खप्तड : एक म्युजियम « Drishti News – Nepalese News Portal
Logo

खप्तड : एक म्युजियम


- दृष्टि न्युज/संवाददाता


भुपिन/यात्रा

‘सैपालको आँगनबाट’ नामक काव्यकृतिका लेखक हेमन्त विवशले फोन गरे, ‘भूपिनजी, खप्तड काव्य यात्रामा जानुपर्छ है।’

मैले तत्कालै ‘हुन्छ’ भनिदिएँ।

केही दिनपछि हेमन्तजीले मेसेन्जरमा लेखे, ‘जेठ १० गते लाग्ने गंगा दसहरा मेलाको समय पारेर खप्तड जाने पक्का भयो। आवश्यक तयारी थाल्नुहोला।’

मैले फेरि पनि ‘हुन्छ’ भनिदिएँ।

कार्यक्रम संयोजक अमृत भादगाउँलेले भ्रमण तालिका र आयोजक कन्सेप्ट नेपालको तर्फबाट केही अनुरोध सहितको फेसबुक पत्र पठाएपछि मैले झोलामा आवश्यक सामान कोच्न थालेँ। यात्रावधि एक हप्ताको थियो। ‘खप्तडलाई सुदूरपश्चिमको चेरापुन्जी भनिन्छ है।’ हेमन्तजीको बारम्बारको चेतावनी थियो। तसर्थ छाता किनेँ। अट्टेचीमा थन्किसकेका ज्याकेट, टोपी र ट्राउजर, स्लिपिङ ब्याग बाहिर निस्किएर झोलामा भरिए।

जेठ ६ गते राति १० बजेतिर पुल्चोकमा कवि निमेष निखिल, हेमन यात्री, उदय अधिकारी र मैले काठमाडौंबाट साथीहरू चढेको बस पक्रियौं। पोखरेली साथीहरू मुग्लिनबाट थपिएका थिए। बसमा कविमात्र थिएनन्, पत्रकार र साइकल यात्रीहरू पनि थिए। उनीहरू गीत गाउन व्यस्त थिए। बसमा राति अबेलासम्म गायन जारी रह्यो।

ककपिटमा नक्कली पाइलट

अत्तरियाबाट सोझै दिपायलतिर पनि लाग्न सकिन्थ्यो तर हामी धनगढीतिर मोडियौं। धनगढीमा केही सहयोगी व्यक्ति भेट्ने र खाना खाने योजना थियो। सुन्दर सुदूरपश्चिम अभियानका परिकल्पनाकार एवं अगुवा गोपी हमाललाई भेट्यौं हामीले। हमालको भनाइमा सुदूरपश्चिमलाई राज्यले हेपेको गुनासो त थियो नै, भविष्यप्रति गहिरो आशा पनि थियो। मलाई उनको कुराले छोयो।

परिचय कार्यक्रममा क्याप्टेन वेद उप्रेतीको पनि उपस्थिति थियो। उनको विशेष अनुरोधमा हामीहरू उनले सञ्चालन गरेको एयरक्राफ्ट म्युजियम पुग्यौं। रातो र सेतो रङको विशाल फोकर हन्ड्रेड जेट प्लेनभित्रकी एअरहोस्टेसले मुस्कानसहित हाम्रो स्वागत गरिन्। खप्तड हिँडेका यात्रीहरू जेट प्लेनभित्र छिरे र एअरहोस्टेसले दिएको चिसो पिउँदै प्लेनको पेटभित्र निर्माण गरिएको म्युजियम अवलोकन गर्न थाले। केही यात्रीहरू ककपिटभित्र छिरेर नक्कली पाइलट बन्न थाले। म पनि छिरेँ ककपिटभित्र। एअरफोन लगाएँ र ह्यान्डल घुमाउन थालेँ। मैले ककपिटमा बसेर एक पुरानो सपना सम्झिएँ। सपनामा म साँच्चैको पाइलट बनेँ।

गाउँमा आई बस्ने जहाज र टाइसुटधारी पाइलट देखेपछि मैले पनि बाल्यकालमा पाइलट बन्ने सपना देखेको थिएँ। उनीहरू मेरो गाउँमा झरेपछि पिसाब फेर्थे। पछिल्लो कविताकृति ‘सुप्लाको हवाईजहाज’को शीर्षक चयनमा मेरो अवचेतनमा बसेको त्यही सपनाको आंशिक क्षतिपूर्ति होला भन्ने सोच्छु अचेल। ककपिटमा बसेर सोचेँ, ‘फोकर हन्ड्रेड जेट प्लेन नउडाए पनि खासमा म पाइलट नै हुँ, जो शब्दको मनमा सपनाको फ्युल राखेर र कल्पनाको पंखा घुमाएर कविताको आकाशमा उड्छ।’

