सामाजिक सञ्जालमा विकृति « Drishti News – Nepalese News Portal
Logo

सामाजिक सञ्जालमा विकृति


नवीन राई


सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएको छ । बुबाआमालाई छोराछोरीको बारेमा सोच्ने सोध्नेसमेत फुर्सद छैन । घरमा परिवारका सबै सदस्य मोबाइलमै व्यस्त हुन्छन्, एक–अर्कासँग बोल्ने फुर्सद हुँदैन । त्यसैले पनि दुरुपयोग बढेको छ ।’ सामाजिक सञ्जालमा मौलाएको अर्को विकृति हो– गालीगलौज । अहिले राष्ट्रपति, प्रधानमन्त्री, शीर्ष नेतालाई गाली गर्ने, प्रविधिको दुरुपयोग गरी अर्कैको ज्यानमा अर्कैको टाउकोमा जोडेर चरित्रहत्या गर्नेजस्ता विकृति मैलाएको छ ।

एक्काइसौं शताब्दीको आरम्भसँगै सूचना प्रविधिमा भएको विकासले मानिसको चेतनास्तरलाई माथि उठाएको छ । यो सँगसँगै सामाजिक सञ्जाल संसारभर लोकप्रिय र शक्तिशाली बन्दै गएको छ । शहर मात्र होइन, गाउँका मानिस पनि सामाजिक सञ्जाल प्रयोगमा अभ्यस्त हुँदै गएका छन् । विश्वभर सामाजिक सञ्जाल प्रयोगकर्ता तीन अर्ब बढी छन् । यो क्रम बढ्दो छ । कोरोनाका कारण समय बिताउन मात्र होइन, सूचना र मनोरञ्जनका लागि सामाजिक सञ्जाल उपयोगी बन्यो ।

सामाजिक सञ्जालको विकासक्रम त्यति लामो छैन । तर, छोटो समयमै यसले ठूलो फड्को मारेको छ । सन १९९७ मा ‘सिक्स डिग्री डट कम’ हुँदै सामाजिक सञ्जाल प्रयोग सुरु भएको हो । २५ वर्षको छोटो समयमै विश्वका ४० प्रतिशभन्दा धेरै मानिसमा सामाजिक सञ्जालले पकड जमाएको छ ।

सामाजिक सञ्जालकै कारण सर्वस्व गुमाउनेदेखि अर्बौ कमाउनेसम्म छन् । सामाजिक सञ्जाल प्रयोग गर्न जान्नेका लागि वरदान नै भन्दा फरक पर्दैन । तर, नजान्नेका लागि घातक पनि छ । धेरैका लागि सामाजिक सञ्जाल ‘बुझ्नेलाई श्रृखण्ड, नबुझ्नेलाई खुर्पाको बिँड’ भयो भन्दा फरक पर्दैन । दुरुपयोग गर्नेको त कुरै नगरौं, यसबाट दुनियाँ आक्रान्त छ ।

हामी सामाजिक सञ्जालमै मन्दिरको दर्शन गर्न थालेका छौँ । सर्प र गाडीको फोटोमा ‘गो’ कमेन्ट गरेर कुदाइदिन्छौँ ! मन्दिरको फोटोमा ‘ॐ’ लेखेर भगवानको दर्शन गर्छौ, मनोकामना पूरा गर्छौ । हामी कतिसम्म बेवकुफ बनिरहेका छौँ भन्ने यहाँबाटै प्रमाणित हुन्छ ।

सामाजिक सञ्जालको नकारात्मक पाटो भनेको दुरुपयोग हो । यसलाई सहजै दुरुपयोग गर्न सकिन्छ । अहिले हुँदै आएको पनि यही नै हो । फरक मत राखेकै आधारमा सामाजिक सञ्जालबाट चरित्र हत्या गर्ने प्रवृत्ति मौलाएको छ । विनातथ्य वा विनाआधार चरित्र हत्या गर्नेको संख्या दिनदिनै बढ्दो छ । अपराधमा संलग्न भएको आंशकमा प्रहरीले कसैलाई नियत्रणमा लिनु मात्रै पर्छ, सञ्जालमै फैसला हुन्छ ! लाग्छ– सामाजिक सञ्जाल नै न्यायालय हो ! निर्मला पन्तकोे हत्या घटना होस् या भागरथी हत्याको घटना ।

