Logo
Logo

ओलीविरुद्ध माओवादीसहित एक ठाउँमा उभिने परिस्थिति बन्नुपर्नेमा जसपाको जोड


दृष्टि संवाददाता


काठमडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा कांग्रेस र जनता समाजवादी पार्टीका नेताहरुबीच छलफल भएको छ। छलफलमा जसपाले कांग्रेस, माओवादी केन्द्र र जसपा एक ठाउँमा उभिने परिस्थिति बन्नुपर्नेमा जोड दिएको छ।

‘राष्ट्रिय राजनीतिले एउटा निकास लिनुपर्ने र त्यो निकासतर्फ अगाडि बढ्दै गर्दाखेरी कांग्रेस, माओवादी केन्द्र र जसपा एक ठाउँमा उभिने परिस्थिति विकास हुनु उचित हुन्छ भन्ने धारणा उहाँहरुबाट आयो’, बैठकपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने।

जसपासँगको बैठकअघि पार्टीका पदाधिकारीसँग देउवाले परामर्श गरेका थिए । सो क्रममा सबैजसो नेताले ओली सरकारको बिकल्प खोज्ने र एमालेइतरको गठबन्धन बनाउने प्रस्ताव उपयुक्त हुने बताएका थिए ।

जसपाका नेताहरुले प्रधानमन्त्री ओलीसँग भएको भेटबारे कांग्रेस नेतालाई पनि जानकारी गराएका थिए । ‘हिजो प्रधानमन्त्रीलाई भेट्यौ, भोली माओवादी नेतृत्वलाई भेट्दैछौं । केही दिन पर्याप्त छलफल गरेर निष्कर्षमा पुग्ने पक्षमा छौं,’ बैठकमा जसपा नेताहरुले भनेका थिए ।

बैठकमा खुला रुपमा संवाद गरेर एउटा निष्कर्षमा राष्ट्रिय राजनीतिलाई लिएर जानुपर्छ भनेर गहन संवाद भएको शर्माले बताए। ‘केपी ओली सरकारका सन्दर्भमा एउटा धारणा निर्माण गरिसकेपछि उचित विकल्पमा पुग्नुपर्छ भन्ने मतहरु व्यक्त भएको छ’, उनले भने।

प्रतिक्रिया दिनुहोस्