Logo
Logo

एउटा परिस्थितिबाट अर्को परिस्थितिको यात्रा



पुलिसको केरकारबाट मुक्त भएर बाहिर निस्कँदा दुई विशाल पखेटा फिँजाएर हङ्कङको निम्ति उड्न ठिक्क परेको हवाईजहाज मलाई नै पर्खँदै थियो । बच्चाको हात च्याप्प समाएर जहाजको भर्याङतिर बढेँ । अब त साँच्चै उड्ने बेला भयो ।

पहिलोपटक हवाईजहाज चढ्दै थिएँ । पहिलोचोटी आफू जन्मेको भूमिबाट केही लामै समयको निम्ति बाहिर जाँदै थिएँ । म अलिकति भावुक भएँ । हतार भइसकेको थियो । सरासर भर्याङ चढेँ । एकपल्ट फर्केर हेर्न मन लाग्यो सबैलाई ।

त्यो बेलासम्म वरिपरि ठूला पर्खाल र अरु संरचनाले उपत्यकालाई छेकेको थिएन । खुला थियो एयरपोर्ट । माथि पुगेर फर्केर हात हल्लाउन मन लाग्यो- पहिले त आमाकै अनुहार देखेँ, धैरै मान्छेका बीच पनि धेरै आफन्तहरु हवाईजहाज नउडुञ्जेलसम्म पर्खेका थिए । यात्रुहरुमा म अन्तिम अन्तिमतिरै थिएँ ।

यतिबेलासम्मको जीवनको हिँडाइ अब केही घण्टाको निम्ति उडानमा परिवर्तन हुँदै थियो । जीवनमा पहिलोचोटि समुद्र नाघेर, हिमाल पार गरेर आकाशमा उड्न तयार भएकी म ।

अनेक खालको संघर्षपछि नै प्राप्त भएको एउटा अवसर पनि थियो यो । मन खुसी र उत्साहित हुनुपर्ने थियो । तर खुसी हुन सकिरहेकी थिइनँ । मलाई जन्मदिने आमालगायत माया गर्ने दिदीहरू, आफन्त, दुःखसुखमा साथ दिने साथीहरु र मातृभूमिलाई नै छोडेर जाँदै थिएँ । थाहा छ- सधैँको लागि होइन, र पनि मेरो मन शान्त थिएन, खुसी हुनै सकेन ।

आमाहरुलाई हात हल्लाउने बेला मन फेरि एकपल्ट भारी भयो । सपनामा एउटा नयाँ भर्याङ चढेर कतै सुदूर जगत पुग्न लागेझैँ भयो । एउटी सुन्दरी एयर होस्टेजले नमस्कार गर्दै स्वागत गर्दै बाटो देखाइदिइन् । ठूलो विमानभित्र पसेपछि मलाई लाग्यो– एउटा ठूलो बाकसमा बन्द हुँदैछु… ।

आफ्नै मनसँग पनि कुरा गर्दै बेला बेलामा सानो झ्यालबाट आकाश हेर्दा मेरो विगतको संसार सबै तलै छोडेजस्तो पनि लाग्थ्यो । जीवन साथीलाई भेट्न जाने निहुँमा हिमाल, पहाड, खोलानाला, समुद्र, राष्ट्रहरूका सीमा… सबैलाई नाघ्दै थिएँ ।

सबै कुरा मेरो निम्ति नौलो थियो । सामान राख्ने, सिटबेल्ट लगाउने… । जहाजभन्दा पहिले मेरो मन उड्न थाल्यो– ‘सरोज कहाँ के गर्दै होला यतिबेला ? म जहाज चढेँ भन्ने थाहा होला कि नहोला ?…’

विस्तारै जहाजले आफू उड्न तयार भएको कुरा ठूलै स्वरमा गर्जिँदै बतायो । अनि विस्तारै गुडेर अगाडि बढ्यो । कतिबेला जहाजले धर्ती छोडिसकेछ र एकैछिनमा कहाँ पुगिसकेछ ! पहिलोपल्टको उडान मनमा केही डर जस्तो पनि आयो ।

बन्द, जहाजको झ्यालबाट बाहिर हेरेँ आकाशको सट्टा बादल नै देखेँ । मेरो मनमा पनि बादल नै थियो । यो पनि एउटा अंश हो जीवनको । यसरी उड्नका निम्ति संघर्ष र चुनौती पनि कति कति ! मान्छे जहाँ पुगे पनि आफूसँगै संघर्षले पनि यात्रा गर्दोरहेछ !

जीवनयात्राको क्रममा यहाँसम्म पुग्ने बेलासम्म कस्तो बाटो पो हिँडिन ! सडक, गल्ली, जंगल गोरेटो, घोडेटो, भिर… कहिले हिँडेँ, कहिले गुडेँ । धेरैजसो त हिँडेरै उमेर खर्चेकी छु । अहिले पनि कहाँ आफैँ उड्दैछु र ! उड्ने त हवाईजहाज न हो ! म ऊमाथि आश्रित छु । र उसैलाई उडाउने पनि पत्र–पत्र संसार छ । अन्तरनिर्भरताको यो कस्तो जालो !

