Logo
Logo

शोकमा नेकपा


- दृष्टि न्युज/संवाददाता


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) यतिबेला शोकमा छ । पार्टीका अभिभावकसरहका व्यक्तित्व पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारी र लोकप्रिय युवा नेता तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको तीन दिनको अन्तरालमा निधन भयो । १५ फागुनमा ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परेर रवीन्द्र अधिकारीले भौतिक शरीर छाडेको तीन दिनपछि १८ फागुनमा काठमाडौंको ह्याम्स हस्पिटलमा नेपाली कम्युनिष्ट आन्दोलनका अग्रज भरतमोहन अधिकारीले विश्राम लिए । यतिबेला सिंगो पार्टीले विकासप्रेमी, प्रचुर सम्भावना बोकेका एकजना भरोसायोग्य युवा नेता र सिंगो आन्दोलनको साक्षी अर्का अभिभावक गुमाएको छ । महान् नेपाली सर्वहारा वर्गको मुक्तिआन्दोलनको एक पक्षधर हुनुको नाताले दृष्टि साप्ताहिक पनि दुई सुयोग्य नेताको निधनबाट मर्माहत भएको छ । हुन तः मृत्यु शाश्वत सत्य हो । समयको कुनै त्यस्तो प्रहर छैन, जहाँ मृत्यु नहोस् । गाउँ–बस्ती वा त्यस्तो कुनै सहर छैन, जहाँ मृत्यु नपुगेको हो । त्यसैले मृत्यु, सधैँ अप्रिय लाग्छ । कुनै कुनै मृत्यु यति अप्रिय हुन्छ कि त्यसले सिंगो देशलाई रुवाउँछ । अर्थात्, कुनै कुनै मृत्युमा सिंगो देश मर्माहत हुन्छ । गत साता त्यस्तै बन्यो ।
‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने लक्ष्य लिएको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका एक होनहार सारथी रवीन्द्रले अल्पायुमै जीवन टुंग्याउँदा लाखौँका आँखा रसाए । २०३५ सालमा पार्टीको संगठित सदस्यता प्राप्त गरेयता उनी अनवरत देश, जनता र कम्युनिष्ट पार्टीको सेवामा लागिरहे । पार्टीको रेडगार्ड अर्गनाइजेसन, इलाका कमिटी, नगर कमिटी हुँदै उनले दुई कार्यकाल कास्की जिल्ला कमिटीको नेतृत्व गरे । पछिल्लो नवौँ महाधिवेशनबाट उनी पार्टीको राष्ट्रिय परिषद् सदस्य, अञ्चल कमिटी सदस्य, राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य, केन्द्रीय पार्टी स्कुल विभाग र संसदीय विभागको सदस्य हुँदै उनले केन्द्रीय कमिटी सदस्यको जिम्मेवारी पनि निभाए । त्यस्तै, २०६४ यता लगातार तीन कार्यकाल मतदाताको मत जितेर दुईवटै संविधानसभा र पछिल्लो प्रतिनिधिसभा सदस्य बनेका थिए । पार्टीप्रति उनको निष्ठा, परिपक्वता र बढ्दो लोकप्रियताका कारण पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले उनलाई आफ्नो क्याबिनेटमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनजस्तो महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सुम्पिएका थिए । त्यसअघि पनि उनले संसद्का विकास समितिहरूमा सदस्य तथा सभापतिका रूपमा निष्ठापूर्वक जिम्मेवारी पूरा गरी सबैको मन जितेका थिए ।
