Logo
Logo
अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०२१

मातृभाषा लेखन : त्यहाँदेखि यहाँसम्म


गणेश वाम्बुले राई


  • गणेश वाम्बुले राई

कोलम्बसको यात्राझैं छ, मातृभाषा लेखन यात्रा । कोलम्बस एक नाभिक र अन्वेषक थिए । ठ्याक्कै मातृभाषा लेखन र प्रकाशन यात्रा त्यस्तै हो । त्यो पंचायती व्यवस्था ढलेपछि यो यात्रा सुरु भएको हो । २०४६ सालमा प्रजातन्त्र आएपछि मौका जुर्यो । त्यो यात्रा संवैधानिक व्यवस्थाले नै डोर्याएको थियो । संवैधानिक व्यवस्था यस्तो थियो–

नेपाल अधिराज्यको संविधान, २०४७ को धारा–६ राष्ट्रभाषा ‘(१) देवनागरी लिपिमा नेपाली भाषा नेपालको राष्ट्रभाषा हो । नेपाली भाषा सरकारी कामकाजको भाषा हुनेछ । (२) नेपालका विभिन्न भागमा मातृभाषाका रूपमा बोलिने सबै भाषाहरू नेपालका राष्ट्रिय भाषा हुन् ।

धारा–१३ मा छापाखाना र पत्रपत्रिका सम्बन्धी हक व्यवस्था छ । उक्त धाराको (१) कुनै समाचार, लेख वा अन्य कुनै पाठ्य–सामग्री प्रकाशित गर्न पूर्व–प्रतिबन्ध लगाइने छैन । (२) कुनै समाचार, लेख वा अन्य कुनै पाठ्य–सामग्री मुद्रण गरेबापत छापाखाना बन्द वा जफत गरिने छैन । (३) कुनै समाचार, लेख वा अन्य कुनै पाठ्य–सामग्री प्रकाशित गरे बापत कुनै समाचार पत्र वा कुनै पत्रिकाको दर्ता खारेज गरिने छैन ।’ 

एउटा कित्तामा ‘राष्ट्रभाषा’ र अर्को कित्तामा ‘राष्ट्रिय भाषा’ भर्खर पहिल्याइदै थियो । नागरिकको चाहना संविधानले सुनिश्चित गरेपछि विभिन्न मातृभाषामा पत्रपत्रिका प्रकाशनको बाढी आयो । शब्दलाई व्यवहारमा उतार्न धेरै गाह्रो कुरो हो । कहिल्यै नलेखिएका मातृभाषाहरू किरिङमिरिङ लेखिन थालिए ।

प्रकाशन पनि हुन थाले । त्यसो त मातृभाषाहरू नलेखिएकै भने होइन । नेपालभाषा समृद्ध भाषा हो । शताब्दीऔं लामा साहित्य परम्परा छ । लिम्बू भाषा पनि समृद्धिकै बाटोमा छ । लेखन कार्यमा शताब्दी ननाघेका, लेखिदै नलेखिएका भाषाहरू पनि लेखिन थाले । न व्याकरण, न पाठ्यक्रम, न निर्देशिका, न साहित्य थिए अधिकांश राष्ट्रिय भाषाको ।

लेख्ने आत्मबल बढाउने कुनै मेसो थिएन । खाली आवेशमा आएर लेख्न थालिए । केही दिन, केही महिना, केही शब्द, केही हरफ र केही पाना लेखिए । प्रकाशन भएन, साहित्यका नाममा । मातृभाषा उत्थानका नाममा । मातृभाषा लेखन यात्रा एक किसिमले क्षणभंगुर थियो ।

त्यतिबेला भाषाविद्हरू, भाषाशास्त्रीहरूको बोली फुट्न थाल्यो । प्रसिद्ध कवि बैरागी काइँलाले बोल्नु भयो– ‘भाषा भनेको हतियार जस्तै हो । हतियार जति उदायो, उति लाग्ने हुन्छ । चलाएनौं भने खिया लाग्छ । मक्किएर जान्छ । हाम्रो भाषा पनि त्यस्तै हो । जति बोल्यो र जति लेख्यो उत्तिकै बलियो हुन्छ । बोलेनौं, लेखेनौं त्यो मक्किएर जान्छ ।