गाउँमा देखेको एक पुरानो सपना सम्झेर धनगढीको एअरक्राफ्ट म्युजियममा एक झमक भावुक बनेँ म। सितिमिती सेल्फी खिच्न मन नपराउने मैले ककपिटमा खिचेको सेल्फी सायद यही भावुकताको प्रमाण थियो।

त्यसपछि हामीहरूले दिपायलतिरको बाटो छोट्याउन सुरु गर्‍यौं। नेपाली लोकगीतमा तुकबन्दीको विषयमा छलफल चल्यो। प्रायः दुई लाइनबीच कुनै कनेक्टिभिटी नहुने लोकगीतलाई कनेक्टिभिटीसहित प्रस्तुत गर्दा कति सुन्दर हुँदो हो ? चिन्तन गर्‍यौं। लोकगीतमा भएको काव्यिक शक्तिको पनि कुरा चल्यो। बसमा बजेको ‘आफ्नै छायाले पनि साथ दिन्न भन्छन् अँधेरीमा’ उत्कृष्ट कविता थियो। युवतीको आँखालाई मिर्मिरे बिहानसँग तुलना गर्ने र हितको परानी नदेख्दाको मनलाई जलेको खरानीको विम्बमा प्रस्तुत गर्ने लोकगीत सुन्दर कविता नै त हुन्।

सम्मान

यात्राको तेस्रो दिन बिहान सिलगडी पुग्यौं। पहाडमा फन्फनी घुमेको बाटोमा जताततै सुन्तला रङको कुरीफूल मात्र झ्यांगिएको देखिन्थ्यो। सुक्खा खेतबारीमा कुनै हरियाली थिएन। यस्ता ढुंग्याने पहाड हामी कृषिमा आश्रित नेपालीका लागि अभिशाप नै हुन्। खान नहुने कुरीफूल फुलेर के गर्नु ?

शैलेश्वरी मन्दिरअघि यात्राकै एक विशेष कार्यक्रम सम्पन्न भयो। सुदूरपश्चिमको लोकसंस्कृतिमा विशेष योगदान दिएका तीन व्यक्तिहरू कलाकार धनबहादुर मल्ल, देउडा गायक गोपाल पार्की र हुड्के गायक पदमसिंह नेपालीलाई नगदसहित सम्मान गरियो। कवि हेमन्तले चयन समितिको संयोजकका तर्फबाट गम्भीर मन्तव्य दिए। लोकसंस्कृतिमा ठूलो योगदान दिएर पनि राज्यले खासै चिन्न नसकेका उनीहरूको सम्मान प्रश्रसनीय थियो। पदमसिंह नेपालीको हुड्के नाचेको देख्ने अवसर पायौं हामीले। हुड्के वीरहरूको गाथाको गायन र नाच रहेछ।

सिलगडीदेखि जिपमार्फत झिग्राना पुग्दा २ बजिसकेको थियो। कच्ची बाटोमा उडेको धुलो टाँसिएर परेलामा समेत धुलोका पत्र परेका थिए। आधी घन्टा अल्मलिएपछि मात्र हामीले झिग्रानाको पहाड चढाइ गर्न सुरु गर्‍यौं। गुराँसको पातले ढाकिएको उकालो ठाडो थियो। हामीले बोकेका बोतलका पानी सिद्धिए। पानीको तीव्र संकटमा उकालोमा भेटिने जुनसुकै तुरतुरे धारामा मुख गाड्न हामी विवश भयौं। बोतलमा धाराको पानी भर्दा धमिलो र लेउ पनि भरिन्थ्यो। हामी त्यही पानी पिउन बाध्य भयौं। दुईपटक टाइफाइड र एकपटक जन्डिसबाट मुस्किलले तंग्रिएको म झस्किन थालेँ। कम्तीमा पानीमा राख्ने निर्मल चक्की वा थोपा ल्याउन सकिन्थ्यो। यति पनि बुद्धि नआएकोमा आफैंप्रति टिठ लाग्यो। यात्राभरि पानीको विषयलाई लिएर मेरो चिन्ता यथावत् रहिरह्यो। खप्तड यात्रामा पिउने पानीको सबैभन्दा ठूलो समस्या रहेछ।

