Logo
Logo

अब कहिले उठ्ला फिल्म क्षेत्र ?


एमपी सुब्बा


‘के फेरि लकडाउन हुन्छ ?’ फिल्मकर्मीको मुखैमा झुण्डिएको प्रश्न हो यो । कफिशप वा सार्वजनिक कार्यक्रममा भेटिने अधिकांश फिल्मकर्मीको एउटै दुखेसो छ, ‘कोरोनाले खत्तमै बनायो । फिल्म क्षेत्र अब पहिलेकै अवस्थामा फर्केला त ?’

यस्ता चिन्ता र अपेक्षाबीच फिल्म क्षेत्र विस्तारै तग्रिँदै थियो । अर्थात्, कोरोना संक्रमणले थलिएको फिल्म क्षेत्र चल्मलाउन खोज्दैथियो । यसैबेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक सभा, जुलुस, भेला र भीडभाडजन्य व्यवसाय नगर्न आग्रह गरेको छ । सरकारको यस्तो आग्रहसँगै एक फिल्मकर्मीले सामाजिक सञ्जालमा स्टाटस लेखे, ‘बल्ल केही आशा जाग्दैथियो । फेरि यस्तो अपिल ? यस्तै पारा हो भने गाउँ गएर खेती किसानी गर्नुपर्ला ।’

नेपाली फिल्म क्षेत्रका प्रतिष्ठित निर्माता तथा निर्देशक कहलिएका ती निर्देशकको स्टाटसले फिल्मकर्मी तथा कलाकारलाई फेरि निराश बनाएको छ । झण्डै १० महिना ठप्पै भएको मनोरञ्जन तथा फिल्म क्षेत्र अब के हुन्छ ? भन्ने प्रश्न मनभरी गुम्साउँदै कलाकार काममा फर्किन तम्सिँदैथिए । तर, यसैबेला कोरोनाको दोस्रो लहरको जोखिमसँगै स्वास्थ्य मन्त्रालयले यसै साता विज्ञाप्ति निकाल्यो, र भन्यो, ‘भीडभाजन्य व्यवसाय बन्द गरौँ ।’ सरकारको यो आग्रहले मनोरञ्जन तथा फिल्म क्षेत्रमा पुनः निराशा छाएको छ ।

कोरोना महामारी नआएको भए यतिबेला मिडियामा धमाधम फिल्म समीक्षाहरु आइरहेको हुन्थ्यो । ‘बक्स अफिस’को लेखाजोखा र समीक्षाबारे फिल्मकर्मीहरु गफिरहेका हुन्थे । यदि, सामान्य अवस्था भएको भए नयाँ वर्षको अवसरलाई छोप्दै फिल्मकर्मीहरु आफ्नो फिल्म रिलिज गर्न हानाथाप र दौडधुपको चटारोमा भ्याइनभ्याइ हुन्थे । तर, माहोल यस्तो बन्यो कि गत वर्षझैँ यसपटक पनि नयाँ वर्षकै बेला फिल्मकर्मी निधारमा हात राखेर बस्न बाध्य छन् ।

२०७६ साल चैत १० गते अघिसम्म फिल्मकर्मीको दौडधुप र जोशजागर बेग्लै थियो । त्यसको एक वर्षपछि यस वर्ष त्योबेलाको जस्तो जोश नभएपनि आशाको पल्लाभारीसहित फिल्मकर्मीहरु फिल्डमा उत्रँदै थिए । तर, कोरोनाको दोस्रो लहरको जोखिमसँगै सरकारको आग्रहले फिल्म क्षेत्रलाई सुताइदिएको छ ।

तीन महिनाका व्यापार शून्य

झण्डै १० महिना बन्द रहेका सिनेमा हलहरु १० पुसबाट जबरजस्त खुलेका थिए । हल व्यवसायीले हल खुलाएपछि सरकारले २६ पुसमा केही सर्तसहित फिल्म गतिविधि सञ्चालन गर्न अनुमति दिएको थियो । सरकारको सर्र्त थियो, ‘संक्रमण दर बढेमा पुनः हल बन्द गर्ने, जनस्वास्थ्यका मापदण्डमा कडाइ गर्ने र ५० प्रतिशत अकुपेन्सीमा हल सञ्चालन गर्ने ।’

