फास्ट ट्रयाकको ठेक्कामा व्यापक अनियमितता, लेखा समितिले थाल्यो छानबिन « Drishti News – Nepalese News Portal
Logo

फास्ट ट्रयाकको ठेक्कामा व्यापक अनियमितता, लेखा समितिले थाल्यो छानबिन


दृष्टि संवाददाता


काठमाडौं । आफूलाई बालुवाटारलगायतका शक्तिकेन्द्र निकट देखाएर केही वर्षयता नेपाली सेनाको ठूला ठेक्कापट्टामा हालीमुहाली गर्दै आएका कमिशन एजेन्ट लोकेन्द्र कार्कीलाई फाष्ट ट्रयाकको ठेक्कामा अनुभव नभएको कम्पनीलाई सुरुङ र पुल बनाउने काम सुम्पन लागेपछि नेपाली सेनालाई भ्रष्टाचारमुक्त गर्छु भनेर तल्ला दर्जाका पदाधिकारीलाई कारबाही गर्दै आएका प्रधानसेनापति पूर्णचन्द्र थापा विवादमा परेका छन् ।

नेपाली सेनाले १६ फेब्रुअरीमा फाष्ट ट्रयाकको जटिल खण्डमा पर्ने सुरुङ र पुलहरु निर्माणको लागि वित्तीय प्रस्ताव माग गरेको छ । दोहोरो दुई लेनमा सवारी चल्ने सुरुङ, पुलहरु र त्यसबीचमा पर्ने ‘एक्सप्रेस वे’ सडकको डिजाइन, सामान खरिद र निर्माण सबै ठेकेदार कम्पनी आफैले गर्नुपर्ने (इपीसी) मोडेलको यो ठेक्कामा पूर्व योग्यता सूचीमा परेका कम्पनीहरुले मात्र भाग लिन पाउने गरी वित्तीय प्रस्ताव पेश गर्न सूचना जारी गरेको छ ।

नेपाली सेनाले २५ डिसेम्बरमा काठमाडौं तराई मधेश फाष्ट ट्रयाक एक्सप्रेस वे सडकको योजना तर्जुमा, रेखाङ्कन, डिजाइन, संरचना निर्माण र सञ्चालन गर्ने कार्य ‘इपीसी मोडेल’मा गर्न योग्य भएका कम्पनीहरुको सूची सार्वजनिक गरेको थियो ।

१३ मार्च सन् २०२० मा आह्वान गरिएको प्रस्तावमा निवेदन दिनेमध्ये छोक्रेडाँडा धेध्रेखोला खण्डको ४ किलोमिटर ३ सय ४५ मिटर खण्ड निर्माणको लागि ‘चाइना स्टेट कन्स्ट्रक्शन इञ्जिनियरिङ कर्पोरेशन लिमिटेड’ र ‘पोलि च्याङदा इञ्जिीनियरिङ कम्पनी लिमिटेड चाइना’ योग्य भएको पूर्वयोग्यता सूची प्रकाशित गरेको थियो । त्यस्तै धेध्रेखोलादेखि लेहेडाँडासम्मको ४ किलो मिटर ६ सय २१ मिटर खण्ड निर्माणको लागि ‘पोलि च्याङदा इञ्जिनियरिङ कम्पनी लिमिटेड चाइना’लाई मात्रै योग्य मानिएको सूची सार्वजनिक गरेको थियो ।

ढाँटेको कुरा काटे मिलेन
यो फास्ट ट्रयाकको मुख्य र जटिल मानिएको सुरुङ निर्माणमा भएको बदमासी सेनाको सूचनाले नै छताछुल्ल पारेको छ । नेपाली सेनाले १३ मार्च सन् २०२० मा प्रकाशित गरेको सूचनामा दुवै प्याकेजका लागि चाहिने योग्यता, अनुभव र क्षमता एकै खालको भए पनि एकै प्याकेजमा दिदा निर्माण कार्य ढिलो हुने भएकोले दुई प्याकेज गरेको देखिन्छ ।

तर उस्तै प्रकृतिको कामको लागि उही योग्यता र अनुभवको प्रमाणपत्र पेश गरेको कम्पनी पहिलो प्याकेजमा कसरी पास भयो र दोस्रोमा कसरी फेल भयो ? यसको जवाफ माथिको आदेश पालना गर्ने नेपाली सेनाले अहिले नदिए पनि पुनःस्थापित संसदको सार्वजनिक लेखा समितिले छानबिन थालेको छ ।

