Logo
Logo

बाँस्कोटालाई लेखा समितिको सदस्य बनाइएकामा विरोध


दृष्टि संवाददाता


काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य गोकुल बाँस्कोटालाई सार्वजनिक लेखा समितिको सदस्य बनाइएकामा विरोध जनाएको छ ।

ट्रान्सपरेन्सीले सेक्युरिटी प्रेस खरिद प्रकरणमा आरोपित बाँस्कोटालाई लेखा समितिकै सदस्य बनाएपछि सो प्रकरणमा पदीय प्रभाव पर्ने निश्चित भएको भन्दै विज्ञप्तिमार्फत विरोेध जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘सेक्युरिटी प्रेस खरिद प्रकरणमा मन्त्रीको हैसियतमा बाँस्कोटाले ७० करोड रुपैयाँ घूस मागेको ‘अडियो टेप’ सम्बन्धी प्रकरणको छिनोफानो भइसकेको छैन । लेखा समितिले सेक्युरिटी खरिद प्रक्रिया र अडियो टेपका विषयमा थप छानबिन गरी भ्रष्टाचार मुद्दा लगाउन २०७६ फागुन ३० मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई फाइल पठाएको थियो ।’

विज्ञप्तिमा लेखा समितिले छानबिन गरी मुद्दा नचलाएको विषयमा आयोगसँग जानकारी मागिरहेको अवस्था रहेको भन्दै बाँस्कोटालाई लेखा समितिकै सदस्य बनाएपछि यो प्रकरणमा पदीय प्रभाव पर्ने निश्चित भएकाले बाँस्कोटालाई लेखा समितिमा पठाइनु सर्वथा अनुचित रहेको जनाएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी एमाले संसदीय दलको सो सिफारिस नेपाल सरकारको भ्रष्टाचार विरुद्धको ‘शून्य सहनशीलता’ नीतिको प्रतिकूल रहेको पनि ट्रान्सपरेन्सीले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्