Logo
Logo

जसपाले टुङग्याएन विधान


दृष्टि संवाददाता


काठमाडाैं । पार्टीको संसदीय दलको नेता चयनलगायत विषयबारे निर्णय गर्न आज भएको जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको बैठक अनिर्णित भएको छ ।

सिंहदरबारमा अपराह्न शुरु भएको बैठकमा करिब दुई घण्टा दलको विधानका विषयमा छलफल भएपनि कुनै निष्कर्षमा पुग्न सकेन । विधानको मस्यौदा तयार गर्न दुई सदस्यीय कार्यदल गठन गरिएको छ । पार्टीका नेता अनिल झा र रामसहाय यादव रहेको कार्यदलले विधानमा समेट्नुपर्ने विषयवस्तुबारे छलफल र परामर्श गरी पूर्णता दिने जसपाले जनाएको छ ।

बैठकले संसदीय दलको विधान सम्बन्धमा छलफल गरेपनि केही विषय थपघट गर्नुपर्ने भएकाले त्यसलाई पूर्णता दिएर पारित गर्ने निर्णय भएको जसपाका नेता केशव झाले जानकारी दिए । विधान पारित भएपछि मात्रै संसदीय दलको नेता चयन गर्न बाटो खुल्ने उनको भनाइ छ । बैठकपछि जसपाका शीर्ष नेता कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफलका लागि उनकै निवास बुढानिलकण्ठ पुगेका थिए।

अध्यक्षद्वय महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राईलगायतका नेता छलफलका लागि कांग्रेस सभापति देउवा निवास जानुभएको नेता झाले बताए । राजपा र समाजवादी पार्टी एकीकरण भएपछि बनेको जसपाले हालसम्म संसदीय दलको नेता चयन गर्न सकेको छैन ।

जसपामा ३४ सांसद रहेकामा दुई जना निलम्बित रहेकाले हाल ३२ मात्र छन् । सत्ता साझेदारीका लागि निरन्तर परामर्शमा रहेको जसपाले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेको थियो । जसपाले बन्दी नेताकार्यकर्ताको रिहाइ, मुद्दा फिर्ता, संविधान संशोधनलगायतको माग राख्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्