बीच पानी पुग्दा अँध्यारो भइसकेको थियो। बीचपानीमा एउटा घुमाउने घर र एउटा ससानो छाप्रो थियो। त्यहाँ मेला भर्न जानेको ठूलो भीडभाड थियो। त्यत्रो भीडलाई स्वादिलो खाना खुवाउनु एउटा होटलेको वशको कुरा थिएन। जे जस्तो पायौं, त्यो नै अनेक थियो। हाम्रो लागि व्यवस्था गरिएको सुत्ने ठाउँमा हामीअघि पुगेको एक टोलीले कब्जा जमाइसकेको रहेछ। उनीहरूसँग वादप्रतिवाद गर्नुभन्दा घुमाउने घरको कोठाचोटामा स्लिपिङ ब्यागभित्र घुस्रिएर निदाउनु बुद्धिमानी लाग्यो हामीलाई। त्यही गर्‍यौं।

फोनडाँडा र घोडा

यात्राको चौथो दिन बिहानै हामीले बीचपानी छोड्यौं। बाटो हिजोजस्तो उकालो र कठिन थिएन। पहाडको थाप्लैथाप्लो उत्तरपूर्वी दिशामा हिँडेर हामी एक बिसौनीमा पुग्यांै। लेखिएको थियो, फोनडाँडा। झिग्रानाको उकालोबाट नेटवर्क नलागेका मोबाइलको सम्झना भयो हामीलाई। त्यहाँबाट हामीले घरमा फोन गर्‍यौं र यात्रा रमाइलो भएको जानकारी दियौं। फोनडाँडा लेखिएको बोर्डमा निमेषले लेख्यो, ‘फोनसेवा उपलब्ध गराएकोमा धन्यवाद।’

घाँटीमा झुन्डिएको घन्टी टङटङ बजाउँदै एउटा घोडा ओर्लिंदै थियो विपरीत दिशाबाट। तीन प्राणी ओर्लिएको बाटो नै हामी उक्लिनुपर्ने अन्तिम उकालो थियो। पदयात्रीमध्ये कसैले जिस्किएर सोध्यो, ‘काँ जान्या हुन् भाइ ? ’

खप्तड निस्कने पहिलो पाटनमा निस्किँदा साढे ८ बजिसकेको थियो। काठले बारेको एक चिटिक्कको सुन्दर घर भेटियो, जहाँ हामीले चिया र तरकारी खान पायौं। उक्त घर हिउँमा पुरिएका सैनिक जवानहरूको नाममा निर्माण गरिएको रहेछ।

घाँटीमा झुन्डिएको घन्टी टङटङ बजाउँदै एउटा घोडा ओर्लिंदै थियो विपरीत दिशाबाट। एक युवक घोडामाथि बसिरहेको थियो र अर्कोले लगाम समाइरहेको थियो। ती तीन प्राणी ओर्लिएको बाटो नै हामी उक्लिनुपर्ने अन्तिम उकालो थियो। पदयात्रीमध्ये कसैले जिस्किएर सोध्यो, ‘काँ जान्या हुन् भाइ ? ’

‘बीचपानी कलाकारलाई लिन।’

‘को कलाकार लिन जान्या हुन् ? ’ उदय बोले।

‘प्रदीपकुमार राई।’ घोडाबाट भर्खरै ओर्लिएको युवकले भन्यो। अनि आफ्नो हातमा भएको एक चिट मेरो हातमा थमायो। त्यहाँ लेखिएको थियो, राष्ट्रगानका रचयिता व्याकुल माइला। कविजी त त्यहीँ थिए। हामीले उनलाई घोडाको सुविधा प्रयोग गर्न अनुरोध गर्‍यौं।

तर व्याकुलजीले अप्ठ्यारो माने घोडा चढ्न र हार्दिकतापूर्वक घोडाको सुविधा उपयोग गर्न मलाई अनुरोध गरे। यो मेरो लागि झन् कठिन काम थियो। मैले झट्ट २०५३ सालको नेपालगन्ज भ्रमण सम्झिएँ। पृथ्वीनारायण बहुमुखी क्याम्पसबाट क्षेत्रीय भलिबल प्रतियोगिताका लागि नेपालगन्ज गएका बेला यताउता घुम्न टाँगा चढ्नुपथ्र्यो। उलार हुने गरी बस्थे, मानिसहरू टाँगामा। मलाई अघ्घोरै माया लाग्थ्यो घोडाको। त्यही दिनदेखि मैले सकेसम्म घोडा नचढ्ने कसम खाएको थिएँ।

