Logo
Logo

राज्य अतिक्रमणको प्रतिरोध गर्न महासंघको आह्वान


प्रकाश चाम्लिङ



काठमाडौं । सरकारले बजेटमार्फत बिकासको नाममा आदिवासीको आस्थामाथि प्रहार गर्ने नीति अललम्बन गरेको भन्दै आदिवासी जनजातिजन्य संघसंस्थाले विरोध जनाएका छन् ।

यसै क्रममा आदिवासी जनजाति साहित्यकार/लेखक महासंघले विज्ञप्ति जारी गर्दै सरकारले बजेटमार्फत नश्लीय राज्यसत्ताको नाङ्गो अनुहार देखाएको भन्दै भत्सर्ना गरेको छ ।

महासंका अध्यक्ष राजन मुकारुङ र महासचिव बुद्ध योन्जन लामाद्धारा जारी विज्ञप्तिमा भनिएको छ– ‘कुनै एक जातिको धार्मिक आस्थालाई राष्ट्रीय सम्पदा नै मानेर जोगाउन अर्बौं खर्च गर्ने तर आफ्नै देशका अन्य जातिहरूका आस्थागत सम्पदाहरूलाई भने विकासको नाम दिएर विनाश गर्ने योजना बनाउनु सरासर नश्लीय चिन्तनले उब्जाएको विभेद हो ।’

सरकारले बजेटमार्फत किरातीहरुको आस्थासँग जोडिएको सप्तकोसीस्थित ‘खुवालुङ’लाई फुटाउने नीति ल्याएको, ताप्लेजुङको सुकेटार विमानस्थलको नाम परिवर्तन गरी ‘स्वर्गीय रवीन्द्र अधिकारी विमानस्थल’ बनाएको र तेह्रथुमको चुहानडाँडा विमानस्थलको नाम परिवर्तन गरेर ‘स्वर्गीय आङछिरिङ शेर्पा विमानस्थल’ बनाएको प्रति महासंघले गम्भीर ध्यानाकर्षण भएको भन्दै विज्ञप्तिमार्फत विरोध गरेको छ ।

सरकारले विकासको नाममा खोकनामाथि अतिक्रमण गर्ने, खुवालुङ नस्ट गर्ने, मुक्कुम्लुङमाथि औपनिवेश लाद्ने, आदिवासीहरूको चिहान चौताराहरूमाथि डोजर लगाउने जस्ता हर्कतहरू निरन्तर भइरहेको र यसपटक बजेटमार्फत झनै बढेको भन्दै यस्ता कार्य तत्काल बन्द गर्न समेत महासंघले विज्ञप्तिमार्फत माग गरेको छ ।

ओली सरकारले ल्याएको बजेट एकल नश्लीय र तानाशाही रहेको भन्दै महासंघले आदिवासी जनजातिहरूको उपहास गर्ने किसिमका योजनाहरू तुरुन्त सच्याउन भनेको छ । साथै, राज्यको एकल जातिवादी, नश्लवादी, पुँजीवादी अतिक्रमणविरुद्ध मोर्चाबद्ध भई प्रतिरोध गर्न महासंघले आम नागरिकसँग आह्वान समेत गरेको छ ।

महासंघद्धारा जारी विज्ञप्ति

यो पनि पढ्नुस्

प्रतिक्रिया दिनुहोस्