Logo
Logo

म्यानमारलाई समेत सहभागी गराउँदै विमस्टेकको पाँचौ शिखर सम्मेलनको तयारी


दृष्टि संवाददाता


काठमाडौं । वहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (विमस्टेक) को पाँचौं शिखर सम्मेलनको तयारी सुरु भएको छ । अध्यक्ष राष्ट्रको हैसियतले श्रीलंकाले शिखर सम्मेलनको तयारीमा जुटेको विज्ञप्ती मार्फत जानकारी दिएको छ ।

त्यहाँको विदेशमन्त्रालयले जारी गरेको विज्ञप्तीमा १ अप्रिलमा १७ औं परराष्ट्रमन्त्रीस्तरीय भर्चुअल बैठक बस्ने उल्लेख गरिएको छ । सो बैठकमा अध्यक्ष राष्ट्र श्रीलंका सहित सदस्य राष्ट्रहरु नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार र थाइल्याण्डका विदेशमन्त्री सहभागी हुनेछन् ।

म्यानमारमा सैनिक ‘कू’ भएपछि विमस्टेकमा त्यहाँका प्रतिनिधि बोलाउन नहुनेभन्दै समाजिक सञ्जालमा अभियान छेडिएको छ । तर, श्रीलंकाले विमस्टेकका सबै सदस्य राष्ट्रहरुको सहभागीता हुने निश्चित गरेको छ ।

त्यस मन्त्रीस्तरीय बैठकले शिखरसम्मेलनको मिति टुंग्याउने छ । यस पटकको मुख्य प्राथमिकता विमस्टेक स्वतन्त्र व्यापार सम्झौता नै हुने छ । सो सम्झौतालाई अन्तिम रुप दिनका लागि केही वर्षयता निरन्तर छलफल भए पनि टुंगोमा पुग्न सकेको छैन ।

त्यसैगरी सदस्य मुलुकहरुको विचमा ऊर्जा सहकार्यका लागि विमस्टेक ग्रिड कनेक्सनको विषयमा समेत छलफल भइरहेको छ तर टुंगोमा पुगेको छैन । विमस्टेकले आफ्ना १४ वटा प्राथमिकताहरु निर्धारण गरेको छ तर त्यसमा खासै प्रगति भएको छैन । विमस्टेकको शिखर सम्मेलन गत वर्ष नै हुनुपर्ने थियो तर, कोरोना महामारीका कारण स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्