खुवालुङ : ओलीलाई खुर्पाको बिँड ! « Drishti News – Nepalese News Portal
Logo

खुवालुङ : ओलीलाई खुर्पाको बिँड !


नवीन राई


प्रधानमन्त्री केपी शर्मा ओलीको एउटा अभिव्यक्तिले किरात समुदायमा तरंग पैदा भएको छ । गत फागुन ८ गते विराटनगरमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले भनेका थिए– ‘स्टिमर चढेर चतराबाट एघार मिनेटमा भोजपुर र एघार मिनेटमा भोजपुरबाट चतरा आइपुग्न बाधा भएको एउटा ढुंगोलाई क्रेन लगाएर फुटाएर बाटो क्लियर गर्दैछौँ ।’

प्रधानमन्त्री ओलीको उक्त अभिव्यक्तिप्रति सुरुमा सामाजिक सञ्जालमा विरोध भयो । त्यो विरोध अहिले ‘खुवालुङ बचाउ अभियान’को नाममा आन्दोलनमा परिणत भएको छ । वरिष्ठ साहित्यकार राजन मुकारुङको संयोजकत्वमा ‘खुवालुङ सरोकार समूह’ गठन भएको छ । आदिवासी जनजाति साहित्यकार÷लेखक महासंघ, किरात राई विद्यार्थी संघ, बृहत् नागरिक आन्दोलन तथा सम्पदा संरक्षणकर्मीले खुवालुङ क्षेत्रमा पुगेर विरोध कार्यक्रमसमेत गरिसकेका छन् ।

राई समुदायको साझा संस्था किरात राई यायोक्खाले पनि किराती आस्थाको केन्द्र ‘खुवालुङ’ फुटाउन नदिने प्रतिवद्धता जनाइसकेको छ । खुवालुङ अरुण, बरुण र तमोरको संगम स्थल त्रिवेणीमा पर्छ । खुवालुङ सुनसरीको बराहक्षेत्र भन्दा केही माथि पर्छ । यो यस्तो ढुङ्गा हो, जुन सदियौँलेखि नदीको मध्य भागमा छ ।

किरातको मुन्धुममा खुवालुङबारे विभिन्न ख्याख्या गरिएको छ । तर, आम रुपमा भने ओलीले फुटाउने भाषण गरेपछि मात्र चर्चामा आयो । कतिपय त्यो ढुंगा नै ‘खुवालुङ’ हो भन्ने आधार नभएपनि तर्क गर्छन् । तर, किरात धर्म संघ नेपाल मुन्दुम परिषद्का संयोजक एंव मुन्धुम अध्येता इन्द्रहाङ खम्बु उक्त ढुंगा नै खुवालुङ भएको दाबी गर्छन् । उनी भन्छन्– ‘खुवालुङ नदीमा नै हुनुपर्छ त्यो पनि अरुण, तमोर र दूधकोसीको संगमस्थलमा । यो संगमस्थल अन्य ठाउँमा छैन ।’

किरात समुदायमा मुन्धुमबिना कुनै कर्मकाण्ड पूरा हुँदैन । मुन्धुमको सुरुवात खुवालुङ हो भन्ने किरात समुदाय विश्वास गर्छन् । त्यसैले किरात समुदाय खुवालुङलाई धरोहरका रुपमा लिन्छन् । किरातीहरू पानीलाई ‘खुवा’ र ढुंगालाई ‘लुङ’ भन्छन् । खुवालुङसँग किरातहरूको मिथ, संस्कृति र सभ्यता जोडिएको छ । खुवालुङ आफ्नो देउता भएको र सबै संस्कार यही ढुंगाबाट सुरु हुने उनीहरूको विश्वास छ ।

किराती समुदायको संस्कार र संस्कृतिमा प्रयोग हुने खुवालुङ शब्दले पनि त्यो कोसीबीचमा देखिने ढुंगा मात्र नभएर आध्यात्मिक तथा सांस्कृतिक महत्व भएको पुष्टि गर्छ । किरात राईहरूको घरमा अनिवार्य रूपमा तीन लुङ (ढुंगा) विधिपूर्वक स्थापना गरी सुप्तुङ निर्माण गरिएको हुन्छ । यो सुप्तुलुङको तीन ढुंगा अलग–अलग ज्येष्ठ सदस्यले एकैचोटि गाडी स्थापन गर्ने गर्छन् । यो तीन पवित्र ढुंगाको नाम अलग–अलग रहेको छ ।

पहिलो लुङ (ढुंगा)को नाम हो, पाखालुङ । यसले आफ्ना पुर्खाहरूलाई प्रतिनिधित्व गर्छ । दोस्रो हो, माखालुङ । जसले आमाको प्रतिनिधित्व गर्छ । र, तेस्रो हो, साम्बेलुङ । जसले इष्टमित्र, छरछिमेक तथा अन्यको प्रतिनिधित्व गर्छ । यसले पनि खुवालुङ कोशीमाथिको एउटा ढुंगो मात्रै नभएर सांस्कृतिक महत्व भएको प्रष्ट पार्छ ।

खुवालुङ फुटाउनु र पशुपतिको शिवलिङ्ग फुटाउनु उस्तै हो । दुवै ढुंगा हुन्, दुबै आस्था हुन् । तर, खुवालुङमा ओलीको कुदृष्टि पर्यो । कसैको सांस्कृतिक आस्थामा प्रहार राम्रो होइन ।

