कसरी प्रयोग गर्ने सनस्क्रीन ? « Drishti News – Nepalese News Portal
Logo

कसरी प्रयोग गर्ने सनस्क्रीन ?


डा. रेखा थापा


छालाको स्याहारमा नभइ नहुने सामग्रीमध्ये एक सनस्क्रीन हो । सनस्क्रीन एउटा यस्तो वस्तु हो जसले छालालाई सूर्यको हानिकारक विकिरणबाट जेगाउँछ ।

यसले छालामा सूर्यको हानिकारक विकिरणबाट हुन सक्ने समस्याहरु– चाया–पोतो दाग धब्बा, प्रीमेच्योर, चाउरीपन तथा क्यान्सरबाट बचाउँछ । आज हामी छालाको सुरक्षाका लागि प्रयोग गरिने सनस्क्रीनबारे चर्चा गर्नेर्छौँ । त्यो भन्दा पहिले सूर्यको विकिरणबारे चर्चा गरौं ।

सूर्यको विकिरण के हो ?

सूर्यको उज्यालोमा विकिरणहरु हुन्छन् । सूर्यको विकिरण तीन प्रकारका हुन्छन् । यूभीए, यूभीबी र यूभीसी । यूभीए र यूभीबीले छालालाई प्रत्यक्ष प्रभाव पार्दछ ।

सूर्यको विकिरणले छालालाई कसरी प्रभाव पार्छ ?

यूभीए : यूभीएको वेभलेन्थ सबैभन्दा लामो हुन्छ । त्यसैले यो भित्री तह (डर्मीस)सम्म पुग्छ । यसले छालालाई डढाउँदैन तर कोषिकाहरुलाई ड्यामेज गराउँछ र समयभन्दा अगाडि नै छाला चाउरी पर्छ ।

यूभीबी : यसले छालाको बाहिरी तह (इपिडर्मीस)लाई प्रभाव पार्दछ । जसकारण छाला डढ्छ र रातो हुने, कालो दाग धब्बा आउने चाया–पोतो आउने र क्यान्सर हुने सम्भावना हुन्छ ।

यूभीसी : यूभीसीले पनि केही मात्रामा छालाको बाहिरी भागलाई प्रभाव पार्दछ । यसबाट छाला डढ्छ ।

सनस्क्रीन कस्तो हुनुपर्छ ?

सनस्क्रीन क्रिम, लोसन र जेलको रुपमा उपलब्ध हुन्छ । सुख्खा छालाको लागि क्रिम वा लोसन प्रयोग गर्नुपर्छ भने चिल्लो छालाको लागि जेल प्रयोग गर्नुपर्छ । धेरैजसोले विज्ञापनको आधारमा सनस्क्रीन किन्ने गरेको पाइन्छ । त्यसमा प्रयोग गरिएका तत्वबारे धेरैका ध्यानै जाँदैन । त्यो सरासर गलत हो ।

सनस्क्रीनमा सूर्यको विकिरण यूभीए र यूभीबीलाई रोक्न सक्ने तत्व ‘जिन्क अक्साइड र टाइटनियम अक्साइड’ प्रयोग भएको हेर्नुपर्छ । साथै, एस.पी.एफ. पनि हेर्नुपर्छ । बजारमा विभिन्न कम्पनीका १५ देखि १०० एस.पी.एफ. सम्मका क्रिमहरु पाइन्छ । एस.पी.एफ. भनेको ‘सन प्रोटेक्सन फ्याक्टर’ हो । एफ.पी.एफको आधारमा क्रिमहरुले प्रदान गर्ने सुरक्षाको मापन गरिन्छ ।

कति एस.पि.एफ.को क्रिम लगाउने भनेर धेरै मानिस दुविधामा परेको पाइन्छ । उपयुक्त एस.पि.एफको क्रिम चयन गर्न छालाको ‘एम.इ.डी. टाइम’ जान्नुपर्छ । एम.इ.डी भनेको ‘मिनीमम इराथमेटिक डोज’ हो । अर्थात, सनस्क्रीन नलगाइ घाममा निस्कदा कति समयमा हाम्रो छाला रातो हुन थाल्छ भन्ने मापन हो ।

