Logo
Logo

बुढानिलकण्ठ धर्मशालाको पुनर्निर्माण सुरु


दृष्टि संवाददाता


काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ मन्दिरको धर्मशाला पुनर्निर्माणका लागि काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उप–प्रमुख नामग्य सी खम्पाले र सुशील ज्ञवाली, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतले संयुक्तरुपमा शिलान्यास गरेका छन् ।
बिहीबार सो शिलान्यास समारोहमा मन्दिरका मठाधिस स्वामी निगमानन्द, बुढानिलकण्ठ व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण खड्का, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव मणिलाल गेलाल, भूमि सुधार तथा व्यवस्थापन मन्त्रालयका सचिव टेकनारायण पाण्डे, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त जयबहादुर चन्द, बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धवप्रसाद खरेल, विश्व हिन्दु महासंघका अध्यक्ष चक्र बन्धु अर्याललगायत भारतीय राजदूतावास तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पदाधिकारीको उपस्थिति थियो ।
यस धर्मशालाको पुनर्निर्माणका लागि भारत सरकारको ५.८ अर्ब रुपैयाँ आर्थिक सहयोग गरेको छ । जसमा २८ वटा सांस्कृतिक सम्पदा संरक्षण तथा पुनस्र्थापना परियोजनामध्येको तेस्रो परियोजनाको रुपमा रहेको छ । यी सबै २८ वटा सांस्कृतिक सम्पदा क्षेत्रको पहिचान नेपाल सरकारले गरेको हो ।
गत अगस्ट २०१७ मा भारत सरकार र नेपाल सरकारबीच सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय कार्यान्वयन इकाई (भवन) यी परियोजनाहरुको कार्यान्वयन गर्ने निकायको रुपमा रहेको छ । यस धर्मशालाको निर्माणले मन्दिरमा आउने तीर्थयात्री तथा पर्यटकको भ्रमणलाई सहज बनाउने अपेक्षा गरिएको छ ।
यस अघि गत नोभेम्बर २०१९ मा कूल नेरु २.२ करोड को लागतमा बुढानिलकण्ठ मन्दिरका लागि मठाधिस भवनको निर्माण भएको थियो । सांस्कृतिक सम्पदाको संरक्षण एवं पुनस्र्थापनाका लागि नेपाल सरकारसँग हातेमालो गर्न भारतले प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्