‘प्रमुख अतिथि समयमा पुग्नु जरुरी हुन्छ कविज्यू, तपाईं नै जानुस् घोडामा।’ हामीले यति कुरा भनेपछि व्याकुल माइला तयार भए र मुस्किलले घोडामा चढे। एक भाइले उनको झोला बोके र अर्को भाइले घोडाको लगाम तान्न थाले। टङटङ घन्टी बजाउँदै कविजीलाई बोकेको घोडा उकालो उक्लिन थाल्यो।

दोस्रो पाटन विशाल थियो। आइमाई र केटाकेटीहरू खर्कमा गाईबस्तु छाडेर चौरमा मस्त सुतिरहेका देखिन्थे। नजिकै उनीहरूका गोठ थिए, जसको पुछारमा हल्हलेको साग सप्लाएको थियो। थरीथरीका फूलहरू फुलिरहेको हरियो खर्कमा गाईभैंसी, भेडा र घोडाहरू अलमस्त चरिरहेका थिए। बाटोको छेवैमा बाक्ला गुराँसका गाँजहरू देखिन्थे। त्यहाँ हल्का बैजनी रङका गुराँस फुलिरहेका थिए। कञ्चन पानी भएको खोला बीचोबीच कुदिरहेको थियो।

११ बजे हामी त्रिवेणी प्रवेश गयौं। हल्ला र हुटिङबीच डोटी र बझाङको टिमबीच भलिबल प्रतियोगिता चलिरहेको थियो। प्रकृति हेरेर प्राप्त भइरहेको उत्तेजनाभन्दा बिल्कुल भिन्दै खालको उत्तेजना महसुस गरेँ मैले। भलिबल खेलेर बिताएको यौवनकालले नोस्टाल्जिक बनायो मलाई। साँचो थियो, यति सुन्दर ग्राउन्डमा भलिबल खेल्ने अवसर कहिल्यै मिलेन जीवनमा।

खप्तड बाबा आश्रम र घोडदाउन

खाना खाएपछि हामी त्रिवेणी मन्दिर कटेर मेला लाग्ने चौरमा उक्लियौं। त्यसको पूर्वी र दक्षिणी दिशामा लस्करै काठका टहराहरू बनेका थिए। टहराहरूको अघि काठकै अस्थायी बेन्चहरू बनाइएका थिए। मेला भर्न चौरमा ओइरिने मानिसको भीड क्रमशः बढिरहेको थियो। अग्ला डिलहरूमा टेन्ट टाँगेर मानिसहरू आराम गरिरहेका पनि देखिन्थे। हाम्रो लागि भने टेन्ट पछि टाँगिने स्थानीय संयोजक साथीहरू बताउँदै थिए। स्थानीय साथीको रेखदेखमा आफ्ना झोलाहरू चौरमा थुपारेर हामीहरू खप्तड बाबाको कुटी हेर्न निस्कियौं। करिब पौने घन्टा उकालो चढेपछि बाबाको आ श्रम आयो। नढाँटी भन्दा त्यो आ श्रमले मलाई खासै आकर्षित गरेन।

मलाई मन्दिरहरू सधैं कला म्युजियमजस्ता लाग्छन्। तिनको आर्किटेक हेर्न म सधैं लालायित रहन्छु। खासमा म यत्तिका लागि मन्दिर जान्छु। मन्दिरवासी ईश्वरका मूर्तिहरूमा म ईश्वरत्व खोज्ने झ्याउ बेसाउन्न, म त्यहाँको कला देखेर मोहित हुन्छु। मलाई हेक्का किन नभएको होला कि खप्तड बाबाको आ श्रम मन्दिर थिएन। म मन्दिर सम्झेर त्यहाँ पुगेको रहेछु। बाबाको मूर्तिबाहेक मलाई उक्त आ श्रम एकदमै सादा लाग्यो। तर, यही कुटी थियो जहाँ बसेर बाबाले विचार विज्ञान लेखेका थिए, धर्म विज्ञान लेखेका थिए। मेरो लागि यो कुरा महŒवपूर्ण थियो।