विगतका अनेक पल, दुःखसुखका क्षण, विभिन्न समयमा आइलागेका खतराहरुबाट बचेका क्षण पनि सँगै रिलझैँ घुम्दै थिए मनमा । मनले मनलाई नै सम्झाउँदै थियो–‘आफैँले रोजेको बाटोमा हिँडनुजस्तो खुसीको कुरा अरु के हुन्छ र ?’ त्यो ढाडस दिने मन के हो ? त्यो सम्झनामा दुख्ने र रम्ने मन के हो ? मैले सम्झने मनको हात छोडेर सम्झाउने, बुझाउने मनको हात समाउन खोजेँ । आफैँलाई ढाडस दिएँ । यो पनि आफैँले रोजेको बाटो हो !

स्वतन्त्रता सबैभन्दा प्रिय कुरा मेरो निम्ति । भेदभावविहीन समाजको निर्माण गर्नु सबैभन्दा ठूलो सपना । कति ठूलो सपना देखेकी थिएँ ! मजस्ती साधारण मान्छेले, कहिले ‘फुच्ची मिस’ कहिले ‘मजदुर’ त कहिले संगठक, कहिले नेता भएर मान्छेभन्दा ठूलो सपनाको भारी बोकेर हिँडेँ । आत्मविश्वास र इमान्दारीका साथ लाग्दा जुनै सपना पनि पूरा हुनसक्छ भनेर यात्रा गरेकी थिएँ ।

आत्मविश्वास बलियो हुँदा असम्भव लाग्ने ठूला कुरा पनि सम्भव पारेर अघि बढेँ । बुबालाई चिन्नै नपाएकी छोरी म, अभावमा हुर्केकी । मेरो ठूलो सम्पत्ति भन्नु नै सपना थियो ! ममा पनि लुकेको शक्ति थियो होला र त ती बाटाहरु पार गर्न सकेँ । तर मानवीय कमजोरीहरू मसँग पनि थिए । त्यसैले कतै लडेकी छु, कतै हारेकी पनि हुँला । धेरै त आफू हिँडेको बाटोबाट खाली हात फर्किन । तर सधैँ बाटैमा थिएँ, अझै बाटोमै छु… । जहाँ पुगे पनि सपनाले भने छोडेन ।

दृढतापूर्वक लडेका संघर्षका अनुभव, सानै उमेरदेखि बोकेका दुःखसुखका सम्झना, केही विशेष इच्छाहरु, सबै पोको पारेर बोकेकी थिएँ । यतिबेला अर्को एउटा अत्यन्तै प्रिय र महत्वपूर्ण केही बोकेकी थिएँ– आफ्नै अंश, मेरी सानी छोरी जो मेरै साथमा सहयात्रीको रुपमा मसँगै टाँस्सिएर बसेकी थिई । उसका ससाना जिज्ञासाहरु पनि सुन्दै र जवाफ दिँदै अगाडि बढ्दै गर्दा समय सजिलै बित्दै थियो ।

आफ्नै मनसँग पनि कुरा गर्दै बेला बेलामा सानो झ्यालबाट आकाश हेर्दा मेरो विगतको संसार सबै तलै छोडेजस्तो पनि लाग्थ्यो । जीवन साथीलाई भेट्न जाने निहुँमा हिमाल, पहाड, खोलानाला, समुद्र, राष्ट्रहरूका सीमा… सबैलाई नाघ्दै थिएँ ।

त्यो विशेष घडी एकदमै छिटो–छिटो उडिरहेको समयभित्रको कैदीजस्तो पनि लाग्थ्यो । जहाजको सिटमा बेरिएकी छु र पनि मेरो सपनाले भने अझै आकाश छुन खोजेजस्तो लाग्थ्यो । मनमा अनेक भावहरुको लहर उठ्दै थियो । स्थिर थिएन मन । स्थिर थिएन समय !

आफू अभ्यस्त एउटा समाजबाट एकदमै फरक अर्को समाजतिर जाँदै थिएँ । निरन्तर परिवर्तन भइरहेकै भए पनि आफूले चिनिसकेको एउटा परिस्थितिबाट पटक्कै नचिनेको अर्को परिस्थितितिर बढ्दै थिएँ । यो एउटा अन्तराभव थियो ।

‘अझै कति लामो छ बाटो ? अझै कति परिस्थितिहरु पार गर्नुछ ?’ जस्ता प्रश्न कतै लुकिरहेका थिए । हिजोबाट आजको यहाँसम्म पुग्दा बाटो भरी सपना जति बाँडे पनि अझै रित्तिएको रहेनछ सपनाको थैली । भित्रबाट एउटा आवाजले भन्दै थियो– ‘यो एउटा फड्को मात्र हो– एउटा परिस्थितिबाट अर्को परिस्थितिमा । यात्रा त जारी नै छ– नटुंगिने यात्रा हो यो… ।’

प्रतिक्रिया दिनुहोस्