संविधानमा लेखिएका प्रावधानअनुसार भाषा आयोग गठन भएको छ । तर, अहिलेसम्म मुलुकका मातृभाषाहरूले समतामूलक न्याय पाउन सकेका छैनन् । नेपालका नागरिकले बोल्ने सबै मातृभाषाहरू नेपाली भाषा नै हुन् । खस नेपालीलाई मात्र नेपाली मान्नुले विभेद जारी छ ।

हामीले मातृभाषा लेख्न थाल्यौं । प्रकाशन गर्न थाल्यौं । भाषामा पुर्खाको ज्ञानहरू लुकेर रहेका छन् । त्यसैले यो काम नयाँ पुस्ताले गर्नुपर्छ ।’ धेरै थरी मातृभाषीहरूको जमघट समारोहमा काइँला बडाको यी शब्दहरूले मानसमा जरा गाड्यो । जुरुकजुरुक भइयो । उकुसमुकुस भइयो ।

त्यसैगरी उतिखेरै डा. नोवलकिशोर राईले किरात राईहरूको भेला समारोहमा भन्नुभयो– ‘हाम्रा मातृभाषाहरूको आयु अब धेरै लामो समयसम्म जाँदैन । बढीमा सय वर्ष नत्र पचास वर्ष पनि रहने छैनन् । पुर्खाले बोल्दै ल्याएका यी भाषाहरू लिपिवद्ध गर्न कस्सिनोस् ।

लिपिमा नअल्झिनोस् । देवनागरीमै भए पनि लिपिवद्ध गर्नोस् । पुर्खाले सिकेका ज्ञानलाई उतार्नोस् । त्यसो भयो भने हाम्रो भाषाहरूको आयु बढ्छ ।’ ओहो, कुरो त यसो पो रहेछ । यी र यिनै शब्दहरूले आदिवासी जनजाति युवाको मनोबल र आत्मबल बढ्यो भन्ने लाग्छ ।

संयोग त्यतिखेर जुर्यो, भर्खर गाउँबाट आएको ठिटो परियो । नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानको माथिल्लो प्रेक्षालयमा ‘किरात भाषा कविता गोष्ठी’ भएको थियो । त्यो क्षण २०४८ साल असारको थियो ।

सभाको अग्रपंक्तिमा विराजमान सभाध्यक्ष, अतिथिहरूमध्ये एकजना जुहारी कोट, दौरासुरुवा, ढाकाटोपी पहिरिएका गमक्क परेका किराती बडाबा थिए । ती मान्छेलाई देखेर मन हर्षले ढक्क फुलिएको थियो ।

उनै पो रहेछन्, बैरागी काइँला । उनकै संयोजकत्वमा कविता गोष्ठी भएको रहेछ । त्यतिखेर मैले पहिलो पटक वाम्बुले राई मातृभाषामा नेपाली मिश्रित ‘लिब्जु भुम्जु बुक्सिपर्छ’ (लिब्जु भुम्जु उठ्नुपर्छ) शीर्षक कविता वाचन गरेको थिएँ ।

त्यसपछि सरकारले बैरागी काइँलाको संयोजकत्वमा ‘राष्ट्रिय भाषा सुझाव आयोग, २०५०’ गठन गर्यो । आयोगको सदस्यमा डा. नोवल किशोर राईलगायत हुनुहुन्थ्यो । आयोगको प्रतिवेदनमा वाम्बुले राई भाषा लगायत अल्पसंख्यकले बोल्ने भाषाहरू समेटिए । तर दुःखको कुरो सरकारले राष्ट्रभाषालाई काखमै राख्यो, राष्ट्रिय भाषाहरूलाई पाखाको पाखै पार्यो ।