सम्बन्धित निकायले छानबिन गर्नुभन्दा छिटो अनुसान्धान गरे जसरी तीव्रगतिमा फैसलाहरु सञ्जालमा आए । आरोपीलाई अपराधी करार गर्न तँछाडमछाड चल्यो । कसले ? कसरी ? कुन आधारमा ? बलात्कार गरे भन्ने समेत सामाजिक सञ्जालमै छ्यापछ्प्ती भयो ! तर, तिनको आधार के ? सत्य के ? कसले निर्मलाको बलात्कार र हत्या गरेको हो ? अझैसम्म कतैबाट खुल्न सकेको छैन ।

सामाजिक सञ्जालको महत्व जति छ, त्यति नै दुरुपयोग पनि हुने गरेको छ । सामाजिक मूल्यमान्यता ख्यालै नगरी प्रयोग र दुरुपयोग गर्नेहरुको संख्या बढ्दा साइबार अपराध बढेको छ । नेपाल प्रहरीको अपराध अनुसन्धान शाखाअन्तर्गत ‘साइबर क्राइम ब्यूरोको तथ्याङ्क अनुसार सामाजिक सञ्जालबाट पीडित भएको भन्दै दैनिक १५ देखि २० जनाले उजुरी दिने गरेका छन् ।

हामी सामाजिक सञ्जालमै मन्दिरको दर्शन गर्न थालेका छौँ । सर्प र गाडीको फोटोमा ‘गो’ कमेन्ट गरेर कुदाइदिन्छौँ ! मन्दिरको फोटोमा ‘ॐ’ लेखेर भगवानको दर्शन गर्छौ, मनोकामना पूरा गर्छौ । हामी कतिसम्म बेवकुफ बनिरहेका छौँ भन्ने यहाँबाटै प्रमाणित हुन्छ ।

प्रहरीको अपराध अनुसन्धान विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष आर्थिक ०७५/७६ मा ९ दशमलव ५ प्रतिशतले अपराध बढेको थियो । यो तथ्याङ्क अझै बढ्ने प्रहरीमा पछिल्लो समय दर्ता हुने उजुरीले देखाउँछ । तथ्याङ्कले भन्छ– २०७० सालदेखि अहिलेसम्म झण्डै ८० प्रतिशत प्रविधिजन्य अपराध भएको छ । यस्ता अपराधमा नाबालक पनि संलग्न हुने डिआईजी उत्तमराज सुवेदीको ठहर छ । उनी भन्छन्– ‘सामाजिक सञ्जालले मान्छेलाई बिगारेको छ । युवा वर्ग यसको लतमा फसेका छन्, त्यो पनि गलत प्रयोगमा ।’

अहिले सामाजिक सञ्जलाको दुरुपयोग शहरदेखि गाउँसम्म हुने गरेको डिआइजी सुवेदी बताउँछन् । उनी भन्छन्– ‘सहर र गाउँमा फरक परिस्थिति छ, तर समस्या एउटै हो । सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएको छ । बुबाआमालाई छोराछोरीको बारेमा सोच्ने सोध्नेसमेत फुर्सद छैन । घरमा परिवारका सबै सदस्य मोबाइलमै व्यस्त हुन्छन्, एक–अर्कासँग बोल्ने फुर्सद हुँदैन । त्यसैले पनि दुरुपयोग बढेको छ ।’
सामाजिक सञ्जालमा मौलाएको अर्को विकृति हो– गालीगलौज । अहिले राष्ट्रपति, प्रधानमन्त्री, शीर्ष नेतालाई गाली गर्ने, प्रविधिको दुरुपयोग गरी अर्कैको ज्यानमा अर्कैको टाउकोमा जोडेर चरित्रहत्या गर्नेजस्ता विकृति मैलाएको छ ।

