Logo
Logo

प्रधानमन्त्री ओली विरुद्ध आफ्नै पार्टीका ११ स्थायी कमिटी सदस्यको वक्तव्य


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका माधव नेपाल पक्षधर ११ स्थायी कमिटी सदस्यहरुले संयुक्त विज्ञप्ती जारी गर्दै अध्यक्ष केपी शर्मा ओलीमा कम्युनिष्ट चरित्र नभएको आरोप लगाएका छन् । उनीहरुले ओली दक्षिणपन्थी विसर्जनवादी भएको भनेका छन् ।

ओलीले एमालेलाई विभाजन गर्ने र कम्युनिस्ट आन्दोलनलाई विर्सजनतिर लैजान खोजेको र त्यसविरुद्ध लड्ने चेतावनी पनि उनीहरुले दिएका छन् । अध्यक्ष ओलीले २८ फागुनमा गरेको निर्णयविरुद्ध निर्वाचन आयोग गएका वरिष्ठ नेता झलनाथ खनाल र नेपाल, उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव भीम आचार्य, गोकर्ण विष्ट र योगेश भट्टराई, स्थायी कमिटी सदस्यद्धय मुकुन्द न्यौपाने र सुरेन्द्र पाण्डेले संयुक्त वक्तव्य जारी गरेका हुन् ।

संयुक्त विज्ञप्तीमा चरम व्यक्तिवाद, गुटबन्दी, अहंकार, आत्मप्रशंसा र संकीर्ण स्वार्गमा रमाउने ओली प्रवृत्तिले पार्टी र आन्दोलनलाई अप्ठ्यारोमा पारेको उल्लेख छ । ओलीले कम्यनिस्ट पार्टीलाई एकीकृत हुन नदिने, वामपन्थीहरुको नेतृत्वमा सरकार सञ्चालन गर्न नदिने तथा विधि र पद्धतिको रक्षा गर्न नदिने उनीहरुको आरोप छ ।

यस्तै विज्ञप्तीमा भनिएको छ, ‘ओली गुटका पार्टी विधान, सिद्धान्त र प्रणाली विपरितका क्रियाकलापविरुद्ध दृढताका साथ उभिन देशभरीका पार्टी सदस्यहरुलाई आहृवान गर्छौं ।’

सर्वोच्च अदालतको २३ फागुनको आदेशपछि पार्टीलाई विगतको कमजोरी तथा अन्तरविरोधबाट जोगाउँदै कसरी अगाडि बढ्ने भनेर विचार विमर्श गरिरहेका बेला अध्यक्ष ओलीले गुटको भेला राखेर नेताहरुलाई पदमुक्त गर्ने, जिम्मेवारी हेरफेर गर्ने र केन्द्रीय सदय मनोनित गर्ने जस्ता अवैध तथा स्वेच्छाचारी काय गरेको बताएका छन् ।

उनीहरुले पार्टीलाई एकताबद्ध रुपमा अगाडि बढाउन २८ फागुनमा भएका निर्णय रद्ध गरेर विधिअनुसार स्थायी र केन्द्रीय कमिटीको बैठक बोलाउनुपर्ने बताएका छन् ।

पार्टीलाई क्रान्तिकारी रुपमा पुनर्गठित गर्ने अभिभारा आफूहरुमा आएको भन्दै ११ स्थायी कमिटी सदस्यले ओलीको राज्यत्ता संरक्षित दक्षिणपन्त र विर्सजावादविरुद्ध दृढताका साथ संघर्ष गर्दै अगाडि बढ्नु अपरिहार्य भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्