मन्दिर भ्रमणपछि हामीहरू घोडा दाउन गयौं। त्यसको आँगनमा घोडा कुदाइरहेका युवाहरू देखिए। युवाहरूको चाबुकको चोटले रन्थनिँदै घोडाहरू याल हल्लाएर बिजुली गतिमा मैदान वरिपरि दौडिरहेका थिए। त्यहाँ घोडादौड प्रतियोगिता हुँदै थियो। त्यसैको रिहर्सल चलिरहेको थियो।

निकै ढिला गरी ५ बजेतिर मात्र प्रतियोगिता सम्पन्न भयो। मैदानमा दर्शकका लागि कुनै बारबन्देज नलगाइएकाले घोडा दौड सुरु हुने बित्तिकै फोटो र भिडियोका लागि मैदानको बीचमै पुग्थे मानिसहरू। स्थिति जोखिमपूर्ण लाग्यो मलाई। घोडा जुधेर र सन्तुलन गुमाएर लड्ने घोडचढीहरू पनि भेटिए। ‘व्यवस्थापनमा थप ध्यान दिन सके यस्तो प्रतियोगिता कम जोखिमपूर्ण हुन सक्छ’, मनमनै सोचेँ।

अखण्ड देउडा

त्रिवेणीमा फर्केर आउँदा ज्यान यति थाकेको थियो कि म चाहन्थेँ, एकैछिन टेन्टभित्र आराम गरूँ। राति चल्ने देउडा अवलोकनका लागि शरीरमा स्फूर्ति भर्न जरुरी थियो। चिसो हावा चलेर खाली चौरमा सुत्न गाह्रो थियो। तर हाम्रो लागि टाँगिनुपर्ने टेन्ट टाँगिएको थिएन। साँझ पर्‍यो, टेन्ट टाँगिएन। रात झर्‍यो, अहँ टेन्ट टाँगिएन। स्थानीय आयोजक कार्यक्रममै व्यस्त थिए, उनीहरू सायद कार्यक्रम सकिएपछि मात्र टेन्ट टाँग्ने मनस्थितिमा थिए। उधुमसित चलिरहेको कार्यक्रम छिट्टै सकिने छाँटकाँट थिएन। ढिला गरेर टेन्ट टाँग्ने सुरसार चल्दै थियो, फेरि आर्मीको हस्तक्षप सुरु भयो। सुरक्षाको कारण देखाएर उनीहरूले हामीलाई रोके। हाम्रा झोलाहरू भएको ठाउँमा चिसो शीतबाट ओत लाग्ने घर बनाउन दिएनन् उनीहरूले। केही बेरको अनुरोधपछि एक आर्मी प्रमुख आएर भने, ‘तपाईंहरू हामीले बनाएको यही टेन्टमा सुत्नुस्।’ हामी खुसी भयौं तर हाम्रो खुसी लामो समय टिकेन। फेरि अर्को आर्मी प्रमुख आएर भने, ‘अट्नेजति केही यता सुत्नुस्। अरूका लागि उता ब्यारेकमा सुविधासम्पन्न टेन्ट गाडिएको छ। उतै गएर आनन्दपूर्वक सुत्नुस्।’

निमेष, हेमन, सागर र म आर्मीले व्यवस्था गरेको टेन्टमा गएर घुस्रियौं। हावा झन्झन् जोडले चल्न थाल्यो। त्यसले टेन्टलाई उडाउलाजस्तो क्रोध देखाउन थाल्यो। एकैछिनमा पानी पर्न थाल्यो। टेन्टको छतमा पानीका बुँदा टप्किन थाले। यहीबीच एक सैनिक टेन्टभित्र छिरेर कचकच गर्न थाल्यो। उसलाई हामी कविहरू टेन्टमा सुतेको मन परिरहेको थिएन। ऊ उसका भतिजा र आफन्तलाई हाम्रो ठाउँमा सुताउन चाहन्थ्यो। उसले बारम्बार गुनासो गरेपछि मलाई बढो दिक्क लाग्यो। भुइँचालो जाँदा सहिदगेटको ब्यारेकमा पानीमा ओत दिनसमेत इन्कार गरेको सैनिकलाई सम्झिएँ।