छालाको एम.इ.डी समयले सनस्क्रीनमा भएको एस.पि.एफ. गुणन गर्दा जति आउछ त्यति नै मिनेट त्यो क्रिमले छालालाई सुरक्षा प्रदान गर्छ । अर्थात्, कसैको छाला घाममा निस्केको ५ मिनेटमा रातो हुन्छ भने र उसले ३० एस.पि.एफ.को सनस्क्रीन लगाउँदा (५ गुणन ३० गर्दा) १५० मिनेटसम्म सुरक्षा प्रदान गर्न सक्छ । त्यसपछि सनस्क्रीन पुनः प्रयोग गर्नुपर्छ ।

घर बाहिर निस्कदा कमसेकम ३० एस.पि.एफ.को सनस्क्रीन प्रयोग गर्नुपर्छ । घरभित्रै बस्दा पनि सूर्यको उज्यालोमा विकिरणहरु हुने भएकोले सनस्क्रीन लगाउन जरुरी हुन्छ ।

सनस्क्रीनले कसरी काम गर्छ ?

सनस्क्रीन दुई प्रकारको हुन्छ । फिजिकल सनस्क्रीन र केमिकलल सनस्क्रीन । फिजिकल सनस्क्रीनले घामको किरणलाई परावर्तन गर्दछ भने केमिकल सनस्क्रीनले घामको विकिरणलाई सोस्ने काम गर्छ । यी दुवैले हाम्रो छालालाई बचाउँछ ।

हामीले सामान्यतया प्रयोग गरिने सनस्क्रीन केमिकल सनस्क्रीन हो । यस्तो सनस्क्रीनले छालामा सेट भएर काम गर्न केही समय लाग्छ । त्यसैले, घाममा निस्किनुभन्दा कमसेकम १५ मिनेट अगाडि लगाउनुपर्ने हुन्छ । सनस्क्रीन अनुहारमा मात्रै नभएर कपडाले नढाकिएको सबै भागमा लगाउनुपर्छ ।

कसले र कति लगाउने ?

धेरैजसो मानिसमा सानै उमेरबाट सनस्क्रीन लगाउन हुँदैन भन्ने भ्रम छ । तर घामको किरणले सबैलाई उत्तिकै प्रभाव पार्ने भएकोले एकदमै सानो बच्चाहरु बाहेक सबैले सनस्क्रीन लगाउन उचित हुन्छ ।

कति लगाउने भन्नेमा पनि दुविधा पाइन्छ । साधारणतया आवश्यकभन्दा कम मात्रामा सनस्क्रीन प्रयोग गरेको पाइन्छ । पुनः प्रयोग त कमैले मात्र गर्छन । सनस्क्रीन लगाउन लोभ गर्न हुँदैन । आवश्यक मात्रा नलगाए त्यसबाट पाउनुपर्ने फाइदा पाइदैन । हरेक २ या ३ घण्टामा पुनः प्रयोग गर्नुपर्ने हुन्छ ।

सनस्क्रीनले छालामा नकरात्मक असर गर्छ ?

सनस्क्रीन बनाउन विभिन्न केमिकल प्रयोग गरिएको हुन्छ । कुनै केमिकलहरु छाला अनुकुल नहुनसक्छ । छालालाई संवेदनशील बनाउन सक्छ । चिलाउने, पोल्ने, रातो हुने, फोका आउनेजस्ता समस्या आउनसक्छ । यस्तो समस्या भए प्रयोग बन्द गर्नुपर्छ । सनस्क्रीनले असर गरे चिकित्सकसँग सल्लाह लिएर मात्र प्रयोग गर्नुपर्छ ।

घामको किरणबाट छालाले भिटामिन–डी प्राप्त गर्छ । तर, १० बजेदेखि २ बजेसम्मको घाममा ज्यादा हुने भएकोले छालालाई असर पनि गर्छ । त्यसैले, अनिवार्य सनस्क्रीन लगाउनुपर्छ । यद्यपि, सनस्क्रीनले १०० प्रतिशत सुरक्षा दिन भने सक्दैन । त्यो अवधिमा घाममा निस्कनु परे सम्पूर्ण शरीर ढाक्ने कपडा, ह्याट र चस्मा लगाउनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्