
गत हप्ताको सोमबार बुद्ध पूर्णिमाको दिन बुद्धलाई सम्झदै म विपश्यनाको अनुभव लेख्दैथिएँ । मेरो फोनमा उमेश प्रधानाङ्गको फोन आयो । एकछिन फोन नम्बर र स्वर पनि नचिनेर अल्मलिएँ । “आज आमा जानु भयो’’ भने पछि झसङ्ग भएँ– ओहो प्रकाश दिदी ! ?
अग्रणी साहित्यकार प्रकाश दिदीसँग मेरो रगतको कुनै नाता छैन, तर त्योभन्दा गहिरो आत्मीय सम्बन्ध छ । उहाँ भन्नु हुन्थ्यो “सुलोचनासँगको सम्बन्ध यो जुनीको मात्र नभएर पूर्व जन्मसँग पनि जोडिएको हुनुपर्छ …।’’ आफ्नो पूर्वजन्मबारे केही थाहा नभएकोले दिदीको कुरालाई ‘होला नि’ भनेर चित्त बुझाइ दिन्थेँ ।
किशोरावस्थामा “क्रान्ति गर्छु“ भनेर कलेजको पढाई छोडिसकेपछि समयले फेरि एकपल्ट मौका दिएको थियो शिक्षक तालिमको । त्यो बेलाको ‘नयाँ शिक्षा’ ले प्राथमिक स्कूलमा पढाउने शिक्षकहरूलाई आइएड सरहको तालिम दिन थालेको थियो ।
शिक्षाको प्यास नमेटिइसकेको अवस्थामा पाएको त्यो मौकालाई मैले छोड्न चाहिनँ । त्यो बेला पनि मेरो नजिकको साथी उही अस्टलक्ष्मी थिइन् । हामी दुईजना अरु विद्यार्थीहरू भन्दा अलि बेग्लै र कम उमेरका थियौं । अरु धेरै विद्यार्थीहरू हामीभन्दा अनुभवी र पाका थिए । त्यही हो पहिलो पल्ट प्रत्यक्ष रुपमा दिदीसँग सम्बन्ध भएको ।
हामी एउटै कक्षाका सहपाठी भयौं । त्यतिबेला नै आइएको नेपाल भाषाको पाठ्यक्रममा उहाँले लेखेको कथा ‘मचाम्ह डाक्टरनी’ (सानी डाक्टर्नी) पढ्नु पथ्र्यो । त्यसैले चिन्न सजिलो भयो ।
प्रकाश दिदी तीनवटा सन्तानलाई हुर्काउँदै गर्नु भएको थियो त्यो बेला । उहाँले लेखेको ‘मचाम्ह डाक्टर्नी’ एउटै परिवारभित्रका केटाकेटीमाथि हुने भेदभावपूर्ण व्यवहारको मार्मिक कथा थियो । म बच्चैदेखि नै अन्याय सहन नसक्ने हुँदा त्यो कथाले मलाई विशेष छोएको थियो र लेखकबारे जिज्ञासा जागेको थियो । त्यो पनि महिला लेखक धेरै नभएको बेला भएकोले उहाँको नाम सम्झिरहेकी थिएँ ।
जब मैले आफ्नै सहपाठीको रुपमा आफूलाई मनपर्ने एक लेखक पाएँ, उहाँसँग नजिकिनु स्वाभाविकै भयो । मिल्ने साथीका रुपमा, एउटी दिदीका रूपमा, उहाँलाई पाउँदा पाकी गृहिणी भएर पनि हामी सरहकै विद्यार्थी भएर कसरी सक्रिय हुन सकेको होला भन्ने लाग्थ्यो । तर त्योबेला उहाँले लेख्न छोडिसक्नु भएको रहेछ ।
‘‘अचेल लेख्नु हुन्न?’’ भनेर सोध्दा “कसरी लेख्ने ? बच्चाहरू छन्, घरको सबै काम आफै गर्नु छ, अनि दिउँसो स्कूलमा पढाउन जानुपर्छ, अनि अहिले त आफै विद्यार्थी पनि भइएको छ । अब कसरी लेख्ने, आफै भन्नोस् न !’’ त्यो सुन्दा उहाँप्रति झनै सम्मान र मायाँ बढ्थ्यो । तर उहाँजस्ती स्रष्टाले लेख्न छोडेकोमा भने चित्त् पनि दुख्थ्यो । त्यो बेलादेखि नै उहाँले पनि मलाई आफ्नै बहिनी सरह माया गर्नु हुन्थ्यो । मैले भर्खरै कविता र लेखहरू लेख्न थालेकी थिएँ ।
पछि त्यो पढाई पनि पुरा नहुँदै राजनीतिक आन्दोलनकै कारण छोड्नु प¥यो । प्रकाश दिदीसँग पनि भेटघाट हुन छोड्यो । त्यो बेला काठमाडौँमा प्रकाश दिदीको घर बनिसकेको थिएन । डेरामा बस्नु हुन्थ्यो । पछि कुलेश्वरमा घर बनाएर सर्नु भएछ ।
धेरै समय पछि, मेरो बिहे भएर, चीनमा पाँच वर्ष बसेर फर्किसकेपछि एकदिन उहाँको फोन आयो । मेरो नम्बर खोजेर फोन गर्नु भएको रहेछ । त्यो बेला मोबाइल आइसकेकै थिएन ।
