Logo
Logo

ताजा जनादेशका लागि तयार रहन उपप्रधानमन्त्री पोखरेलको आग्रह


दृष्टि संवाददाता


पर्सा । उपप्रधानमन्त्री ईश्वर पोखरेलले विद्यमान राजनीतिक अवस्थको अन्त्य र संसद्मा देखिएका बेथितिको एकमात्र विकल्प निर्वाचन नै भएको बताएका छन् ।
उनले भने, ‘निर्वाचनका लागि तयार हुन म आममतदाता समक्ष आग्रह गर्दछु ।’ प्रेस सेन्टर पर्साद्वारा बिहीबार वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रतिनिधिसभामा दलहरुबीच समन्वय भई प्रक्रिया सामान्य ढङ्गले अगाडि नबढे ताजा जनादेशमै जानुपर्ने बताए ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता पोखरेलले सर्वोच्च आदालतको फैसलाबाट उत्पन्न भएको वर्तमान राजनीतिक अवस्थाको सामना गर्दै एमाले र माओवादी केन्द्रका जिल्लादेखि केन्द्रसम्ममा नयाँ ढङ्गले पुनःएकता हुने धारणा व्यक्त गरे ।
उनले दलको नामबारे अदालतले दिएको फैसलाले दुवै पार्टीलाई २०७५ साल जेठ २ गतेको अवस्थामा पु¥याए पनि पार्टीबीचको एकता र पार्टीका नेताकार्यकर्तालाई सम्मानजनक ढङ्गले व्यवस्थापन गर्ने सोचका साथ एमाले अगाडि बढेको जानकारी दिए ।
उनले बारा र पर्सामा सडक निर्माण तथा पूर्वाधार विकासका काममा देखिएको बेथितिको चाँडै अन्त्य हुने विश्वास व्यक्त गरे । उनले ठेक्का सकार गर्ने र लामो समयसम्म काम नगरी सर्वसाधारणलाई दुःख दिने प्रवृत्तिको अन्त्यका लागि प्रधानमन्त्री ओलीसँग भेटी आग्रह गरिनेपनि जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्