ल्याएको विग्रहलाई लिएर सञ्चारमाध्यम र सामाजिक सञ्जालमा तीव्र आलोचना हुन थालेको छ ।

सामाजिक सञ्जालमा समेत सक्रिय प्रधानमन्त्री ओलीको गम्भीरता यसैको प्रभाव पनि हुनसक्छ । तैपनि आफ्नो प्रतिकात्मक शैली प्रस्तुत गर्दै उनले भने, ‘म गणतन्त्र विरोधी होइन, लोकतन्त्रको रक्षाका लागि नारायणहिटी दरबारअगाडि जनसभा गर्नु परेको हो ।’

नारायणहिटी दरबारको गेटमै मञ्च बनाएर जनसभा गर्ने घोषणा हुनासाथ प्रधानमन्त्रीमाथि विभिन्न टिप्पणी गर्न थालिएको थियो । पार्टीकै एकथरी नेताहरुले ‘ओलीले नारायणहिटी दरबारको गेटमा जनसभा गरेर हिन्दुराष्ट्र घोषणा गर्न सक्छन्’जस्ता शंकासमेत गरे । र, चर्चा यहाँसम्म गरिएको थियो, ‘ओलीले नारायणहिटी दरबार गेटमै उभिएर ‘राजसंस्था ब्यूँताउँने’ खेल खेल्दैछन् ।’ तर, ओलीले त्यहीबाट प्रतिकात्मक जवाफ दिए ‘म गणतन्त्र विरोधी होइन ।’

‘असंवैधानिक’ तवरमा दुईतिहाइ बहुमत प्राप्त प्रतिनिधिसभा विघटन गरेपछि आफै अल्पमतका परेका प्रधानमन्त्री ओलीमाथि विभिन्न आशंका गर्न थालिएको छ । आलोचना सहन नसक्ने ओली काठमाडौंमा आयोजित जनसभामा जसरी प्रस्तुत भए, त्यसपछि उनले एक किसिमको सन्देश दिएका छन् ।

प्रतिनिधिसभा विघटनपछि अनौपचारिक तवरमा नेकपा विभिाजित भएसँगै प्रधानमन्त्री ओली आफूइतरका पार्टीप्रति प्रतिकात्मक रुपमा प्रस्तुत हुँदै आएका छन् । त्यसमा पनि ब्यंग्य, गाली र कटाक्ष मिश्रित उखानका लागि ‘ओस्ताज’ मानिने प्रधानमन्त्री ओली अहिले नरमरुपमा प्रस्तुत हुन थालेका छन् ।

गालीगलौजमा प्रयोग भएका कतिपय शैली र शब्द समाजमा प्रयोग गर्नसमेत हिच्किचाउनुपर्ने अवस्थामा गइरहेका बेला प्रधानमन्त्री ओली सर्वसाधारणले अनुमान गरेभन्दा फरकशैलीमा प्रस्तुत भएर आश्चार्यमा पारे, जहाँ उनले विपक्षीलाई एक शब्द गालीगलौज गरेनन् ।

विशेषगरी नेकपा प्रचण्ड–माधव समूह असंवैधानिक तवरबाट विघटन गरिएको प्रतिनिधिसभा पुर्नस्थापना हुनपर्ने र प्रधानमन्त्रीलाई बालुवाटारबाटै हटाउने रणनीतिका साथ चरणबद्ध सडक प्रदर्शनमा छ । यस्तो अवस्थामा आफ्नो ‘बचाउ’मा प्रधानमन्त्री ओली पक्षले पनि शक्ति प्रदर्शन गरिरहेको छ । काठमाडौंको जनसभा त्यसैको एक अंश थियो ।

शक्ति प्रदर्शन गर्नेक्रममा नेकपाका दुवै पक्षका नेताहरुबीच अशोभनीय गालीमा उत्रन थालेपछि त्यसको चौतर्फी आलोचना र व्यंग्य गर्न थालिएको छ ।