पोली च्याङदाको नाम खोई ?
नेपाली सेनाले सार्वजनिक गरेको पूर्वयोग्यता सूचीमा एक्सप्रेस वे, हाइराइजपुल र सुरुङ निर्माणमा कुनै अनुभव नै नभएको पोली च्याङदा कम्पनी कसरी छानियो भन्ने ठूलो प्रश्न उठेको छ ।

इञ्जिनियरिङ न्यूज रेकर्डिङले सार्वजनिक गरेको विश्वका २ सय ५० ठुला र सक्षम निर्माण कम्पनीहरुको सूचीमा पोलिच्याङदा कम्पनी परेको छैन । सो सूचीमा पहिलो प्याकेजमा सूचीकृत भएको चाइना स्टेट कम्स्ट्रक्सन इञ्जिनियरिङ कपोरेशन लिमिटेड नवौं नम्वरमा देखिन्छ भने, तेस्रो नम्बरमा रहेको चाइना कम्युनिकेशन कन्स्ट्रक्शन कम्पनी लिमिटेड, १४ औं नम्बरमा रहेका चाइना रेल्वे ब्यूरो ग्रुप कर्पोरेशन र सीसीआरसी १४–सीसीइसीसी–एफएसडीआई जेभी, ५४ नम्बरको सीआईटीआईसी कन्स्ट्रक्शन, हुनान रोड एण्ड ब्रिज कम्पनी र २४६ नम्बरको सिचुआन रोड एण्ड ब्रिज कम्पनी परेका छन् ।

प्याकेज १ मा यी बाहेक जेडसीसीसी–साङदोङ–लिक्यिो जेभी, सीजीजीसी, गुलरमाक–माक्योल जेभी, हंगकंग रिभर इञ्जिनियरिङ, चाइना फस्र्ट मेटलर्जिकल ग्रुप, मेटलर्जिकल कर्पोरेशन अफ चाइना, कोभेक–सिआरइजीसी जेभी, युनान कन्स्ट्रक्शन एण्ड इन्भेष्टमेण्ट होल्डिङ, एसपीपी जेभी, जियाङसु केडा कन्स्ट्रक्शन जेभी डिओका ग्रुप जेएससी जेभी फेकोन कर्पोरेशन, लिमिटेड लियाविलिटी कम्पनी टेक्नोप्रो एक्सपोर्ट जीएसडीसी–जेटीइसी जेभीले प्रस्ताव राखेका थिए ।

बालुवाटारको आडमा नेपाली सेनाभित्र छिरेका एजेन्ट लोकेन्द्र कार्कीले काठमाडौं–तराई फाष्ट ट्रयाकमा कोरियन कम्पनीलाई परामर्शदातामा छिराएका छन् । परामर्शदाता कम्पनीको आडमा अनुभवहीन पोली च्याङदा कम्पनीलाई एकलौटी पुरस्कृत गरिएको चर्चा नेपाली सेनामा व्याप्त छ ।

यता सुरुङ, उचाइको पुल र एक्सप्रेस वे निर्माणमा कुनै अनुभव नै नभएको पोली च्याङदा कम्पनी मात्र पास गरिएको प्याकेज २ मा पनि विश्वको नवौं नम्वरमा रहेको चाइना स्टेट कन्स्ट्रक्शन इञ्जिनियरिङ कम्पनी, १४ औं नम्वरका चाइना रेल्वे २० ब्यूरो ग्रुप र सीसीआरसी १४ सीसीइसीसी एफएसडीआई जेभी, ५४ नम्बरको सीआईटीआईसी कन्स्ट्रक्शन कम्पनी लि, २२० स्थानमा पर्ने साङदोन ग्रुप कम्पनी लि, २३२ नम्बरको हुनान रोड एण्ड ब्रिज कन्स्ट्रक्शन ग्रुप कम्पनी लिमिटेडले सहभागिता जनाएको पाएको छ ।

