Logo
Logo
संस्मरण

पाँच रुपैयाँको लाखामरी मागेको त्यो क्षण



भर्खरै फेरि एकपल्ट अन्तर्राष्ट्रीय नारी दिवस मनायौँ । अझै पनि महिलाले भोग्नु परेका अनेक विशिष्ट समस्याहरुसँग जुझनु परेकै छ । कुनै पुरानै बाँकि छन्, कुनै नयाँ थपिएका छन्, कुनै समस्याको भने रूप फेरिएको छ । यही बेला केही पुराना कुरा सम्झैँ – केही दशक अघिको कुरा ।

समाज फेरिन सक्छ र फेर्नका निम्ति आफैँ पनि लाग्नुपर्छ भनेर त्यसबेला अनेक क्रान्तिकारी धारमा युवा–युवती लागिसकेका थिए । त्यसबेलाका युवती अहिले बुढी भइसकेकाछन्– मजस्तै । यो संस्मरणले अहिलेका युवा महिला अभियन्तालाई त्यो बेलाको स्थिति र अहिलेको स्थिति तुलना गर्न केही सघाउला कि भन्ने लागेको छ ।
०००
बैठक लगातार चलिरहेको थियो । बैठकस्थल काठमाडौंमै घर भएको एक कमरेडको कोठामा थियो । कुरो २०३७, ३८ साल तिरको हो । त्यतिबेला अहिले जस्तो पार्टीको नाममा ठूला घर, पार्टी कार्यालय थिएन । पार्टीका नेताहरुको त झन् कसैका घरहरु नै थिएन काठमाण्डौंमा । जुन घरमा बैठक बस्यो, त्यही घरनै पार्टीको घर वा अफिस हुन्थ्यो त्यो क्षणको निम्ति ।

त्यसदिन बैठक बेलुकिसम्म पनि सिध्दिने सुरसार देखिएन । त्यो घरमा बेलुकि बैठक सिध्देपछि सबै आ–आफ्नो घर फर्किन्छन् भन्ने हिसाबले पनि होला घरमा बेलुकिको खाना सबैको निम्ति पाकेको रहेनछ । संधै सबैलाई पकाएर साध्य पनि थिएन ।

पसलभित्र अरु केही देखिन, खालि अगाडि चाँगलगाएका लाखामरीका ठूला–ठुला चक्काहरु मात्र देखें । अलिकति हिच्किचाउँदै पसलेसंग पाँच रुपैयाँको लाखामरी मागेँ । पसलेले मलाई अलि अनौठो मानेर दोहर्याई–तेहर्याइ माथिदेखि तलसम्म हेर्याे तर केही बोलेन ।

काठमाडौंमा घर वा डेरा भएकाहरुले आ–आफ्नै घरमा गएर खाना खाने र फेरि बैठकमा फर्केर आउने भन्ने कुरा भयो, बैठक घरलाई धेरै भार नपरोस भनेर । मैले पनि समर्थन जनाएँ । सबैलाई थाहा थियो– मेरो घर पनि मध्य काठमाडौं मै छ भनेर । त्यसैले म पनि आफ्नै घरमा गएर खाना खाने मध्येमा परेकी थिएँ ।

बेलुकीको दश बजिसकेको बेला थियो । एक डेढ घण्टाको खाना खाने छुट्टीको निम्ति म पनि बैठक घरबाट निस्कें । बाटो सुनसान भैसकेको थियो । त्यतिबेला मेरो घरको निम्ति, अझ भनौँ– मेरी आमाको निम्ति ‘रात’ परिसकेको बेला नै थियो ।

म घर फर्केर आमालाई उठाएर खाना खाएर फेरि घरबाट एक्लै बैठक छ भनेर घरबाट राति बाहिर निस्कनु सहज हुन सक्थ्यो र ? मनमा लाग्यो– घर फर्किनु उचित समय होइन । एक अविवाहित केटी, एक्लै वसन्तपुरको बाटो भएर घर जानु फर्कनु सुरक्षाको हिसाबले पनि ठीक थिएन ।

गल्ली र चोक भित्रको घर, त्यस्तै राजनीतिक भूमिगत क्रियाकलापहरुले गर्दा पनि छिमेकीहरुले मलाई प्राय ढिलो घर फर्केको देख्ने र अनेक शंका र लान्छना गरी मेरी आमालाई हैरान पारी रहेका थिए । आमा मबाट दुःखी र निराश जस्तै नै हुनुहुन्थ्यो ।

यी कुराहरु सबै सम्झेर त्यतिबेला घर फर्कनु उचित लागेन, फर्किनुभन्दा नफर्किनु नै जाति भन्ने लाग्यो । तर म बैठक घरबाट बाहिर निस्कि सकेंकि थिएँ । एकछिन अलमलिएँ त्यतिखेर जाउँ कहाँ ?

