Logo
Logo

तस्कर र गुण्डाबाट लाभ लिदैं कांग्रेस सभापति देउवा


दृष्टि संवाददाता


काठमाडौं । सत्तारुढ पार्टी भ्रष्टाचारमा डुबेको छ । प्रमुख प्रतिपक्षी दल पनि सत्तारुढभन्दा फरक छैन भन्ने कुरा केही दिनअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भाषणबाट प्रष्ट हुन्छ ।

बम बिष्फोटका घाइतेलाई जिउँदै इटाट्टामा हालेर जलाउने जस्तो जघन्य अपराधमा मुछिएका आफ्ना नेतालाई जोगाउन आफु नै सक्रिय रहेको देउवाले सार्वजनिक रुपमै बताएपछि नेपाली कांग्रेसको चरित्र थप प्रष्ट भएको हो ।

रौतहटको गढीमाई नगरपालिका धरमपुरको महायज्ञमा गत साता बोल्दै देउवाले ‘फरहदवा बमकाण्ड’का दोषी मोहम्मद आफताव आलमलाई छुटाउन आफू लागिरहेको आफैले खुलासा गरे । देउवाको यो भाषणले पीडित मात्र होइन रौतहटका अन्य सर्वसाधारणसमेत त्रसित बनेका छन् ।
हाल नख्खु कारागारमा रहेका आलमले घटनाका पीडित तथा साक्षीलाई धम्काउने तथा प्रलोभन दिने काम गरिरहेका छन् ।

के थियो घटना ?
२०६४ सालको निर्वाचनाको अघिल्लो दिन थियो । चुनावमा बुथ कब्जा गर्न आलमले मतदान केन्द्र आसपास बम बिष्फोट गराउने योजना बनाए । त्यसका लागि केही प्रहरीसँग सेटिङ पनि मिलाए ।

बम बनाउने व्यक्ति भारतबाट ल्याइएको थियो । घर नजिकै रहेको गोठमा बम बनाउने काम भइरहेको थियो । आलमका केही कार्यकर्ता समेत त्यहाँ जम्मा भएका थिए । त्यही क्रममा एक भारतीयले चुरोट सल्काउँदा बम बिष्फोट भयो । १०/१२ जना गम्भीर घाइते भए ।
प्रहरीलाई खबर गरे आफु फस्ने डरले उनीहरुलाई ट्याक्टरमा राखेर राती इटाभट्टामा लगेर जलाइएको थियो । केही घाइतेको भने भारतमा लगेर उपचार गरिएको थियो ।

कांग्रेसका धेरै नेता तस्करी र गुण्डागर्दी पृष्ठभूमिका छन् । यस्ता अधिकांश नेता देउवाका विश्वासपात्र हुन् । उनीहरुबाट कालोधन संकलन गरेर देउवाले आफूलाई पार्टीमा शक्तिशाली बनाउने कांग्रेस नेताहरु नै आरोप लगाउँछन् ।

यो घटनामा केही महिनापछि आलम पक्राउ परेपनि सरकारी वकिलसँग सेटिङ मिलाएर मुद्दा नचलाउने निर्णय भएको थियो । पछि सर्वाेच्चले मुद्दा चलाउनुपर्ने फैसला गरेपछि प्रहरीले फेरि अनुसन्धान थालेको थियो ।

गत वर्ष प्रदेश नम्बर २ का डिआइजी प्रद्युम्न कार्की र रौतहटका एसपी भूपेन्द्र खत्रीले आलमलाई पक्राउ गरी बलियो प्रमाणसहित अदालतमा पेश गरेपछि जेल चलान भएका थिए । अहिले तिनै आलमलाई जोगाउन देउवा लागेका हुन् ।

के-के मात्र गरेनन् आलमले ?
सामूहिक हत्या मुद्दामा जेलमा रहेका निलम्बित सांसद मोहम्मद अफताब आलमले जाहेरवाला तथा साक्षीलाई त धम्की र प्रलोभन दिए नै, प्रहरी, सरकारी वकिल र न्यायधीशले समेत विभिन्न माध्यमबाट त्रासमा पार्ने काम समेत गरेका थिए ।

आलमको मुद्दामा थुनछेक आदेश दिएका जिल्ला अदालत रौतटहका न्यायधीश दीपक ढकाल र उनलाई मुद्दा दायर गर्ने जिल्ला न्यायधिवक्ता फणिन्द्रराज कटवालले असुरक्षित महशुस गरेका थिए ।

जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख रहेका न्यायधिवक्ता कटुवालमाथि सुरुदेखि नै मुद्दा नचलाउन दबाब थियो । त्यस्तै न्यायधीश ढकालमाथि समेत विभिन्न निकायबाट मुद्धा छाड्न भन्दै प्रभाव पार्ने प्रयास भएको थियो ।

पक्राउ परेपछि छुट्नका लागि आलमले अनेक हत्कण्डा प्रयोग गरे । पक्राउ गर्न गएको प्रहरी टोलीलाई नै उनले धम्काएका थिए । पक्राउ पूर्जीसमेत उनले लिन मानेनन् ।

प्रहरीले प्रशस्त प्रमाण संकलन गरिसकेको थाहा पाएपछि ठूला वकिलहरु राखे । सामान्यतया एक जना मात्र पक्राउ अभियुक्त भएको मुद्दामा मुद्दा दायर भएपछि १–२ दिनमै थुनछेक आदेश हुन्छ ।

आलमको मुद्दामा १२ दिन लाग्यो । घटनाका पीडित र साक्षीलाई त्रास र आशमा पारेर बयान फेर्नका लागि उनले धेरै वकिल राखेर थुनछेक बहस लम्बाएका थिए ।