सरकारको तिनै सर्तमा तीन महिना फिल्म हल सञ्चालन भयो । तर, व्यापार शून्य । सिनेमा हल खुलाइए, दर्शक आएनन् । दर्शक नभएपछि नयाँ नेपाली फिल्म लगाउन छाडिएको थियो । तर, उनीहरुमा आशा थियो, ‘फेरि बन्द गर्ने अवस्था पक्कै नआउँला ।’ तर, अवस्था भिन्नै देखिएको छ अर्थात् आशा जगाउने बेलामा फिल्मकर्मीमा निराशा छाउने सरकारको सूचना आइसकेको छ ।

छिमेकी मुलुक भारतमा कोरोना भाइरसको दोस्रो लहर सुरु भएपछि नेपालमा पनि जोखिम बढेको छ । बल्ल नियन्त्रण हुँदै गएको संक्रमण पुनः संक्रमित दर बढ्दै गएको छ । जसका कारण स्वास्थ्य मन्त्रालयले जनस्वास्थ्यका मापदण्डमा कडाइ गर्न आग्रह गरेको छ ।

सरकारको यस्तो आग्रहसँगै प्रदर्शनको तयारीमा रहेका फिल्महरु स्थगित गर्न थालिएको छ । फिल्म ‘लप्पन छप्पन–२’ र ‘मनसँग मन’ले तत्काल रिलिज नगर्ने बताइसकेको छ भने छायांकनको तयारीमा रहेका निर्माता/निर्देशक पनि तत्काल फ्लोरमा नजाने मुडमा पुगेका छन् ।
कोरोनाको दोस्रो लहरको सम्भावित जोखिमका कारण निर्माताहरुमा चिन्ता बढेको छ ।

सिनेमा हल खुलाइए, दर्शक आएनन् । दर्शक नभएपछि नयाँ नेपाली फिल्म लगाउन छाडिएको थियो । तर, उनीहरुमा आशा थियो, ‘फेरि बन्द गर्ने अवस्था पक्कै नआउँला ।’ तर, अवस्था भिन्नै देखिएको छ अर्थात् आशा जगाउने बेलामा फिल्मकर्मीमा निराशा छाउने सरकारको सूचना आइसकेको छ ।

यसअघि १० महिनासम्म लकडाउनले प्रदर्शन रोकिएका करिब दुई दर्जन फिल्मले हल खुलेको तीन महिना बितिसक्दासमेत रिलिज मिति घोषणा गरेनन् । कारण थियो, जोखिम कायमै भएकोले दर्शक नआउने डर ।

हुन पनि कोरोना त्रास यथावत छ । जसका कारण फिल्मकर्मीले आफ्नो फिल्म रिलिज गर्न आनाकानी गर्दै आएका थिए । फिल्मकर्मीले ‘सामान्य अवस्था आउला र फिल्म लगाउँला’ भन्ने अपेक्षा गर्दागर्दै तीन महिना बित्यो । वितेको तीन महिना रिलिज भएका एकदमै सिमित फिल्मको पनि व्यापार शून्य रह्यो ।

यस बीचमा लकडाउनका कारण स्थगित भएका ‘परदेशी–२’, ‘चिसो मान्छे’, ‘ए मेरो हजुर–४’लगायत केही फिल्मले छायाँकन गर्न भ्याए । तर, अझै केही फिल्म फ्लोरमा जान सकेको छैन । चलचित्र निर्माता संघका अनुसार लकडाउनका कारण छायांकनमा जान नपाएका दुई दर्जनभन्दा बढी फिल्म छन् । ती फिल्महरु नयाँ वर्षसँगै फ्लोरमा जाने तयारी गर्दैछन् । तर, अवस्था कस्तो आउँछ, थाहा छैन । अहिलेसम्म सरकारले फिल्म क्षेत्र बन्द नै गर्न भनेको छैन । तर, पछिल्लो अवस्थालाई हेर्ने हो भने फेरि बन्द गर्ने अवस्था नआउला भन्न सकिन्न ।

