Logo
Logo

खुवालुङ फुटाउने सरकारको घोषणा, प्रतिकार गर्ने सरोकारवालाको चेतावनी


प्रकाश चाम्लिङ


काठमाडौं । केपी शर्मा ओली नेतृत्वको कामचलाउ सरकारले नयाँ आर्थिक बर्षको बजेटमा विभिन्न विवादास्पद कार्यक्रमहरु सार्वजनिक गरेको छ । शनिबार अध्ययादेशमार्फत सार्वजनिक गरेको बजेटमा ताप्लेजुङको सुकेटार विमानस्थललाई ‘रवीन्द्र विमानस्थल’ बनाउने घोषणा गरेपछि स्थानीयस्तरदेखि विशिष्ट व्यक्तिहरुले नै विरोध गरेका छन् ।

यस्तै सरकारले किरातीहरुको आस्थासँग जोडिएको सप्तकोसीस्थित ‘खुवालुङ’लाई पनि नयाँ बजेटमार्फत फुटाउने नीति ल्याएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष बजेट प्रस्तुत गर्दै खुवालुङ हटाउन सक्ने नीति सार्वजनिक गरेका हुन् ।

आगामी आर्थिक वर्षदेखि कोसी, नारायणी र कर्णालीमा पानीजहाज सञ्चालन गर्नका लागि रकम विनियोजन गरिएको र कोसी नदीको चतरादेखि भोजपुरसम्म जलयातायात सञ्चालन गर्न जलमार्गमा रहेको अवरोध हटाइने सक्ने सार्वजनिक बजेटको बुँदा नं ३६५ मा उल्लेख छ ।

यस्तो छ बजेटको बुँदा नं ३६५ मा
‘देशको ठूला नदी प्रणालीमा जलयातायात सञ्चालन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहुँच अभिवृद्धि गरिनेछ । नारायणी नदीको त्रिवेणी–नारायणगढ–देवघाट–दासढुंगा खण्डलाई मदन–आश्रित जलमार्ग नामाकरण गरिनेछ । आगामी आर्थिक वर्षदेखि कोसी, नारायणी र कर्णाली नदीमा पानीजहाज सञ्चालनका लागि टर्मिनल लगायतका पूर्वाधार निर्माण गर्न आवश्यक रकम विनियोजन गरेको छु । कोसी नदीको चतरादेखि भोजपुरसम्म जलयातायात सञ्चालन गर्न जलमार्गमा रहेका अवरोध हटाइने छ ।’


बजेटमा जलमार्गका अवरोध हटाउने घोषणा गरेपछि खुवालुङ संरक्षण पक्षधर तथा किरात समुदायका अगुवाले विरोध जनाउन थालेका छन् ।

केहि महिना अघि पनि एक सभामा प्रधानमन्त्री केपी ओलीले जेटबोट चलाउन तगारो बनेको भन्दै सप्तकोशी माझमा रहेको खुवालुङ (ढुंगा)लाई क्रेन लगाएर फुटाउने अभिव्यक्ति दिएपछि किराँती समुदायले विरोध गरेका थिए । त्यसलगत्तै किरातीहरुले खुवालुङ फुटाउन खोजे राज्यसँग मुठभेड हुन सक्ने चेतावनी समेत दिएका थिए । खुवालुङको रक्षार्थ ‘खुवालुङ सरोकार समूह’समेत गठन गरिएको थियो ।

ओलीले के भनेका थिए ?
प्रधानमन्त्री ओलीले गत फागुन ८ गते विराटनगरमा आयोजित आमसभामा खुवालुङलाई इंगित गर्दै उक्त ढुंगो क्रेन लगाएर फुटाउने र पानीजहाज चलाउने नदीको बाटो क्लियर गर्ने बताएका थिए ।

ओलीले भनेका थिए– ‘मैले हावाबाट बिजुली निकाल्ने भन्दा केही मान्छेहरु हावादारी कुरा भयो भन्दै हिडे, मैले हाम्रा नदीहरुलाई आवागमनको बाटो बनाउनुपर्छ भन्दा बाल्टीमा कागजका पानीजहाज बनाएर खेलाएर हिडे । अहिले यहि सप्तकोसीमा स्टिमरहरुले ११ मिनेटमा भोजपुर पुर्याउँछ । चतराबाट ११ मिनेटमा भोजपुर पुर्याउँछ, ११ मिनेटमा चतरा ल्याइपुर्याउँछ, हामी त्यसको विकास गर्दैछौं । त्यहाँ बाधा भएको एउटा ढुंगो, त्यसलाई क्रेन लगाएर फुटाउँदैछौं र नदीको बाटो क्लियर गर्दैछौं ।’

प्रधानमन्त्रीले नै खुवालुङ फुटाउने अभिव्यक्ति दिएपछि खुवालुङ संरक्षणको पक्षमा आन्दोन भएको थियो । यसबीच साहित्यकार राजन मुकारुङले खुवालुङ फोर्ने नीतिगत निर्णय भएको भन्दै चनाखो हुनुपर्ने बताएका छन् ।

सामाजिक सञ्जालमा उखले लेखका छन्- ‘कोशी नदीको चतरादेखि भोजपुरसम्मको जलमार्गको अवरोध हटाइनेछ, भनेको नीतिगत रूपमै खुवालुङ फोरिनेछ भनिएको पनि त होला कि कसो हो ? चनाखो बसुङ है ।’

आदिवासी किरात समुदायको पहिचानसँग जोडिएको आस्थाको केन्द्रमा राज्यबाट प्रहार निरन्तर रहे आदिवासी समुदायबाट प्रतिकार हुनसक्ने आदिवासी आधिकारकर्मीले चेतावनी दिएका छन् ।


यो पनि पढ्नुस्

प्रतिक्रिया दिनुहोस्