बिष्फोटमा घाइते भएका गौरीशकर रामलाई उनले अपहरण गरेर बयान फेर्न लगाएको खुलेको थियो । अदालतमा उनले स्टोफ पड्किएर मृत्यु भएको भन्दै निवेदन दिएका थिए । अपहरण गरेर उनलाई त्यसरी बयान फेर्न दबाब दिइएको उनले बताएका हुन् ।

त्यस्तै मृतक ओसी अख्तरकी श्रीमती अमना खातुनले समेत आफ्ना श्रीमान वैदेशिक रोजगारमा गएकोमा हराएको भनेर अदालतमा निवेदन दिएकी हुन् । तर, अख्तरले पासपोर्ट बनाएको विवरण समेत आलम पक्षले दिन सकेको छैन ।

जबकि, ओसीको मृत्युदर्ताको प्रमाणपत्र समेत प्रशासन दिइसकेको छ । पाँच लाख रुपैयाँ नगद र पाँच कठ्ठा जग्गा दिने प्रलोभनमा पारेर यसरी जाहेरकर्तालाई आलमले प्रभावित बनाउने प्रयास गरेका हुन् । अदालतले सो निवेदन स्वीकार गरेको छैन ।

यस्ता छन् आलमविरुद्धका प्रमाण
मृतकहरुको शव अझै भेटिएको छैन । तर बिष्फोट भएको दिनदेखि उनीहरुको भौतिक अस्तित्व नदेखिएकाले बिष्फोटमा त्रिलोक प्रताप सिंह र ओसी अख्तर मिया घाइते भएकोमा ईटा भट्टामा हालेर उनीहरुको हत्या गरेको पीडितहरुले बताएका छन् ।

घाइते भएका गौरीशंकर राम र सफि अहमदले जाहेरी दिएका थिए । उनीहरुको शरिरको खत र शारिरीक परीक्षण रिपोर्टलाई अदालतले अर्काे बलियो प्रमाणको रुपमा मानेको छ । त्यस्तै मृत्यु दर्ता प्रमाणपत्रलाई अर्काे बलियो प्रमाण मानिएको छ ।

पिन्टुकी आमा कमलादेवी सिंहले छोराको ईटाभट्टाहा हालेर हत्या गरेको कागज गरिदिएकी थिइन् । आदेशमा भनिएको छ, ‘मृत्यु नभएको भए पनि कसैलाई दोष लगाउनका लागि मात्रै नमरेको व्यक्तिलाई मरेको भनी मृत्यु दर्ता प्रमाणपत्र बनाएको होला भनी अनुमान गर्ने कुरा भएन ।’ त्यस्तै विभिन्न साक्षीहरुले गरेको कागज छ । त्यतीबेला ईटा भट्टामा काम गर्ने कामदारहरुले नै घाइतेहरुलाई जलाएको हो भनेर कागज गरिदिएका छन् ।

भ्रष्टाचार मुद्दामा गुरुङदेखि गच्छेदारसम्म
आलम मात्र होइन भ्रष्टाचार मुद्दा झेलेका पार्टीका अन्य नेताहरुपनि देउवाका प्यारा छन् । बालुवाटार जग्गा हिनामिनामा मुछिएका विजयकुमार गच्छेदारलाई सामान्य धरौटीमा छाड्न देउवाले नै पहल गरिरहेको स्रोत बताउँछ ।

गच्छेदारविरुद्ध नौ करोडभन्दा धेरै बिगोको मुद्दा छ । मुद्दा दायर भएको १३ महिना हुँदा पनि उनी अदालत उपस्थित भएका छैनन् । सेटिङ मिलाएर मात्र अदालतमा आफु उपस्थित हुने गच्छेदारले आफ्ना कार्यकर्तालाई बताएका छन् । भ्रष्टाचार मुद्दा दायर भएपछि गच्छेदारको संसद पद निलम्बनमा परेको छ तर पार्टीले भने उनलाई कुनै कारबाही गरेको छैन ।

त्यस्तै भ्रष्टाचार मुद्दा झेलिरहेका कांग्रेसका अर्का नेता टेकबहादुर गुरुङ हुन् । भृकुटीमण्डपको ६० रोपनी जग्गा भाडामा लिदा अनियमितता गरेको भन्दै दुई वर्षअघि उनीविरुद्ध मुद्दा दायर भएको थियो । उनीमाथि ३१ करोड अनियमितताको आरोप छ ।

जसमा पूर्वमन्त्री बद्री न्यौपाने, समाजकल्याण परिषदका तत्कालीन उपाध्यक्ष प्रमोद मेहता, सदस्य सचिव रविन्द्रकुमार, कोषाध्यक्ष कुञ्जबिहारीप्रसाद चौधरी, तत्कालीन सदस्यत्रय हरि न्यौपाने, मोहनराज शर्मा र मदनकुमार लाल कर्णविरुद्ध समेत मुद्दा दायर भएको थियो ।

टेकबहादुर गुरुङ सुशील कोइराला सरकारमा श्रम मन्त्री थिए । उनले फनपार्कको जग्गा विनाटेण्डर भाडामा लिएका थिए । उनी श्रम राज्यमन्त्री हुँदा पनि ठूला भ्रष्टाचारकाण्डमा मुछिएका थिए । भ्रष्टाचार मुद्दा दायर भएको दुई वर्षसम्म पनि उनले समाज कल्याण परिषद्को सो जग्गामा अझै व्यापार गरिरहेका छन् ।

कांग्रेसमा तस्करी तथा गुण्डागर्दीको पृष्ठभुमी भएका धेरै नेताहरु देउवाको विश्वासपात्र छन् । उनीहरुबाट संकलन गरेको कालोधनबाट देउवाले आफुलाई पार्टीमा शक्तिशाली बनाएको एक कांग्रेस नेता बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्