Logo
Logo

ओलीसँग सत्ता साझेदारी नगर्ने पक्षमा बाबुराम भट्टराई


दृष्टि संवाददाता


काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) ले बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेको छ । सत्ता गठबन्धनको सरकार बनिरहेको अवस्थामा भोलि माओवादीले समर्थन फिर्ता लिने बित्तिकै अल्पमतमा पर्ने देखिएपछि एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले जसपासँग सहकार्यका लागि बिहीबार छलफल गरेका हुन् ।

यसअघि नै जसपाका अध्यक्ष महन्थ ठाकुर र प्रधानमन्त्रीबीच पनि छलफल हुँदै आएको थियो । तर, औपचारिक रूपमा भने बिहीबार जसपाका नेताहरूले प्रधानमन्त्रीलाई भेटेका हुन् । तर, सबै शीर्ष नेता उपस्थित हुँदा बाबुराम भट्टराई भने सहभागी भएनन् ।

बिहीबारको बैठकमा भट्टराई पनि उपस्थित हुने जसपाका नेताले नै बताउँदै आएका थिए । बिहीबार अपराह्न बसेको जसपाको बैठकले पनि नेताहरूले साँझ प्रधानमन्त्रीसँग छलफल गर्ने निर्णय गरेको थियो ।

किन गएनन् भट्टराई ?

पाँच जना नेता नै बालुवाटार जाने भनिरहँदा भट्टराईको अनुपस्थितिले हाल जसपाले सहकार्यका विषयमा प्रधानमन्त्रीसँग अघि बढाएको छलफलमा उनको असन्तुष्टी रहेको प्रष्ट देख्न सकिन्छ । जसपाभित्र प्रधानमन्त्री ओलीको तीव्र आलोचना गर्दै आएका भट्टराई यो छलफलप्रति खास खुसी देखिएका छैनन् ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेयता ओलीलाई सरकारमा बस्न कुनै हक नभएको भट्टराईले बताउँदै आएका छन् भने केही दिन अघि मात्रै ‘ओली हटाउँ देश बचाउँ’ भन्दै उनले ट्वीट समेत गरेका थिए ।

यता, भट्टराईको अनुपस्थितिले जसपाभित्र दुई धार देखिएको प्रष्ट भएको छ । पूर्व राजपाका नेता ओलीसँगको सहकार्यमा उत्सुक भएपनि भट्टराई भने विपक्षमा उभिनुले जसपामा के संकट मडारिएको हो ? भन्ने प्रश्न पनि राजनीतिक वृत्तको चर्चामा छ ।

प्रतिक्रिया दिनुहोस्