सो प्याकेज निर्माण गर्न चाइना गेजुवा कम्पनी ग्रुप लिमिटेड, चाइना कन्स्ट्रक्शन एट इञ्जिनियरिङ डिभिजना कम्पनी लि, चाइना फस्र्ट हाइवे इञ्जिनियरिङ, गुलरमाक माकयोल जेभी, हंगकंग रिभर इञ्जिनियरिङ कम्पनी, चाइना फस्र्ट मेटलर्जिकल ग्रुप कम्पनी, कोभेक सीआरइसी जेभी, एसपीपी जेभी, मेटलर्जिकल कर्पोरेशन अफ चाइना लि, सीसीसीसीसी फोर्थ हार्वर सीसीसीसी फस्र्ट हाइवे जेभी, डिओका ग्रुप जेएससी जेभी फेकन कर्पोरेसन, लिमिटेड लियाविलिटी कम्पनी इञ्जिनियरिङ कम्पनी टेक्नोप्रोएक्सपोर्ट, जीएसडीसी जेटिइसी जेभी र युनान कन्स्ट्रक्शन एण्ड इन्भेष्टमेण्ट होल्डिङ ग्रुप कम्पनी लिमिटेडले प्रस्ताव हालेका थिए ।

न्यूनतम योग्यता
आयोजनाले माग गरेको योग्यतामा तीनवर्षको लेखापरीक्षण प्रतिवेदनमा वित्तीय अवस्था राम्रो देखिएको वा कम्तीमा गत वर्षसम्म कम्पनीको सम्पत्ति र दायित्वको अन्तर सकारात्मक भएको र विगत ५ वर्षमा कम्पनीको न्यूनतम निर्माण कारोबार औसत ८१ मिलियन डलर भएको, प्रस्ताव पेश गर्ने अन्तिम मितिपूर्व यस्ता संरचना निर्माणमा ठेकेदार, उपठेकेदार वा व्यवस्थापन करार ठेकेदारको रुपमा काम गरेको अनुभव मागेको छ ।

प्याकेज १ मा २९५ मिलियन र प्याकेज २ मा २३० मिलियन डलरभन्दाबढी बोलपत्र दिने क्षमता भएको कम्पनी हुनुपर्ने उल्लेख गरिएको थियो भने, अनुभवमा यसमा सहभागी हुने कम्पनीले विगत १० वर्षमा इपीसीमा डिजाइन निर्माण वा डिजाइन र निर्माण मोडेलमा प्याकेज १ मा १५० मिलियन र प्याकेज २ मा १८० मिलियन डलरसम्मको दोहोरो दुई लेनका स्तरीय हाइवे टनलको डिजाइन, इञ्जिनियरिङ र निर्माणको काम गरेको हुनुपर्ने थियो । आवेदकले यस्ता आयोजना निर्माण गरेको संझौता पत्र र सम्पन्नगरेको प्रमाणपत्रका साथमा त्यस्ता आयोजनाको तस्वीर र आयोजना बनेको क्षेत्रको जीआईएस लोकेशन दिनुपर्ने भनिएको थियो ।

सुरुङका हकमा विगत १० वर्षमा कम्तीमा ३ किलोमिटर लामो दुई लेनका एक जोडा सुरुङ (हरेक लेनको चौडाई ३.५ मिटर भएको) निर्माण सम्पन्न गरेको हुुनुपर्ने अवस्था थियो । यसमा पनि सम्बन्धित कम्पनीले सम्झौता अनुसारको निर्धारित समयभित्रै निर्माण सम्पन्न गरेको प्रमाणपत्र, तस्वीर र आयोजना बनाइएको जीआइएस लोकेशन दिनुपर्ने भनिएको थियो ।

त्यस्तै अग्ला पिलर राखेर बनाइने पुलका हकमा प्याकेज १ मा २ वटा पुल ३३० मिटर लामा बनाएको हुनुपर्ने प्रावधान छ भने प्याकेज २ मा २५० मिटर लामा दुई पुल बनाएको अनुभव माग गरिएको छ । यस्ता पूलहरु सफलतापूर्वक सञ्चालन भैरहेको हुनु पर्ने, पुलहरु डब्बल लेनका ११.७ मिटरका जोडा हुनुपर्ने वा २३.४ मिटर चौडा ४ लेनको हुनुपर्ने भनिएको छ । यस्तो पुल निर्माणको सम्झौता र निर्माण भएको क्षेत्रको जीआइएस लोकेसनसहित तस्वीरहरु दिनुपर्ने शर्त पूर्वयोग्यताको टेण्डरमा राखिएको थियो ।