राष्ट्रिय भाषामा प्रकाशित पत्रपत्रिकाको बाढी खहरे माथिको भेलझैं सुके । २०४८–२०५० सालतिर जनजातिका भाषामा प्रकाशित पत्रपत्रिका २०७७ सालसम्म कुन–कुन प्रकाशित छ ? भनेर खोज्यो भने सायद एउटै पनि नपाइन सक्छ ।

पंक्तिकार स्वयं सम्पादक रहेर २०५० सालबाट प्रकाशन आरम्भ भएको ‘लिब्जु–भुम्जु’ त्रिभाषीय त्रैमासिक (वाम्बुले राई जाति, भाषा, संस्कृति प्रधान) पत्रिका लरतरो २०७५ सालसम्म प्रकाशित भयो । त्यसपछि नाम परिवर्तन गरी ‘इक लिब्जु–भुम्जु’ त्रैमासिक (लिब्जु–भुम्जु कै निरन्तरता) २०७७ सम्म ८३ अंक प्रकाशित छ । वर्षमा ४ अंक प्रकाशित हुन्छ । यस हिसाबले २७ वर्षमा १०८ अंक प्रकाशित हुनुपथ्र्यो । तर घिस्रिदै यत्तिमात्रै प्रकाशित छ ।

यही पत्रिकाको माध्यमबाट वाम्बुले राई जाति, भाषा, साहित्य, संस्कृति, वंशावलीजस्ता ३० वटाभन्दा बढी पुस्तक, गीति एल्बम, वृत्तचित्र, चलचित्र कृति प्रकाशित छन् । २०५५ सालदेखि २०७७ सालसम्मको २२ वर्षमा वार्षिक रूपमा कविता गोष्ठी सम्पन्न भएको छ ।

गौरवमय क्षण पनि उल्लेख गर्नै पर्छ । जनआन्दोलन २०६२÷६३ को उपज नेपालको नयाँ राष्ट्रिय गान पनि हो । राष्ट्रिय गानका रचनाकार व्याकुल माइला (प्रदीपकुमार राई) वाम्बुले राई मातृभाषाका कवि हुन् । माइला वाम्बुले र नेपाली भाषाका साधक हुन् ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, नेपाल प्रज्ञा–प्रतिष्ठान लगायत निकायले हरेक वर्ष अन्तर्राष्ट्रिय मातृभाषा दिवस (२१ फेब्रुअरी)मा बहुभाषिक कविता गोष्ठी आयोजना गर्दै आएको छन् ।

ती कविता गोष्ठीहरूमा वाम्बुले राईलगायत अल्पसंख्यकले बोल्ने भाषाहरूको सहभागिता रहने गरेको छ । बेलामौकामा सम्मानित सर्वोच्च अदालतले ‘जेठ १८ लाई कालो दिन’ पनि तुल्याइ दियो । दश वर्षे जनयुद्धले आम उत्पीडित समुदायको आत्मसम्मान र शिर उँचो पारिदिएको सुनौलो पलहरूलाई कदापि बिर्सिन मिल्दैन ।

यद्यपि, राजनीतिक परिवर्तनसँगै नेपालको अन्तरिम संविधान, २०६३ र नेपालको संविधान (२०७२) जारी भइसकेका छन् । संविधानमा लेखिएका प्रावधानअनुसार भाषा आयोग गठन भएको छ । तर, अहिलेसम्म मुलुकका मातृभाषाहरूले समतामूलक न्याय पाउन सकेका छैनन् । नेपालका नागरिकले बोल्ने सबै मातृभाषाहरू नेपाली भाषा नै हुन् । खस नेपालीलाई मात्र नेपाली मान्नुले विभेद जारी छ ।

(लेखक कान्तिपुर दैनिकका वरिष्ठ उप–सम्पादक तथा इक लिब्जु–भुम्जु त्रैमासिकका सम्पादक हुन् ।)

प्रतिक्रिया दिनुहोस्