दिनभरको बैठकले बेस्सरी भोक लागिसकेको र दिमाग पनि थाकिसकेको थियो । बाटैमा केही किनेर खाने बिचार गरें र बाटैबाट फर्किनु उचित ठानें ।

झोलामा हात पसाएँ, मात्र पाँच रुपैयाँ हातमा आयो । पाँच रुपैंयाले के किनेर खाने ? फेरि कहाँ बसेर खाने… आदि कुरा मनमा आयो । सडकमा सबैजसो पसलहरु बन्द भैसकेका थिए । नरदेवीमा एउटा मिठाइ पसलको एक कवलमात्र अझै खुलेको देखें, त्यो पनि बन्द हुने क्रममा थियो ।

अलि हत्तार गर्दै त्यो खुलेको पसल अगाडि पुगें । पसलभित्र अरु केही देखिन, खालि अगाडि चाँगलगाएका लाखामरीका ठूला–ठुला चक्काहरु मात्र देखें । अलिकति हिच्किचाउँदै पसलेसंग पाँच रुपैयाँको लाखामरी मागेँ । पसलेले मलाई अलि अनौठो मानेर दोहर्याई–तेहर्याइ माथिदेखि तलसम्म हेर्याे तर केही बोलेन ।

प्राय देखिरहेको अनुहार जस्तो पनि लाग्यो होला, ऊ पनि स्थानिय नेवार नै थियो । केही नसोधी एकटुक्रा लाखामरी कागजमा पोको पारेर हातमा राखिदियो । म पनि चुपचाप हातमा लिएपछि पसलबाट अलि टाढिएँ । तुरुन्तै पसलेले त्यो खुलेको भाग पनि बन्द गरी हाल्यो ।

अझै सुनसान र अँध्यारो भयो सडक । हातमा लाखामरीको टुक्रा छ, कहाँ बसेर खाने ? भोकले चुर छु । हतारमै एक टुक्रा भाँचेर मुखमा अट्ने जति हालें । सडक अंध्यारो भएकोले कसैले देखेन मैले बाटोमा हिँड्दा हिँड्दै कुरकुर गरी लाखामरी चपाएर खाएँ । सडकको एक छेउबाट अर्को छेउमा ओहरदोहर गर्दै पेटको भोक अलिकति मेटाएँ ।

त्यो भोकमा मुखमा गुलियो लाखामरी पर्दा मिठो लाग्ने त स्वाभाविक नै थियो । त्यो बेला कुनै स्थानीय मान्छे होस् या अरु कुनै भलाद्मीले मलाई त्यो अवस्थामा देखेको भए के भन्ठान्थे होला ? यो अर्को एउटा प्रश्न मनमा आए पछि त्यो एकटुक्रा रोटी पनि नसिध्दिंदै हत्तारमै बैठक घरमा पस्नु जाति ठानें । बाँकी सानो टुक्रालाई झोलाभित्रै राखेर मुख पुछेर बैठकमा अलि छिट्टै फर्कें । नेता, कमरेडहरु पनि खान भ्याएर डकार्दै बैठकमा बस्न थाल्नु भयो । अरु बाहिर जानेहरु पनि बिस्तारै एक एक गरी फर्कनु भयो ।

सबै पुरुष कामरेडहरु ! म एक्लै महिला थिएँ । जिम्मेवार कमिटीको बैठक थियो, केन्द्रिय स्तरका भूमिगत कमरेडहरुको पनि उपस्थिति थियो । बैठक पुनः अगाडि बढ्यो …। समय लम्बिन थाल्यो, मेरो भोको पेटले भने विद्रोह गर्न थाल्यो गुरगुर गर्दै । म भने चुपचाप गम्भीर भएरै सम्हालिन खोज्दै थिएँ । त्यो रातको बैठक दुईबजेसम्म नै अगाडि बढ्यो । धन्न मलाई राती पनि आ–आफ्नै घरमा गएर सुत्न जान भन्नुभएन कमरेडहरुले । त्यही मेरो निम्ति एउटा छुट्टै सुत्ने कोठाको बन्दोबस्त भयो ।

सुत्न बस्दा पो सोच्न पुगें महिला कमरेडहरुको अवस्था कति फरक हुँदोरहेछ– पुरुषहरुले महिलाको अवस्था के बुझ्न सकोस् । यद्यपि, त्यहाँ म महिला भनेर भेदभाव थिएन । त्यस्तै अप्ठ्याराहरु नाघेर नै त्यो बैठकमा समान रुपमा भाग लिन पुगेकी थिएँ । जिम्मेवारहरु मध्येकै एक भएर बैठकले दिएका निर्णयहरु, जिम्माहरु पनि बोकेकी थिएँ । यो कुरा आफै पुरानो भईसक्यो ।

अब त कथाजस्तै पनि भैसक्यो । धेरै बर्ष पछि यो गएको नारी दिवसको अवसर पारी आफ्नो कथा छोरीहरुलाई सुनाएँ । हरेक पल्ट लाखामरी खाने बेला म यो कुरा सम्झन्छु । कहिले आफै हाँस्छु, कहिले आफ्नै आँखा पनि भिज्न खोज्छ । कसरी ती दिनहरु खपेर बोकेर पार्टी भन्दै लागेका थियौँ ! आज त्यो भूमिगत पार्टीको अवस्था कहाँबाट कहाँ पुगिसक्यो ! अनि देश ?!

प्रतिक्रिया दिनुहोस्