स्लिपिङ ब्यागबाट बाहिर निस्किएर देउडा हेर्न जाने आँट पनि आएन, झिमिक्क निद्रा पनि परेन। रातभरि यताउता कोल्टो फेर्दै मानिसहरूको हल्ला, बतासको सुसाइ, पानीको आवाज र देउडाको अविच्छिन्न गायन सुनिरहेँ। बीचबीचमा सैनिकले माइकमार्फत मदिरा सेवन नगर्न गरेको अनुरोध पनि सुनिन्थ्यो। भन्दै थिए, ‘मदिरा सेवन गरेको पाइएमा कडा कारबाही गरिनेछ।’

जसोतसो रात कट्यो। उठ्नासाथ म देउडा खेलिरहेका मानिसहरूको भीडमा घुस्रिएँ। गीत गाउँदै छोप्दै वृत्तमा नाचिरहेका दुई घेराहरू अझै चौरमा बाँकी थिए। वृत्तको बीचमा एकर्कासँग अडेसिएर बसेका बूढाबूढी र केटाकेटीहरू देउडाको आनन्द लिइरहेका थिए। उनीहरूको अनुहारमा रातको शीत, बर्सात र चिसो हावाको कुनै असर थिएन। ऊनीको टोपी वा मझेत्रोले कान छोपेका उनीहरू गीत सुन्दै मुस्कुराइरहेका थिए। उनीहरूलाई जाडो लागिरहेको थिएन, गीत लागिरहेको थियो। उनीहरूलाई निद पनि लागिरहेको थिएन, आफ्नो संस्कृति लागिरहेको थियो। मैले यसको भिडियो बनाएँ। यस्तो लाग्थ्यो कि मानिसहरू जोडिएर बनेको त्यो कुनै आइल्यान्ड हो, जसलाई देउडेहरूको छालले हिर्काइरहेछ।

सहस्र लिंगेश्वर र खप्तड ताल

करिब दुई घन्टाको उकाली र तेर्पाएँ बाटो काटेपछि हामीहरू पुग्यौं सहस्र लिंगेश्वर। विशाल र अग्ला ढुंगामा फर्फराइरहेका ध्वजापताकाबीच पुजारी पृतनापतिका लागि मन्त्रोच्चारण गर्न र टीका लगाइदिन व्यस्त थिए। खुला र साँघुरो मन्दिरबाहिर केही महिला मागल गाइरहेका थिए। सैनिक र तीर्थयात्रीहरू ढुंगाको प्वालमा सिक्का छिराएर धार्मिक भएको प्रमाणित गर्न कस्सिइरहेका थिए। तर, असफल भइरहेका थिए। गोब्रे सल्ला, देवदार र भोजपत्र पनि मिसिएको गुराँसको जंगलमा निरन्तर बतास सुसाइरहेको थियो। मैले भूपिको गीत सम्झिरहेको थिएँ, सल्लाझैं आमा सुसाइरहिन्…! ‘खप्तडको गहिरो सौन्दर्यबोध र समस्याबोध गरेर लेख्ने यहीँ वरपरका लेखक नजन्मेसम्म यसको खासै गहिराइ साहित्यमा आउने छैन’, मनमा यही कुरा खेलिरहेको थियो।

त्रिवेणी नझरी अर्कै बाटो हामी खप्तड तालतिर लाग्यौं। त्यो बाटो छोटो पर्दो रहेछ। खप्तड ताल पुग्नासाथ मलाई सबैभन्दा पहिला इलामको माईपोखरीको याद आयो। नयाँ वर्षको पहिलो दिन कवि विमल वैद्य र प्रकाश थाम्सुहाङले बडो आत्मीयतापूर्वक घुमाएका थिए। आकारमा खप्तड ताल माईपोखरीभन्दा अलिक सानै हो। तर पानी भने सफा र कञ्चन। दुवै जलसंग्रहका फोटो खिच्ने छेउ भने उस्तैउस्तै। सायद यही कारण म खप्तडमा माईपोखरी सम्झिरहेथेँ।

ताल अवलोकनपछि हामीहरू पाटनैपाटन भएर निकुञ्ज कार्यालय आयौं। लागिरह्यो, हामीले कत्ति पनि सम्पादन नगरिएको नेसनल ज्योग्राफिक वा डिस्कोभरी च्यानलमा पठार संस्करणको लाइभ डकुमेन्ट्री हेरिरहेछौं।