सामाजिक सञ्जालको गलत र अमर्यादित प्रयोगको सूची लामो हुन्छ । स्मार्ट फोन र इन्टरनेटले नैतिकता र संवेदना चाहिँ दिनदिनै पतित हुँदै गएको छ । यस्ता कार्यमा सामान्य नागरिकदेखि वौद्धिक व्यक्ति समेत सामेल हुने गरेका छन् । गलत प्रयोगको फाइदा उठाउँदै सरकार बेला–बेला सामाजिक सञ्जाल नियमनको नाममा अभिव्यक्ति स्वतन्त्रता नै खोस्ने अभिप्रायले नियम कानून बनाउने कोसिस गर्छ । सरकारले पछिल्लो समय ‘सामाजिक सञ्जाल नियमन निर्देशिका’ ल्याउने प्रयत्न गरेको छ । यो सामाजिक सञ्जाल गलत प्रयोगको उपज हो ।

संघीय संसदमा दर्ता भएको ‘सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ मा सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्तिले सूचना प्रविधि विभागमा दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ । तर, उक्त विधेयकमाथि छलफल भने भएको छैन । यदि उक्त विधेयक पारित भएर कानून बने फेसबुक, म्यासेन्जर, ह्वाटएप, ट्वीटर, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालसमेत नेपालमा दर्ता गर्नुपर्नेछ । जथाभाबी सामाजिक सञ्जालमा लेखेमा विधेयकअनुसार कसूरदारलाई कसूरको मात्रा हेरी १५ लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ । उक्त विधेयक पास भए सामाजिक सञ्जालको नियमन हुने छ । तर, अभिव्यक्ति स्वतन्त्रतामा पूर्ण रुपमा बन्देज हुनेछ ।

हरेक विषयको फाइदा र हानी दुबै हुन्छ । सामाजिक सञ्जाल अपवाद होइन । सामाजिक सञ्जालले संसारको जुनसुकै कुनामा भएका व्यक्तिसँग जोडिदिन सक्छ । त्यति मात्र होइन सूचना तथा सञ्चार प्रवाहमा सामाजिक सञ्जाल दुनियाँमा सबैभन्दा छिटो र सहज माध्यम हो ।
सामाजिक सञ्जालको महत्व अरु पनि छन् । परिवर्तित समयसँगै मानवीय जीवनमा सूचना, समाचार, मनोरञ्जनदेखि अन्य अतिरिक्त क्रियाकलापका लागि पनि सामाजिक सञ्जाल उपयोगी माध्यम हो । त्यसैले सामाजिक सञ्जाल दुरुपयोग होइन सदुपयोग आवश्यक छ ।

सामाजिक सञ्जाल वास्तवमा उत्कृष्ट आविष्कार हो । तर हामी यी आविष्कारका दास बन्दैछौं, यसको दुरुपयोग गर्दैछौ, जुन विल्कुल गलत हो । सामाजिक सञ्जालको मर्यादित प्रयोगको अर्को आयाम यी सञ्जालमा गरिने पोष्ट, शेयर वा टिप्पणीप्रति जिम्मेवारीबोध गर्ने हो । सामाजिक सञ्जालमा कसैले केही विचार वा विषय राख्छ भने उ त्यसप्रति पूर्ण जिम्मेवार र जवाफदेही हुनैपर्छ ।

सामाजिक सञ्जाल आफैँमा नराम्रो होइन, तर हामीले यसको गलत प्रयोग गरिरहेका छौँ । हामीले आफ्नो प्रचारप्रसार गर्न वा अफवाह फैलाउन प्रयोग गर्नुभन्दा पनि केही राम्रा कामका लागि प्रयोग गरे फाइदाजनक हुनेछ ।

प्रतिक्रिया दिनुहोस्