Logo
Logo

महिला सैनिकलाई यौन दुव्र्यवहार गरेकोमा सेनाका जर्नेल बर्खास्त


दृष्टि संवाददाता


काठमाडौं, २७ फागुन ।
आफ्नै कर्मचारीलाई यौन दुव्र्यवहार गरेको अभियोगमा नेपाली सेनाका जर्नेल बर्खास्त भएका छन् । २८ नम्बर बाहिनी सिरहाका बाहिनीपति पंकज कार्कीलाई नेपाली सेनाले बर्खास्त गरेको हो । कार्कीसँग उक्त घटनामा मुछिएका दुई महिला सैनिकहरु पनि बर्खास्त भएको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताए । कोर्ट अफ इन्क्वायरीको प्रतिवेदनका आधारमा उनीहरु बर्खास्त भएका हुन् ।


जर्नेल कार्कीमाथि गत वर्ष संयुक्त राष्ट्रसंघ अन्तर्गत शान्ति स्थापनार्थ सुडानमा खटिँदा एक जना महिला सैनिक अधिकृत र त्यसपछि नेपाल आएर २८ नम्बर बाहिनीपतिमा रहँदा अर्को महिला सैनिकलाई यौन दुर्व्यवहार गरेको अनुसन्धानमा पत्ता लागेको हो ।

सैनिक स्रोतका अनुसार जर्नेल पंकज कार्कीले आफ्नो यौन दुर्व्यवहारको विषय सहायक बाहिनीपति रामचन्द्र कार्कीले बाहिर ल्याएको भन्दै अन्तरिक छानबिन सुरु गराएका थिए । दुईबीच विवाद भएपछि उक्त घटना मध्य–पूर्वी पृतनामा पुगेको थियो । दुर्व्यवहारको घटना र दुई जनाको द्वन्द्वको विषय पृतनाले केन्द्रमा जानकारी गराएपछि सैनिक मुख्यालयले त्यस घटनाको विषयमा छानबिन गरेको थियो ।

अनियमिततामा संलग्न र अनुशासन पालना नगर्नेविरुद्ध प्रधानसेनापति पूर्ण चन्द्र थापाले कठोरताका साथ कारबाही गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्