केही समयपछि आफ्नो नाटक “कलाकार’’ विमोचन हुँदा मलाई पनि निम्ता गर्नुभयो । भिक्षु सुदर्शनले बनाउनु भएको कीर्तिपुर बौद्ध बिहारमा कार्यक्रम रहेछ । त्यो बेलासम्म भिक्षु सुदर्शन अझै हुनु हुन्थ्यो । प्रकाश दिदी पनि भिक्षु सुदर्शनकै चेली हुनुहुन्छ भन्ने मलाई थाहा थिएन ।
एकपल्ट मेरा गुरु– अन्वेषक काशीनाथ तमोट– कहाँ मेरो पिएचडी थेसिसको निम्ति सल्लाह माग्न गएकी थिएँ । नेपालभाषाका साहित्यकारहरूबारे कुरा हुँदा सरले प्रकाश दिदीको पनि नाम लिनुभयो । “तर अचेल लेख्नु हुन्न । उहाँका नछापिएका कथाहरू धेरै हुनुपर्छ’’ भन्नुभयो । “उहाँलाई त म चिन्छु’’ भनेँ ।
काशीनाथ सरले उहाँलाई भेट्न जानु भनी सल्लाह दिनुभयो । म दिदीकहाँ घर खोज्दै गएँ । खुसी हुनुभयो । ४० वर्ष अगाडिदेखि लेखेका कथाहरू बाकसमा बन्द रहेछन् । पुराना कथा बोकेका सबै कापीहरू निकाल्नु भयो । कति त किराले खाइसकेका पनि थिए । त्यति राम्रो लेखकका कृतिहरू पुस्तकाकारमा नआइ बसेको देखेर मेरै चित्त दुख्यो ।
“यी सबैलाई अब छपाउने है, दिदी !’’भन्दा उहाँले मलाई नै ती कथाहरू छान्ने जिम्मा दिनुभयो । मैले बोकेर ल्याएँ । र छानेर पुस्तक छिटो निकाल्ने आग्रह पनि गरेँ । यो सुनेर काशीनाथ सर खुसी हुनुभयो । त्यो बेलासम्म भिक्षु सुदर्शनले यो धर्ती छोडिसक्नु भएको थियो ।
’लुफिं’ नामको पुस्तक निस्केपछि दिदीको लेखनको बन्द ढोका खुल्यो । धमाधम पुस्तकहरु निस्कन थाले । उहाँका गुरुको पुण्यस्मृतिमा ‘भिक्षु सुदर्शन लुमन्ति पुचः’ नामको एउटा संस्था पनि बन्यो । त्यसको अध्यक्ष प्रकाश दिदी आफै हुनुभयो । काशीनाथ सर र म पनि संलग्न भयौं । अनि त हाम्रो भेटघाट झनै बाक्लियो । उहाँमा लेख्ने हौसला पनि बढ्यो र नयाँ कृतिहरु धमाधम निस्कन थाले । काशीनाथ सरको प्रेरणा र मेरो साथ पाएपछि उहाँ एक किसिमले साहित्यमा “बौरिनु’’ भयो । दिदीका छोराहरु डा. राजेश र युगेसको पनि प्रोत्साहन थपियो ।
उहाँको जन्म पाल्पा तानसेनमा ८८ वर्षअघि राम नवमीमा भएको रहेछ । वि.सं. २०१८ सालमा तेह्रथुमका डा. कृष्णभगत प्रधानाङ्गसंग विवाह बन्धनमा जोडिएपछि ४० वर्ष उहाँ घर व्यवहारमा व्यस्त हुनु भयो । पछि फेरि लेख्न थालेर उहाँले दुई भागमा आफ्नै जीवनको कथा ‘आत्म प्रकाश’लगायत १० भन्दाबढि पुस्तकहरू लेख्नु भयो ।
उल्लेखनीय कुरा के भने नेपालमा त्यति धेरै साहित्यिक पत्रपत्रिका नभएका बेला– २०१३ सालमा नै – भारतबाट छापिने ‘धर्मोदय’ पत्रिकामा महिलाका हकहित प्रतिष्ठाको विषय बोकेको कथा ‘प्रतिज्ञा’ छापिएको थियो । नाटक लेख्ने पनि सम्भवतः पहिले नारी हस्ताक्षर हुनुहुन्छ । वि.सं. २०१३ साल अघि नै उहाँले लेखेको नाटक तानसेनमा मञ्चन भैसकेको थियो ।
भिक्षु सुदर्शन आफै पनि साहित्यकार हुनुहुन्थ्यो । सानो भन्तेको रुपमा तानसेनको बौद्ध विहारमा जाँदा भेट भएका भन्तेलाई पछि उहाँलाई गुरु मान्नु भयो र दाइका रुपमा पनि मान्न थाल्नुभयो । शुरुमा भन्तेकै प्रेरणाले लेख्न थाल्नु भएको रहेछ ।
सानै उमेरदेखि पञ्चशील मान्ने, बौद्ध धर्ममा आस्था राख्ने प्रकाश दिदी बुद्ध पूर्णिमाको दिन नै उहाँले आफैले बनाई राखेको पाँच रंगको अन्तराष्ट्रिय बौद्ध ध्वजा ओडेर जानु भयो । यो कस्तो दुर्लभ संयोग ! उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली !











