Logo

रोकिएन मुग्लान पस्नेको लर्को


हिक्मत बम


धनगढी । पिठ्युँमा झोला, हातमा सानो छोरी र साथमा श्रीमती लिएर त्रिनगर नाकामा लाइनमा थिए, बैतडीका अर्जुन कुँवर ।स्वदेशमा रोजगारीका अवसर नपाएपछि श्रीमतीसहित उनी भारत गइरहेका थिए । नाकामा भारत जानेहरूको लर्कोले भिडभाड थियो ।

दिउँसो टन्टलापुर गर्मीमा पनि उनको परिवार लाइनमा थियो । ‘यहाँ बसेर के गर्ने परिवारको छाक टार्नै मुस्किल भएपछि, उनले भने, ‘गत वर्ष भारतबाटै फर्किएको थिए, अब स्वदेशमै केही गर्ने भनेर एक वर्ष घरै बसे, कार्यालयमा जागिर खानको लागि धेरै पढेको छैन, अरू काम केही पाएन, ६ महिना बिजुलीका पोल बोक तर दिनको तीन सय पारिश्रमिक मात्र पाए, त्यसले परिवारको छाक पनि टार्न सकिएन ।’

उखरमाउलो गर्मीले होला सायद, छोरी रुँदै थिइन्, उनकी आमा पार्वती छोरीलाई काखमा समाउँदै फकाउँदै थिइन् । ‘छोरी भुलाउँदै गरेकी उनले भने, ‘म त पहिलो पटक बुढासँग भारत जादैँछु, घरमा म एक्लै, गाउँकै साहुको तीन लाख ऋण छ, म यहाँ के गरेर बस्नु, दुवै मिलेर ऋण तिरौला भनेर म पनि जादैँछु, खाना पकाउने, भाडा धुने काम त म पनि गर्न सक्छु, कमाइ कसो नहोला र !’

रोजगारीका लागि भारत जाने सबैका कथा व्यथा छन् । त्रिनगर नाका हुँदै कोही पहिलो पटक कमाउन भारत जादैँ थिए भने कोही कर्मभूमी भारतलाई नै बनाएकाहरू थिए । व्यथा फरक भएपनि सबैको एउटै गुनासो थियो । स्वदेशमा रोजगारीका अवसर नै पाइदैन् । नपढेका र थोरै पढेका मात्रै हैनन्, ११÷१२ कक्षादेखि स्नाकोत्तर गरेकाहरू पनि रोजगारीका लागि भारत पस्न बाध्य छन् ।

कैलालीको लम्कीका प्रभात शर्मा भरखर स्नातक पढ्दै छन् । उनले दोस्रो वर्षको परीक्षा दिए । ‘परीक्षा सकियो, अब कमाउन भनेर भारत जाँदै छु, उनले भने, ‘घरपरिवारको छाक र आफ्नो पढाइ खर्च आफैले व्यहोर्नुपर्छ घरमा कमाउने अरु छैनन्, यहाँ जागिरको खोजीमा धेरै भौँतारिए तर केही काम पाएन त्यसैले बाध्य भएर भारत जाँदै छु, पहिला पढाई सकूँ अनि कमाउला भन्ने छैन, कमाउँदै पढ्नु पर्ने बाध्यता छ ।’

अछाम मंगलशैनका पुष्कर धामी पनि परिवारसहित भारत जाँदै थिए । ‘नेपालमा काम नै नपाइने त होइन ८÷१० हजार तलब हुने काम त भेटिन्छ, तर त्यसले हामीलाई पुग्दैन, उनले भने, ‘भारतमा हामीले १० हजारको मात्रै काम भेट्यौ भने पनि यहाँ १६ हजार हुन्छ, ओभर टाइम काम गर्ने सके महिनामा नेपाली ३०/४० हजार कमाउन सकिन्छ, त्यसैले कामका लागी भारत जाँदै छु ।’

सरकारले कोरोना प्रभावितका लागि दर्जनौँ कार्यक्रम ल्याए भनेर झुट बोलेको मुग्लान छिर्नेहरूको गुनासो छ । सरकारले आफ्ना नातेदार र आसेपासे बाहेक अरूलाई नहेरेको उनीहरू बताउँछन् ।

‘रोग भन्दा भोकको पिरलो

भारतमा तेस्रो लहरको सङ्क्रमण बढिरहेकै बेला नेपालबाट रोजगारीका लागि मुग्लान जानेहरूको भीड घटेको छैन । सुदूरपश्चिमको प्रमुख नाका गौरीफन्टा र गड्डाचौकीबाट रोजगारीका लागि भारत जाने नेपालीहरूको लाम उस्तै छ । दैनिक हजारौँको संख्यामा भारत गइरहेका नेपालीलाई कोरोनाभन्दा पनि भोकको चिन्ताले बढि छ ।

‘भारतमा कोरोना बढेपछि गत चैतमा घर फर्केको थिएँ । चार महिना घरमै बिताएँ । आम्दानीभन्दा पनि कमाएको पैसा सबै सकियो । अरू विकल्पै भएन । अन्तमा भारतनै हाम्रो गन्तव्य हो,’ अधबैँसे उमेरका घोडाघोडीका कमल शाहीले व्यथा सुनाए । ‘१५ वर्ष भारतमै बिताइसके बुढेसकालमा घरमै बस्ने रहर थियो तर बाध्यताले फेरी मुग्लान जानु प¥यो’, उनले भने ।

कोरोना सङ्क्रमणको पहिलो चरणमा स्वदेश फर्केका नेपालीहरू अहिले फेरि रोजगारी खोज्दै भारत पसिरहेका छन् । त्यो बेला लाइन लागेर भारतीय नाकाबाट स्वदेश फर्केका नेपालीहरू अहिले लाइन लागेरै भारत पसिरहेका छन् । उनीहरूलाई कोरोनाको डरभन्दा बढी भोकै मर्ने डरले पिरोलिरहेको छ । कोरोना त्रासकै कारण स्वदेश फर्केका नेपालीहरू अहिले घर परिवार पाल्नकै लागि भारत पसिरहेका हुन् । कैलालीसँग जोडिएको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी नाका भएर अहिले हजारौँ नेपालीहरू भारत पसिरहेका छन् ।

नेपाली युवाहरु पछिल्लो समय सरकार प्रति उदासिन देखिएका छन् । नेपाल अथाह सम्भावना भएको देश हुँदा पनि सरकारले युवाहरुका लागि केहि नगरेकोले र युवा लक्षित कार्यक्रमहरु पनि प्रभावकारी नहुँदा पलायन हुनुपर्ने बाध्यता रहेको उनीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्