Logo
Logo

‘कम्युनिस्टले जनताको धार्मिक आस्थाप्रति उच्च सम्मान गर्छ’


दृष्टि संवाददाता


चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्टहरुले धर्म–संस्कृति मान्दैनन् भन्नु बिल्कुलै झुटो रहेको बताएका छन् ।

आइतबार चितवन माडीस्थित अयोध्यापुरीमा निर्माण गर्न लागिएकाे रामधाम क्षेत्रको अवलोकन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । उनले भने, ‘कम्युनिस्टले पनि जनताको धार्मिक आस्थाप्रति उच्च सम्मान गर्छ । कम्युनिस्ट धर्म–संस्कृति मान्दैनन् भन्छन्, त्यो बिल्कुल झुटो प्रचार हो ।’

अध्यक्ष प्रचण्डले ६० वर्ष पुगेपछि मान्छे मार्छन् भनेजस्तै कम्युनिष्टले धर्म संस्कृति मान्दैनन् भन्नु गलत कुरा भएको बताए । उनले जनताको जीवनस्तरलाई समृद्ध बनाउने कुरामा कम्युनिस्टहरु झनै बढी जिम्मेवार र संवेदनशील हुने दावी गरे ।

अयोध्यापुरीमा रामको जन्मभूमि भन्ने विषय प्रमाणित गर्नुपर्ने पनि उनले बताए । आफ्नै निर्वाचन क्षेत्रमा अयोध्याधामको चर्चाले निकै खुसी भएको जनाउँदै प्रचण्डले भने, ‘यसलाई गम्भीर अनुसन्धान गर्नुपर्छ, प्रमाणित गरिनुपर्छ र आधिकारिकता दिनुपर्छ । अनुसन्धानबाट प्रमाणित भयो भने यसबाट ठूलो उपलब्धि हासिल हुनेछ ।’

जनताको आस्था, भावना र संवेदनासँग सम्बन्धित ऐतिहासिक, पौराणिक र परम्परासँग जोडिएका विषयमा सस्तो लोकप्रियता प्राप्तिका लागि काम गर्न नहुने बताएँदै अध्यक्ष प्रचण्डले भने, ‘यस्ता कुरामा झनै संवेदनशील हुन आवश्यक छ ।’

प्रतिक्रिया दिनुहोस्