नेताहरुको भाषणलाई ‘एक्शन कमेडी फिल्म’का डाइलगसँग सामाजिक सञ्जालमा तुलना हुन थालेको छ । सामाजिक सञ्जालमा शीर्ष नेताहरुले एकअर्कालाई भद्दा गाली र चरित्रहत्या गर्नेसम्म गर्न भन्ने आलोचना हुन सुरु भएकै बेला प्रधानमन्त्री ओली एकाएक शालिन र भद्ररुपमा प्रस्तुत हुन थालेका छन् । हिजोआज ओलीको शालिनतालाई उल्टै उनीमाथि ‘गाली र टुक्काविनाको भाषण के सुन्ने’जस्ता व्यंग्यात्मक टिप्पणी गर्न थालिएको छ ।

इतिहासकै शीक्तशाली कम्युनिष्ट सरकारको प्रधानमन्त्रीका रुपमा रहँदारहँदै आफ्नै एक ‘सनक’ले ‘कामचलाउ’ बनाएपछि ओलीलाई पनि पक्कै ‘आत्मग्लानी’ भएकै होला । यस्तो अवस्थामा प्रधानमन्त्री ओलीले पेलेरै अगाडि बढ्नुपर्ने बाध्यता छ । आफ्नै कारणले विकसित राजनीति घटनाक्रमले अप्ठ्यारोमा परेका प्रधानमन्त्री ओलीको विल्कल्प भनेकै कि सत्ता छोड्नु, नत्र पेलेरै बढ्नु हो । तर, पेलेर अगाडि बढ्न सक्ने संवैधानिक अधिकारसमेत गुमाउँदै आएका प्रधानमन्त्री ओलीले जनतासमक्ष आफू अझै बलियो छु भन्ने देखाउन अनेक रणनीति अपनाउन थालेको र विश्लेषण गर्न थालिएको छ ।

नाराणहिटी दरबारको गेटमै जनसभा गर्नु, भाषणमा शालिनता अपनाउनु र शक्तिपीठहरुमा पुजाआजा गर्नु प्रधानमन्त्री ओलीको अन्य दललाई ‘मनोवैज्ञानिक दवाव’ दिनु हो भन्ने बुझ्न थालिएको छ ।

प्रधानमन्त्री ओलीले आफैले दुई तिहाइ बहुमतको कम्युनिष्ट सरकार अहिले धरापमा पारेका छन् । विभाजित नेकपाको बुझाइलाई यहाँ थप्ने हो भने प्रतिनिधिसभा विघटनसँग दक्षिणपन्थीहरु सल्बलाउन थालेका छन् । दलहरुबीच यो झगडाले जनतामा निराशालाई बढिरहेको छ । यस्तो अवस्थामा आफू–आफूमै शक्ति प्रदर्शन गर्दा जनता झनै निराश हुँदै जानेछन् । तर, यतिखेर एक समयका सहयोद्धाबीच नै एकअर्कालाई शक्ति देखाउने नामको कुसंस्कार बढ्दै छ ।

नारायणहिटी दरबारअगाडि जनसभा गर्नुअगाडि कम्युनिस्ट परम्परा तोड्दै पशुपतिनाथको पूजाअर्चना गर्नुले प्रधानमन्त्री ओलीले अन्य दलका नेताहरुलाई मनोवैज्ञानिक शंकामा डुबाए । त्यसपछि ‘माघ २३ गते दरबारको गेटबाट प्रधानमन्त्रीले धार्मिक विषयमा केही बोल्नेछन्’ भन्ने शंका गरिएको थियो ।

अर्को कुरा पार्टीको विभाजित समूहलाई थर्काउन पूर्वराजाको ढोका छाने भन्ने पनि हल्ला चलाइयो । व्यक्तिपिच्छे फरक अनुमान भइरहेकै बेला ओलीले सबैको अड्कलबाजीमा तुषारा छरे । जहाँ, प्रधानमन्त्री ओलीले धर्मको ‘ध’सम्म उच्चारण गरेनन् । उल्टै गणतन्त्रको दीर्घ भविष्यप्रति कडा प्रतिबद्धता जनाए ।

