Logo
Logo

झलनाथ खनालको प्रतिक्रियाः ओलीले पार्टी फुटाउन लागे


दृष्टि संवाददाता


काठमाडाैं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खानलले अध्यक्ष केपी शर्मा ओली पार्टी फुटाउन लागेको आरोप लगाएका छन् । शुक्रवार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बिस्तार गरेर २ सय ६४ जनाको बनाएपछि एक्लौटी निर्णय गरेकोमा आपत्ति जनाउँदै नेता खनालले ओलीले पार्टी फुटाउन खोजेको बताएका हुन् ।

नेता खनालले ओलीले गरेका निर्णय अप्रत्याशित भएको समेत बताए । ‘मैले जे सुन्दै छु त्यो साँचो हो भने केपी ओलीले गौरवशाली पार्टी एमालेलाई फुटाउँदै छन् । तोडफोड गर्दै छन् भन्ने पुष्टि हुन्छ । हामी त्यसको प्रतिकार गर्छौं । कम्युनिस्ट आन्दोलन जोगाउन लाग्छौं ।’, उनले भने ।

अध्यक्ष ओलीले शुक्रबार गृहमन्त्री रामबहादुर थापा बादलसहित २३ जनालाई केन्द्रीय सदस्य बनाएका हुन् । एमालेको केन्द्रीय कमिटीमा २४१ थिए ।

त्यस्तै सातै प्रदेशका इन्चार्ज र सहइन्चार्ज पनि तोकिएका छन् । प्रदेश १ मा सुवास नेम्वाङ, प्रदेश २ मा सत्यनारायण मण्डल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा यमलाल कँडेल र सुदूरपश्चिममा लेखराज भट्ट इन्चार्ज तोकिएका छन् ।

त्यस्तै बैठकले संगठन विभागको प्रमुखको जिम्मा विष्णु पौडेललाई दिएको छ भने विदेश विभागको जिम्मेवारी डा. राजन भट्टराईले पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्