Logo
Logo

बोक्सी भन्दै ६० वर्षीया वृद्धामाथि निर्घात कुटपिट


दृष्टि संवाददाता


विराटनगर । मोरङमा बोक्सीको आरोपमा एक वृद्धा महिलामाथि निर्घात कुटपिट भएको छ । रतुवामाइ नगरपालिका – २ घर भएकी ६० वर्षीया महिलालाई छिमेकी परिवारका पाँच जनाले कुटपिट गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले जनाए अनुसार बाँधेर कुटपिट गर्दा वृद्धाको अनुहार, हात, खुट्टा, ढाडलगायत शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ । शुक्रबार राति कुटिएकी वृद्धा महिलाको कोसी अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

कुटपिट र आक्रमणबाट वृद्धा बेहोस भएपछि श्रीमानले प्रहरीलाई खबर गरेका हुन् । वृद्धामाथि ६५ वर्षीय भीमलालसिंह गनगाईं, ६० वर्षीय जितनलालसिंह गनगाईं, ५० वर्षीय लखनलालसिंह गनगाईं, २७ वर्षीय लक्ष्मीप्रसादसिंह गनगाईं र १९ वर्षीया हैरानी गनगाईंले कुटपिट गरेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार हैरानीकी दिदी पुनमदेवी गनगाईंसँग भएको विवादको रिसइबीलाई लिएर बोक्सीको आरोप लगाउँदै वृद्धामाथि सामूहिक आक्रमण गरिएको हो । घटनामा संलग्न भएको आरोपमा लखनलाल र हैरानीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए । उनीहरुविरुद्ध बोक्सी आरोपको कसूरमा अनुसन्धानका लागि जिल्ला अदालतबाट आइतबार अनुमति लिएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्