दरबारअगाडि सूर्य र हँसिया हत्यौडा अंकित झण्डा र ब्यानर अगाडि उभिएर प्रधानमन्त्री ओलीले भने, ‘यो अवस्थामा गणतन्त्र जोगाउन आवश्यक छ । मैले हल्लाहरु सुनेको छु, ओलीले देशलाई हिन्दू राष्ट्र घोषणा गर्दैछन् । र, राजतन्त्र पुर्नस्थापनाको बाटो बनाउँदैछन् ।’ यो ओलीको आफ्नो बचाउ थियो । तर, यसरी एक्कासी प्रधानमन्त्री गम्भीर र गालीविहीन प्रस्तुत भई बोलेका शब्दहरुमा ताली बज्दा आँखाको आँशु पुछ्दै उनले भने, ‘एकछिन मौन बस्नुहोला, अब थोरैमात्र बोल्छु ।’ प्रधानमन्त्री ओलीको यस भनाइमा पनि गम्भीरता झल्कियो ।

प्रतिनिधिसभा विघटनसँगै सत्तारुढ दल नेकपा दुई खेमामा विभाजित भएपछि सभा–सम्मेलन वा प्रदर्शनमा दुवै समूहबाट प्रतिशोध र गाली बर्सिरहेको छ । यस्तो अवस्था राजनीति गतिरोध अन्त्यका लागि नेतृत्वबाट खाश धारणा आउँछ भन्ने जनताबाट अपेक्षा गर्न छोडिएको छ । कार्यकर्तापंक्तिमै नेताबाट रचनात्मक भूमिकाको सट्टा विपक्षीलाई खुइल्याउने भाषणमा कस्ता शब्द प्रयोग भए र भोली कस्ता भाषणलाई भाइरल बनाउन सकिन्छ भन्नेतर्फ ध्यान जान थालेको अवस्था छ ।

गालीगलौजमा प्रयोग भएका कतिपय शैली र शब्द समाजमा प्रयोग गर्नसमेत हिच्किचाउनुपर्ने अवस्थामा गइरहेका बेला प्रधानमन्त्री ओली सर्वसाधारणले अनुमान गरेभन्दा फरकशैलीमा प्रस्तुत भएर आश्चार्यमा पारे, जहाँ उनले विपक्षीलाई एक शब्द गालीगलौज गरेनन् । यसअघिसम्म गाली गरेरैमात्र ताली पाइन्छ भन्ने गलत अभ्यासलाई प्रधानमन्त्री ओलीले नारायणहिटी दरबारको गेटबाट चिरेका छन् । र, भन्न थालिएको छ, ‘ओली सुध्रिए, अब अरु पनि सुध्रिनुपर्छ ।’

नारायणहिटी गेटमा भएको त्यो सभालाई पछिल्लो समय ‘शालीन र भद्र सभा’का रुपमा लिइएको छ । एकै पार्टीका वा सहयोद्धाबीच नै गुटमा लागेपछि चरित्र हत्या गर्नेसम्म पुगेका दलका नेताहरुलाई प्रधानमन्त्री ओलीको पछिल्लो अभ्यासलाई सकरात्मकरुपमा टिप्पणी गर्न भइरहेको छ ।

राजनीति नीति बनाउने शास्त्र हो । तर, राजनीतिमै नैतिकता हराउँदै अराजनीति बन्दैछ । खाशमा राजनीतिक नेताले सामाजिक सञ्जालमा ‘भाइरल’ बन्ने होइन । देश र समाजका लागि अनुकरणीय काम गरेर जनताको मन जित्ने हो । र, संस्कार, सभ्यता र आचरणसमेत सिकाउने काम राजनीति दल र त्यसका नेताले गर्नुपर्छ । पछिल्लो राजनीतिमा देखिएको अराजक र अशोभनीय गालीगलौज प्रवृत्तिले गर्दा युवापुस्तामा समेत नकरात्मक प्रभाव परिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्