त्यस्तै एक्सप्रेस वे का हकमा प्रस्तावकले विगत १० वर्षमा कम्तीमा ४ लेनको २० मिटर चौडाइयुक्त कम्तीमा २ किलोमिटर सडक निर्धारित मितिमा निर्माण गरेको र यस्तको प्रमाणपत्र र जीआइएस लोकेसन र तस्वीरहरु दिनुपर्ने प्रावधान थियो । बोलपत्रमा प्रस्तावकले विगत १० वर्षमा यस्तो पर्वतीय क्षेत्रमा एक राजमार्ग सुरुङ, ५० मिटर उठाइएको उच्च पुल निर्माणको ठेक्का कार्यान्वयन गरेको हुनुपर्ने थियो ।

यदि ठेकेदार संयुक्त उपक्रममा आएको हो भने हरेक साझेदारले विगत १० वर्षमा डेढ किमी डबल लेनका जोडा सुरुड, ४० मिटर पिलर उठाएर २३.४ मिटर चौडा पुल बनाएको हुनुपर्छ । ११.७ मिटर चौडा जोडा पुल बनाएको ती ठेक्काहरु समयमा पूरा भएका करार पत्र, प्रमाणपत्र र आयोजनास्थलका निर्मित संरचना देखिने गरी जीआइएस संकेतसहित तस्वीरहरु दिन भनिएको थियो ।

यस्ता ठेकेदारले विगत १० वर्षमा आफ्नो देश बाहिर कम्तीमा चार लेनको स्तरीय उच्च पुल २० मिटर उठाएर बनाएको वा ५ किमी लामो एक्सप्रेस वे वा एक किलोमिटरको दुई लेनको टनल निर्माणको कार्य कार्यान्वयन गरेको हुनुपर्ने भनिएको थियो ।

कम्पनी नै अयोग्य
भ्रष्टाचारमा बदनाम पूर्वसेनापति राजेन्द्र क्षेत्रीको पालामा ५ अप्रिल २०१८ मा प्रकाशित सूचना अनुसार पूर्वयोग्यताको लागि आवेदन दिएकामध्ये नेपाली सेनाले त्यतिबेला हाईराइज ब्रिजका लागि चाइना स्टेट कन्स्ट्रक्शन कम्पनी, हुनान रोड एण्ड ब्रिज, चाइना रेल्वे २० ब्यूरो, कोभेक सिआरईजीसी जेभी, लंजियान रोड एण्ड ब्रिज, डग्लस इन्सात र माक्योल इन्सात जेभी टर्कीलाई योग्य मान्दै १४ अक्टोबर २०१८ मा सर्ट लिष्ट निकालेको थियो ।

तर प्रधानसेनापति थापाले पहिलेको टेण्डर रद्द गरी पुन टेण्डर गर्दा पुल र सुरूङ र बीचको सडक निर्माणको कामलाई पनि एकै डालोमा हाले र योग्यता निर्धारण गर्दा पहिले योग्य भएकालाई पनि हटाएर नयाँ कम्पनी पोलि च्याङदा इञ्जिनियरिङलाई पुरस्कत गर्यो । जसको पुल र सुरुङ निर्माणका कुनै अनुभव नै छैन ।

बालुवाटारको आडमा नेपाली सेनाभित्र छिरेका एजेन्ट लोकेन्द्र कार्कीले काठमाडौं तराई फाष्ट ट्रयाकमा कोरियन कम्पनीलाई परामर्शदातामा छिराएका छन् । आफूले ल्याएको परामर्शदाता कम्पनीको आडमा अनुभवहीन पोली च्याङदा कम्पनीलाई एकलौटी पुरस्कृत गरिएको चर्चा अहिले नेपाली सेनामा व्याप्त छ ।

टेण्डर डकुमेण्ट तयार पार्ने, टेण्डर मूल्यांकन गर्ने कार्यमा परामर्शदाता कम्पनीको पनि हात हुने गर्दछ । लोकेन्द्र कार्कीसँगको सेटिङमा सेनाभित्रको खरिदमा व्यापक भ्रष्टाचासर भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्