फिल्म क्षेत्रको कालो वर्ष
कोरोना संक्रमणले विश्वव्यापी प्रभाव पारेको छ । जसले विश्व अर्थतन्त्रलाई समेत चौपट बनाएको छ । भारतका लागि बलिउड अर्थतन्त्रको प्रमुख हिंसामध्ये एक हो । त्यस्तै, अमेरिकाका लागि हलिउड । तर, कोरोनाले संसारकै ठूला फिल्म उद्योग मानिएको हलिउड र बलिउड नराम्ररी प्रभावित बनेँ ।

‘न्यूयोर्क टाइम्स’, ‘वालस्ट्रिट जर्नल’, ‘दि इकोनोमिक’जस्ता पत्रिका सन् २०२० लाई फिल्म दुनियाँका लागि ‘कालो वर्ष’का रुपमा टिप्पणी गरे । डिसेम्बर अन्तिममा ‘दि इकोनोमिक’ले आफ्नो आवरण पृष्ठमा फिल्म र मनोरञ्जन क्षेत्रलाई जोडेर लेखेको थियो, ‘मनोरञ्जनबाट वर्जित वर्ष’ ।
उक्त टिप्पणीले हलिउडलाई मात्र होइन, संसारलाई छोयो ।

काेरोनाका कारण रेष्टुरेण्ट, क्याफे, लाउन्जबार, क्लव र फिल्म क्षेत्र ठप्प हुँदा मानिसहरु मनोरञ्जनबाट पूर्णरुपमा वर्जित हुनुपरेको थियो । अहिले पनि विश्वका आधाभन्दा बढी देशहरुमा लकडाउन छ । ब्राजिल, बेलायत, अमेरिका, भारतलगायतका देशमा कोरोनाको दोस्रो लहर चल्दैछ ।

कोरोनाका कारण संसारकै दोस्रो ठूलो फिल्म उद्योग बलिउड तग्रिँन नपाउँदै पुनः धक्का लागेको छ । एक वर्षपछि लयमा फर्कदै गरेको बलिउडमा पुनः ठप्प हुने अवस्थामा पुगेको छ । भारतमा अहिले कोरोनाको दोस्रो लहर तिव्ररुपमा फैलँदैछ । जसको प्रभाव नेपालमा पनि परेको छ ।

बलिउड गिरावट
भारतीय मिडियाले उल्लेख गरेअनुसार कोरोना महामारीका कारण बलिउडमा अहिलेसम्मकै ठूलो गिरावट आएको छ । एउटा तथ्यांंकअनुसार सन् २०१९ मा ३६ हजारभन्दा बढी फिल्म छायाँकन भएको थियो । तर, कोरोना वर्ष अर्थात २०२० मा ६० भन्दा बढी प्रतिशत गिरावट भयो । उक्त तथ्यांक २५ वर्षयताकै न्यून भनिएको छ । बलिउड फिल्मको लेखाजोखा गर्ने ‘बक्स अफिस’ले फिल्म क्षेत्रको गिरावटले भारतको पूरै अर्थतन्त्रलाई असर परेको उल्लेख गरेको छ ।

नेपालमा फिल्म क्षेत्र ठप्प हुँदैमा अर्थतन्त्रमा खाशै असर पर्दैन । तर, सम्बन्धीत क्षेत्रमा काम गर्ने कलाकार र प्राविधिकले रोजगारी गुमाउनुपरेको छ । नेपाली फिल्म क्षेत्रमा करिब साढे पाँच हजारले प्रत्यक्ष रोजगारी पाउँदै आएको नेपाल चलचित्र प्राविधिक संघको तथ्यांक छ । एकैसाथ यतिका संख्यामा रोगगारी गुमाउनु नेपालजस्तो बेरोजगारी झेलिएको मुलुकका लागि ठूलो असर हो ।

१० महिना लकडाउन गर्दासमेत सरकारले कुनै राहत प्याकेज नदिएको गुनासो गरिरहेका बेला पुनः फिल्म क्षेत्र ठप्प हुने चिन्ताले फिल्मकर्मीलाई छोएको छ ।

प्रतिक्रिया दिनुहोस्