Logo
Logo

नेपाली कम्युनिष्ट आन्दोलनको दुर्गति


शम्भु श्रेष्ठ


सोच्दैछु, म किन कम्युनिष्ट भएँ ? यसको जवाफ चिनियाँ राष्ट्रपति सी जिनपिङले असार १७ गते नेपालका कम्युनिष्टहरुलाई साक्षी राखेर विश्वका १६० देशलाई दिइसकेका छन् ।

सन् १९४९ मा माओले क्रान्ति गरेदेखि अहिलेको अवस्थासम्म आइपुग्दा चीन विश्वको समृद्ध मात्र होइन, विश्व शक्तिको रुपमा उदाएको छ । राष्ट्रपति सीको भाषणमा प्रयोग भएका शब्द सुन्दा पनि अबको विश्व शक्ति चीन हो भन्ने कुरा आकलन गर्न सकिन्छ ।

चीनबाट सुरु भएको कोरोना संक्रमणले आज विश्व आक्रान्त छ । विश्वको अर्थतन्त्र डामाडोल छ । तर, चीनले त्यसको समयमै व्यवस्थापन गरेको छ । भ्याक्सिन आफैँले उत्पादन गरेर विश्वको जनताको जीवनरक्षामा चीन लागेको छ । चीनका लागि कोरोना संक्रमण चुनौती त छँदै थियो, अवसर पनि बन्यो । आज चीन कोरोनामुक्त देश भइरहँदा विश्वका कतिपय विकसित देशहरु कोरोना संक्रमणबाट मुक्त हुन सकेका छैनन् । कोरोनाविरुद्ध विश्वका सबै देश एक भएर लड्नुपर्ने सन्देश राष्ट्रपति सीले ‘भर्चुअल’ माध्यमबाट दिएका छन् ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई साक्षी राख्दै चिनियाँ कम्युनिष्ट पार्टीको स्थापनाको सय वर्षमा चिनियाँ जनताले हासिल गरेका उपलब्धि सुनाइरहँदा ‘गुच्चा’ खेल्ने उमेरमा कम्युनिष्ट बनेका हाम्रा नेताहरुले के अनुभूति गरे होलान् ? चिनियाँ क्रान्तिको प्रभावमा नेपालमा कम्युनिष्ट आन्दोलनको अंकुर फस्टायो ।

७० वर्षपछि नेपाल कम्युनिष्ट पार्टीले दुईतिहाइ मत पायो । यो चानचुने उपलब्धि थिएन । यो नेपालका कम्युनिष्ट पार्टीलाई देश बनाउने एउटा अवसर थियो । तर, त्यसलाई हामीले जोगाउन सकेनौं । इतिहासमै हामी कम्युनिष्टहरु ‘नालायक’ सावित भएका छौं । एउटा सामान्य कम्युनिष्ट कार्यकर्तामा हुनुपर्ने गुण पनि हामीमा छैन । तर पनि भन्दैछौँ, हामी कम्युनिष्ट हौं ।

छिमेकी देश चीनले बडो गर्वका साथ विश्वलाई आफ्नो प्रगति सुनाइरहँदा नेपाली कम्युनिष्ट आन्दोलन दुर्गतितर्फ मोडियो ।

चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण अत्यन्तै सफल रह्यो । दुईतिहाइ सहितको कम्युनिष्ट पार्टी आफ्नै छिमेकमा देख्न पाउनु राष्ट्रपति सीको लागि पनि कम्ती खुशीको कुरा थिएन । त्यसैले राष्ट्रपति सीले सोल्टी होटलमा आयोजित रात्रिभोजलाई सम्बोधन गर्दा– ‘राजनीतिक स्थायित्व, सामाजिक सद्भाव र यहाँका जनताको सुखी जीवन देख्दा ममा नेपाली जनताको भविष्यप्रति आशा जागेको छ । नेपाल र चीनबीच मित्रताबाहेक अरु केही समस्या छैन । विकास र समृद्धिका लागि हामीले पुस्तौंपुस्तासम्म सहकार्य गर्नेछौँ’ भनेका थिए ।

त्यसै सन्दर्भमा प्रधानमन्त्री ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनाललाई साक्षी राखेर राष्ट्रपति सीले ‘एउटा क्रान्तिले मात्र हामीले समृद्धि हासिल गरेका होइनौं । चिनियाँ कम्युनिष्ट पार्टीको सफलताका पछाडि कम्युनिष्ट पार्टीको चिनियाँ जनतासँगको निरन्तर सम्पर्क र सम्बन्ध हो । राज्य भनेका जनता हुन्, जनता भनेका राज्य हुन् ।

त्यसैले समृद्ध नेतपाल, सुखी नेपाली चाहना पूरा गर्न निरन्तर जनताको सेवामा लाग्नुपर्छ । देशलाई सुशासनतर्फ डोहोर्याउनुपर्छ । र, आर्थिक समृद्धि हासिल गर्न हामी दुई कम्युनिष्ट पार्टी मिल्नुपर्छ’ भनेका थिए । तर आज पाँच वर्षका लागि निर्वाचित दुईतिहाइको कम्युनिष्ट सरकार ढल्यो । दुईतिहाइ बहुमत भएको कम्युनिष्ट प्रधानमन्त्रीले सार्वभौम संसद् भंग गर्दै तहसनहस पारे । चीनसँग गरेका सम्पूर्ण सहमति, सम्झौता अलपत्र परेको छ ।

छिमेकी देश चीनले बडो गर्वका साथ विश्वलाई आफ्नो प्रगति सुनाइरहँदा हामी भने पार्टी विभाजनको पीडामा छौं । कम्युनिष्ट पार्टीको सरकारले कोरोना संक्रमणका बेला नेपाली जनताको जीवन रक्षामा ध्यान दिएन । कोरोना संक्रमणमा नेताहरु घर झगडामै व्यस्त भए । यो घर झगडा हाम्रो लागि मात्र होइन, छिमेकी चीनका लागि पनि चिन्ताको विषय बन्यो ।

काठमाडौँस्थित चिनियाँ राजदूतले नेपाल कम्युनिष्ट पार्टीको एकता जोगाउन घरदैलो गरिन् । राजदूतको एक मात्र चाहना एकता जोगाउनु थियो । तर, त्यो एकता जोगाउँदा आफ्नो भविष्य खतरा देखेर ओलीले संसद् नै भंग गरिदिए । अर्को छिमेकीको इशारामा सत्ता जोगाउन खोज्दा आफैँ सत्ताबाट बाहिरिए । आफू त जोगिन सकेनन् नै, सिंगो एमाले पार्टी पनि विभाजन प्रयासमा लागेका छन् । चिनियाँ कम्युनिष्ट पार्टीको ७० वर्षे प्रगति र नेपाल कम्युनिष्ट पार्टीको ७० वर्षे दुर्गति यही नै हो ।

प्रतिक्रिया दिनुहोस्