Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : माधवकुमार नेपाल पक्षको छुट्टै गुटगत छलफलदेखि सुदूरपश्चिम प्रदेशमा एमाले कार्यकर्ताबीच झडपसम्म


दृष्टि संवाददाता


हेडलाइन्स् :

१. नेकपा एमाले फर्किएका माधवकुमार नेपाल पक्षले वानेश्वरमा गर्‍यो छुट्टै गुटगत भेला, नेपाल पक्षका केन्द्रीय सदस्यको उपस्थिति, देशभर ओली पक्षले पार्टी कब्जा गरेको नेपाल पक्षको आरोप, छिटो केन्द्रीय कमिटी बैठक बोलाउन माग, एमाले ब्युँतिएको चार दिन भइसक्दा पनि अध्यक्ष ओलीले संवाद नगरेको विषयमा पनि नेताहरुको आपत्ति ।

२. भावी गठबन्धनका लागि निर्णायक भूमिकामा रहेको जनता समाजवादी पार्टी (जसपा)ले खोज्यो माग सम्बोधनको सुनिश्चितता, विगतमा पटक–पटक धोका भएको निष्कर्षसहित जसपाले यसपाली ’नगदमै’ माग सम्बोधनलाई वार्तामा सर्त, रेशम चौधरीलगायतका मुद्दा फिर्ता गर्नुपर्ने जसपाको मागमा सरकार सकारात्मक रहेको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङको दावी ।

३. नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा जनता समाजवादी पार्टी (जसपा)सँग छलफल, संसद विघटनविरुद्ध आन्दोलनमा आएका शक्तिहरु मिलेर सरकार बनाउनुपर्नेमा प्रचण्डद्वारा जसपाका नेतालाई आग्रह, जसले मुद्दा सम्बोधन गर्छ उसैलाई समर्थन गर्ने जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको जवाफ ।

४. कैलालीमा ओली र नेपाल समूहबीच झडप, प्रदेश पार्टी कार्यालयमा प्रदेश इन्चार्जको नेम प्लेट राख्ने विषयमा विवाद हुँदा केपी शर्मा ओली र माधवकुमार नेपाल समूहका कार्यकर्ता बीच कुटाकुट, सुदूरपश्चिम प्रदेशका संयोजक भीम रावलद्वारा तोडफोडको निन्दा, कारवाही नगरे सरकार चलाउनेबाटै संरक्षित रहेको पुष्टि हुने रावलको चेतावनी ।

५. यस वर्षको महाशिवरात्रि भोलि, कोरोना भाइरसको महामारीका कारण पशुपतिनाथ मन्दिरमा रौनक कम, सजावटमा पनि पशुपति क्षेत्र विकास कोषले देखाएन मिहिनेत, पाँच हजार साधु सन्त आउने गरेकोमा यो वर्ष दुई हजारमा मात्रै आएको कोषद्वारा जानकारी, बिहीबार बिहान तीन बजेदेखि नै मन्दिर दर्शन गर्न पाउने ।

६. नेपालमा कुनै प्रकारको अशान्त नभएको प्रधानमन्त्री केपी शर्मा ओलीको दावी, संकिर्ण स्वार्थका लागि समय समयमा नेपाली सेनालाई अनावश्यक ढंगले विवादमा तान्ने गरिएकोमा प्रधानमन्त्री ओलीको असन्तुष्टी, सेनालाई विवादमा तान्नका लागि हुने गरेका प्रयासहरूप्रति सजग र सर्तक रहन आग्रह ।

७. प्रदेश २ का प्रदेश प्रमुख राजेश झा ‘अहिराज’ले प्रमाणीकरणका लागि लगिएका दुई विधेयक फिर्ता पठाए, प्रमाणीकरणका लागि पठाइएका स्वास्थ्य सम्बन्धी व्यवस्थापन गर्न बनेको विधेयक र प्रदेश पदक सम्बन्धी विधयक लिखित रायसहित प्रदेशसभामा फिर्ता पठाएको प्रदेश सभा सचिवालयद्वारा जानकारी, प्रदेश प्रमुखले आफ्नो सुझाव दिन सक्ने तर सुझाव समेट्नै पर्छ भन्ने नभएको सभामुखको तर्क ।

८. हप्तैभरी घटेर बन्द भयो शेयर बजार, कारोबार रकम चार अर्बमा सिमित, सेन्सेटिभ भने हरियो, ज्योति लाइफ इन्स्योरेन्सको आईपीओमा नयाँ रेकर्ड, १८ लाख बढीले दिए आवेदन, रिलायन्स स्पिनिङ्ग मिल्सले बुक बिल्डिङ्गबाट साढे १४ लाख आइपीओ बिक्री गर्ने, आइपीओ जारी गर्न फागुनमा मात्रै थप तीन कम्पनीको निवेदन, साढे चार करोड कित्ता पाइपलाइनमा ।

९. पुल्चोक स्पोर्ट्स क्लब सहिद स्मारक ‘सी’ डिभिजन लिगमा घटुवा, एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी ‘बी’ डिभिजन लिगको अन्तिम खेलमा नयाँबस्ती युथ क्लबसँग दुईका विरुद्ध एक गोल अन्तरले पराजित भएपछि पुल्चोक ‘सी’ डिभिजनमा घटुवा, विभागीय टिम नेपाल पुलिस काठमाडौं मेयर्स कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा, काठमाडौं मेयर–११ एक सय ३ रनले पराजित ।

१०.र, दक्षिण कोरियाद्वारा अमेरिकी सेनालाई दिने रकममा १३ प्रतिशतको वृद्धि, भारतसहित चार देशका राष्ट्रप्रमुखसँग बाइडेनको बैठक, इन्डो प्यासेफिक रणनीति चर्चामा, बेलायतमा थुनामा रहेका भारतीय अरबपति नीरभ मोदीलाई भारत सुपुर्दगी गर्न सकिने ।

प्रतिक्रिया दिनुहोस्