Logo
Logo

‘जसपा कसैको पुच्छर होइन, आफैँ देशको नेतृत्व गर्ने शक्ति हो’


दृष्टि संवाददाता


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले अब जसपाले नै देशको नेतृत्व गर्न सक्ने बताएका छन् ।

नेता भट्टराईले जसपा आफैँ देशको नेतृत्व गर्ने शक्ति भएको उल्लेख गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार हटाउने चर्चा चलिरहेकै बेला निर्णायकमध्ये एक मानिएको जसपाका अध्यक्ष रहेका भट्टराईले जसपाले नै अब देशको नेतृत्व गर्न सक्ने बताएका हुन् ।

गए राति ट्विट गर्दै उनले लेखेका छन्, ‘जसपाबारे जान्नैपर्ने कुराः १. यो तासको जोकर वा सत्तारूपी जुवाको खालको च्याँखेदाउ थाप्ने खेलाडी हैन । बरू, परम्परागत राजनीतिको अग्रगामी विकल्प हो । २. गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्रविरूद्ध कसैसँग सम्झौता गर्दैन । ३. यो कसैको पुच्छर हैन, आफैँ देशको नेतृत्व गर्ने शक्ति हो ।’ उनले लेखेका छन् ।

यतिबेला देशमा सरकार परिवर्तनको आन्तरिक गृहकार्यमा दलहरु जुटेका छन् । जसपाका शीर्ष नेताहरुले अरु दलका नेताहरुसँग नयाँ सत्तासमीकरणका विषयमा छलफल जारी राखेको छ । सोही सन्दर्भमा डा. भट्टराईको यस्तो धारणा सार्वजनिक भएको हो ।

जसपाका शीर्ष नेताहरूले प्रधानमन्त्री ओली तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतसँग भेटघाटलाई जारी राखेका छन्। यस्तो बेला परम्परागत राजनीतिको अग्रगामी विकल्प खोज्नुपर्ने पनि भट्टराईले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्