Logo
Logo

सरकार र जसपाबीच आज निर्णायक वार्ता, सहमति बन्ला ?


दृष्टि संवाददाता


काठमाडौं । जनता समाजवादी पार्टीले आज (शुक्रबार) सरकारी पक्षसँग निर्णायक वार्ता गर्ने भएको छ । अपरान्ह ४ बजे वालुवाटारमा बोलाइएको कार्यदलको बैठकले निष्कर्ष निकाल्ने नेताहरुले बताएकाछन् ।

जसपाका नेता राजेन्द्र महतोले आजै बस्ने कार्यदलले निष्कर्ष निकाल्ने र सहमति बनेको खण्डमा अघि बढ्न सकिने जानकारी दिए । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारसँग सहमति नबने नयाँ समिकरणमा जान सकिने बाटो खोलिने जसपाले जनाएको छ ।

हिजोको वार्ता सकारात्मक बनेकाले आजको वार्ता मिल्न सक्ने दुबै पक्षको भनाइ छ । जसपाले निलम्वित सांसद टीकापुर घटनामा दोषी ठहर रेशम चौधरीको मुद्दा फिर्ता र रिहाइ तथा मधेस आन्दोलनका मुद्दा फिर्ता, संविधान संशोधन लगायतका शर्त राख्दै आएको छ ।

आफ्ना माग सम्बोधनका लागि जसपाले लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल सदस्य रहेको कार्यदल गठन गरेको छ । सरकारको तर्फबाट अर्थमन्त्री विष्णु पौडेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई कार्यदलमा छन् ।

जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले पार्टीमा छलफल नै नगरी सरकारसँग वार्ता गर्न कार्यदल गठन गरेपछि कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई असन्तुष्ट छन् । प्रधानमन्त्री ओली जसपालाई टुक्र्याएर भएपनि सरकार जोगाउने पक्षमा उभिएका छन् ।

प्रतिक्रिया दिनुहोस्