उनले मन्त्री भएपछि मन्टियल सन्धि संसद्बाट पास गरी कार्यान्वयनमा ल्याए । यसले अन्तर्राष्ट्रिय हवाई दुर्घटनामा नेपालको बिमा २० लाख रुपैयाँबाट डेढ करोडभन्दा माथि पुग्यो । राष्ट्रिय गौरवका रूपमा घोषित भैरहवा, पोखरा, निजगढ विमानस्थल निर्माणमा देखिएका अल्झन फुकाउन महत्वपूर्ण भूमिका खेले । छोटो कार्यकालमै सर्वाधिक पर्यटक नेपाल भित्र्याउन उनी सफल भए । यस्तै, नेपाल भ्रमण वर्ष २०२० को आधार तयार पारे, पर्यटन व्यवसायीमा आत्मविश्वास बढाउन ठूलो भूमिका खेले भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई २१ घन्टा सञ्चालन गराए । उनकै पहलमा धनगढी र चन्द्रगढी विमानस्थलमा रात्रिकालीन उडान सुरु भए । आन्तरिक नेपाली वायुसेवा कम्पनीले रात्रिकालीन विमान उपत्यकाबाहिर बस्ने गरी काम सुरु गरे । यसले त्रिभुवन विमानस्थलको चाप घटाउन भूमिका खेल्यो । अझ कयौँ योजना पूरा हुन बाँकी रहँदै उनी सदाका लागि बिदा भए ।
उता, पछिल्लो समय पार्टीको सक्रिय भूमिकामा नभए पनि पार्टीलाई मार्गनिर्देश गरिरहने अभिभावकतुल्य नेता भरतमोहनले पनि देश, जनता र पार्टीको हितमा आफ्नो सम्पूर्ण जीवन उत्सर्ग गरे । एकतन्त्रीय जहानीया राणाशासन, कठोर पञ्चायत हुँदै सबै राजनीतिक संघर्षमा आफूलाई अग्रमोर्चामा उभ्याएका उनले राजनीतिक परिवर्तनपछि प्राप्त अवसरलाई तल्लो वर्गको आर्थिक जीवन माथि उठाउने काममा समर्पित गरे । त्यही क्रममा २०५१ सालमा बनेको पहिलो कम्युनिष्ट सरकारमा उनले अर्थमन्त्रालय सम्हालेका थिए । जम्मा नौ महिना चलेको त्यो सरकारको चर्चा अहिले पनि चल्नुको एउटा मुख्य कारण त्यसबेला उनले ल्याएको जनपक्षीय बजेट पनि थियो । ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ कार्यक्रममार्फत् उनले प्रत्येक स्थानीय निकायलाई दिएको तीन–तीन लाख रुपैयाँ, सामाजिक सुरक्षाअन्तर्गत वृद्धवृद्धा र एकल महिलालाई दिइएको मासिक एक सय रुपैयाँ भत्ताले आममानिसको मनमा कम्युनिष्ट सरकारको अमिट छाप बसाइदियो । कम्युनिष्ट सरकार कठोर हुन्छ, काम गर्न नसक्ने उमेरमा पुगेका जेष्ठ नागरिकलाई डोजर लगाएर कत्लेआम गर्छ, जेलनेलमा सडाउँछ भनी कम्युनिष्टहरूका विरुद्धमा छरिएका सबै भ्रम त्यही सरकारका कारण चिरिएको थियो । पटकपटक गरी चारपटक अर्थमन्त्री बनेका उनले सम्पत्तिमा महिलाको हक स्थापित गर्न, कृषिको व्यवसायिकरण गर्न, साना लगानीका उद्योगहरूका माध्यमबाट रोजगारी सिर्जना गर्न, मुलुकलाई आत्मनिर्भर बनाउन थुप्रै योजना सार्वजनिक गरेका थिए । तर, राजनीतिक संघर्ष, संक्रमण र खिचातानीका कारण उनका सबै योजना पूरा हुन सकेनन् । तै पनि उनले आधार तयार पारेर गएका छन् । कमजोर आर्थिक अवस्था र न्युन आय भएकाहरूलाई माथि नउठाएसम्म मुलुकको समृद्धि सम्भव छैन भन्ने अठोट जीवनका अन्तिम दिनमा पनि उनमा देखिन्थ्यो ।
दुवै नेता भौतिक रूपमा हाम्रोबीचमा छैनन् । तर, उनीहरूका जीवनका आदर्श हाम्रोबीचमै छ । उनीहरूले देखेका, कल्पना गरेका र पूरा गर्न प्रयत्न गरेका सपना साकार पार्न सकियो भने मात्र उनीहरूप्रति सच्चा श्रद्धाञ्जली हुनेछ । दृष्टि परिवार नेताद्वयले देखाएको आदर्श मार्गलाई सधैँ पछ्याइरहनेछ । हार्दिक श्रद्धाञ्जली ।

प्रतिक्रिया दिनुहोस्