अनुसन्धाता भोगीराज चाम्लिङ भन्छन्– ‘नाङ्गा आँखाले हेर्दा त्यो फगत ढुंगो हो तर किरातीहरूको इतिहास र संस्कृतिका हिसाबले बिनाअक्षरको अभिलेख हो, खुवालुङ । त्यो खुवालुङ तोडफोड गर्दा किरातीहरूको आस्थामा गम्भीर आक्रमण त हुन्छ नै, अर्को कोणबाट हेर्दा इतिहासको कुनै कालखण्ड नै सप्तकोसीमा विलिन हुन पुग्छ ।’

किराती बहुल क्षेत्रमा शब्दको अन्त्यमा ‘वा’ भएका थुप्रै ठाउँ र खोला छन् । जस्तैः इर्खुवा, चिर्खुवा, सिसुवा, संखुवा, राँवा, बेङ्खुवा, ककुवा, पखुवा, देवा, पीवा, खोरोङ्वा, पिखुवा, सावा, तावा आदि । त्यस्तै अन्त्यमा ‘वा’ भएका ठाउँहरू– वेतुवा, माङ्तेवा, सालेवा, मलेवा, लङ्खुवा, पिलुवा आदी छन् । अन्त्यमा ‘वा’मात्रै होइन, ‘लुङ’ भएको पनि थुप्रै ठाउँ र शब्दहरु छन् । जस्तैः कुलुङ, थुम्लुङ, किमालुङ, पाङ्लुङ, म्याङलुङ, मालुङ, सारालुङ, आदि ।

यसरी हेर्दा ‘खुवालुङ’ खोलाको बिच भागमा अडिएको एउटा ढुंगोमात्रै होइन, यो त भूगोल र सभ्यता हो । खुवालुङ किरात सभ्यता र संस्कृति भएको र यसलाई फुटाउन नमिल्ने अभिनेता दयाहाङ राई बताउँछन् । खुवालुङ किरात जातिको मात्र नभई देशकै सम्पदा भएको अभिनेता राईको ठहर छ । उनी भन्छन्, ‘म किरात भित्रकै मान्छे हुँ, किरात सभ्यता, दर्शनलाई अंगाल्दै अघि बढेर यहाँसम्म आइपुगेको हुँ, मैले मान्ने खुवालुङ मेरो मात्रै होइन, यो देशको पनि हो ।’

नेपालको मौलिक संस्कृतिमाथि कुनै न कुनै कोणबाट हस्तक्षेप बढ्दो छ । यसको हस्तक्षेपकारी प्रभावले हाम्रा सांस्कृतिक मूल्य–मान्यतामा ह्रास आइरहेको छ । अभिनेता राई भन्छन्– ‘हाम्रा मूल्य, मान्यता र दर्शन हामीले थाहा नपाउँदै मासिन्छ, राज्य पक्षले आफू इतरका मानिसहरूलाई केही पनि नदेख्ने, थाहै नपाई उनीहरूको संस्कृति, सम्पदा मास्ने वा निमोठ्ने प्रयास गरिरहेको छ ।’

धर्म विचार हो, एउटा विशिष्ट अवधारणा हो । विभिन्न समुदायका आ–आफ्ना अवधारणा छन्, धर्म छन्, सम्प्रदाय छन् । त्यसैले खुवालुङ फुटाउनु र पशुपति मन्दिरको शिवलिङ्ग फुटाउनु उस्ता–उस्तै हो । दुवै ढुंगा नै हुन् । तर, आस्था एउटै । शिवलिङ्ग हिन्दू समुदायको आस्था हो भने खुवालुङ किरात समुदायको आस्था हो ।

आस्था सबैको बराबरी हुन्छ । मानिसले आफ्नो आस्थालाई पुज्ने गर्छन् । जसरी खुट्टा टेक्नलाई एउटा धरातल आवश्यक हुन्छ, त्यसरी नै मानिसलाई पनि कुनै न कुनै आस्था चाहिन्छ । कसैको आस्थमाथि गरिएका प्रहार पनि गम्भीर अपराधको कोटीमा गनिनुपर्छ ।

नेपालमा विकास र सांस्कृतिक सम्पदालाई द्वन्द्वको विषय बनाइँदै छ । खुवालुङ मात्र नभई, देशका विभिन्न गाउँ–ठाउँमा विकासका नाममा आदिवासी भूमि, जीवनशैली, रहन–सहन र ज्ञानका मूर्त र अमूर्त पाटाहरु एकपछि अर्को गरी नाश गरिँदैछ । कहिले खोकना, कहिले कमलपोखरी त कहिले बालाजु बाइपासको सडक विस्तार र विकासको नाममा ।

यस्तो द्वन्द्व र टकरावका क्रममा एकपक्ष विकासको नाममा स्थानीय सांस्कृतिक सम्पदामाथि राज्यले सुनियोजित ढंगले अतिक्रमण गरेको छ । विकासलाई एउटा आँखाले मात्र हेर्नु हुन्न, खुवालुङले विकासलाई बाधा पुर्यायो भन्ने पनि लाग्न सक्छ । तर, त्यसलाई त्यसरी मात्र हेर्न हुँदैन । विकल्पहरू पनि खोजिनुपर्छ । त्यसले हाम्रो देशभित्रको सांस्कृति सौन्दर्यलाई अगाडि बढाउन सक्छ ।

प्रतिक्रिया दिनुहोस्