खप्तडबाट बिदा हुनुपूर्व डकुमेन्ट्री मेकर होमनाथ भण्डारीको क्यामेरासामु उभिएर कवि, पत्रकार र साइकल यात्रीहरूले खप्तड बारेका आफ्ना अनुभवहरू सुनाए। ती अत्यन्त रोचक थिए, मेरा लागि। व्यक्तिको अनुभव कसरी उसले लामो संगत गरेको र विशेष आधारसहित निर्माण गरेको विचारसँग जोडिन्छ ? म यही प्रश्नको जवाफ पाइरहेको थिएँ। गनेस पौडेल भन्दै थिए, ‘खप्तड तान्त्रिक भूमि हो।’ गणतान्त्रिक मुलुकमा तान्त्रिक भूमिको बोध अन्य देशका मानिसहरू पनि गर्छन्। आफ्नो पहिलो उपन्यास ‘पैताला’मा गहिरो तान्त्रिक चिन्तन लेख्ने लेखकले खप्तडलाई तान्त्रिक महसुस गर्नु एकदम स्वाभाविक थियो। उनी आफूप्रति इमानदार लागे मलाई। आख्यानकार कम पत्रकार घनश्याम खड्कालाई भने खप्तडमा पुगेपछि उनको मन र आत्मा एक भएझैं लागेछ। उनले भने, ‘मलाई यहाँ समाधिको अनुभव भयो।’ दार्शनिक चेतनाको उपन्यास ‘निर्वाण’का लेखकले समाधिको कुरा गर्नु पनि उत्तिकै जायज थियो। कवि हेमन बढी संवेदनशील देखियो। नमर्दै स्वर्ग देखेकोमा ऊ खुसी थियो। उसलाई लागेको थियो कि आफ्नो देशमा नभएर कुनै नयाँ देशमा पुगेको छ ऊ। हेमनको स्टेटमेन्ट पोलिटिकल्ली कति करेक्ट थियो ? छलफल गर्न सकिएला, तर उसमा कविमा हुने संवेदना कुटकुट थियो।

व्याकुल माइलासँग दुई दिनपछि भेट भएको थियो हाम्रो। उनी स्थानीय आयोजकको कब्जामा परेका थिए। हामीसँगबाट छुटाएर स्थानीयवासीले राष्ट्रगानका गीतकारको राम्रो खातिरदारी गरेका थिए। ती सबैप्रति उनी गहिरोसँग आभारी थिए।

भर्खरै भएको अपरेसनबाट तंग्रिँदै गरेका अल्पभाषी कवि दीपेन्द्रसिंह थापा मानिससँग सोधपुछ गर्न व्यस्त रहन्थे। गजलकार टोपेन्द्र शाह हाम्रा दुःख र असुविधाप्रति सदा सजक रहन्थे। गोरिल्ला उर्फ लेखक सुरेन्द्र राना स्पष्ट वक्ता थिए। ग्रामीण पर्यटनमा रुचि भएका तारानाथ पहारी, पत्रकारहरू चन्द्र काफ्ले, अरुण बम, प्रकाश बम, पवन महरा, टीआर पौडेलहरू आत्मीय र सहयोगी थिए। साइकल यात्रीहरू सुदीप पौडेल, रञ्जन राजभण्डारी, देवेन्द्र बस्न्यात र गोपाल श्रेष्ठको जुनुनबाट म धेरै प्रभावित भएँ। धेरैजसो अप्ठ्यारो बाटो भएको यात्रामा ब्यागमाथि साइकल बोकेर र अत्यन्त कम सजिलो भएको बाटोमा साइकललाई आफू बोक्न लगाएर यात्रा गर्नु कम जोखिमपूर्ण र कम कठिन थिएन। हामी खप्तडबाट बीचपानी हुँदै पुन्नु झर्‍यौं।

फर्किने क्रममा आयोजक साथीहरूले हामीलाई केही धार्मिक स्थलको भ्रमण गराए। मलाई चाहिँ डोटीको सालमुनि मन्दिर विशेष लाग्यो। त्यहाँका पुजारी थिए, गन्धर्व। छुवाछूतको कुरूप अभ्यास हुने हाम्रो देशमा मैले अन्यत्र कतै यस्तो देखेको थिइनँ।

खप्तड यात्रा धेरै अर्थमा महŒवपूर्ण थियो मेरा लागि। प्रकृतिको भव्यता र दिव्यताको गहिरो अनुभव गर्न पाएँ मैले। मेलाका कारण सुदूरपश्चिमको सांस्कृतिक र सामाजिक अध्ययन गर्ने अवसर मिल्यो।

प्रतिक्रिया दिनुहोस्