
मैले ‘आमा’ भनेर सम्बोधन गरेकी साथी निशिकावासँग बिदा लिएपछि एक रात फेरि सुसुमु कै डेरामा बसेँ । उनी सधैँजस्तै व्यस्त थिए । उनले मेरोसमेत बच्चालाई जत्तिकै वास्ता राख्नु पर्ने परिस्थितिले गर्दा मलाई अप्ठ्यारो त लागिरहेकै थियो । र पनि सबभन्दा नजिकको सल्लाहकार उनी नै थिए । त्यही दिन उनले सुनाए– “तिमीलाई चारदिनको निम्ति तामायोले बोलाएकी छन् ।’’ तामायो पनि एउटै युनिभर्सिटीकै मिल्ने साथी नै थिइन् ।
टोकियोबाट डेढघण्टा जति टाढा अलिकति गाउँजस्तो ठाउँमा रहेछ तामायोको घर । फेरि एकपटक जापानको नौलो ठाउँको अनुभव गर्ने अवसर मिल्यो । टोकियोमा जस्तो भीडभाड थिएन । तर सुविधा भने राम्रै पुगिसकेको ठाउँ रहेछ ।
ठूलो घरमा तामायो र उनकी आमा मात्र बस्दा रहेछन् । घरमा सामान पनि दुईजनालाई चाहिनेभन्दा धेरै भएजस्तो लाग्यो मलाई । कोठा पनि धेरै । दुईवटा फ्रिज । अनि रैथाने जापानी शैलीको घर जस्तो पनि थिएन । घरमा कतैपनि थाथामि ओछ्याएको देखिन– कुर्सि टेबुल नै थिए ।
सोधें पनि– “किन यो घरमा थाथामि नभएको ?’’ भनेर । थाथामि अर्थात् उनीहरुको परम्परागत सुकुल जो हाम्रोभन्दा परिष्कृत हुन्छ र पानी परे पनि हाम्रो जस्तो बिग्रिँदैन । अहिले पनि प्रयोग गरिरहेकै होलान् । अनि तामायोले सुनाइन् – उनका बाबु त चीनियाँ पो रहेछन् । बुवा बितेको धेरै भएको रहेनछ । बुवाको चीनियाँ रुचिका कारण पनि त्यो घर जापानीको जस्तो नलागेको रहेछ !
त्यही घरमा पहिलोचोटी साथीको हातमा कर्डलेस फोन देखेकी थिएँ । कर्डलेस फोनले दिने सहजता देख्दा नौलो नै लागेको थियो त्यो बेला । तामायो अरु जापानी जस्तै ज्यादै व्यस्त थिइन् । पैसा कमाउनमै तल्लिन । आमा पनि आर्थिक रुपमा आत्मनिर्भर हुनुहुँदोरहेछ । लुगा सिलाउने गज्जबको शीप रहेछ आमाको ।
सिलाएर “होम डेलिभरी’’ गर्नुहुँदोरहेछ । एकपल्ट त मलाई पनि आफ्नो ग्राहकको घर र अफिसमा लैजानुभयो आमाले । त्यहीबेला गाउँ घुमाउने र त्यहाँको ठुलो डिपार्टमेन्टल स्टोरमा पनि लानुभयो । उहाँ मेरो भाषा नबुझ्ने, म उहाँको भाषा नबुझ्ने । ईशारामा कुरा गथ्र्यौँ । डिपार्टपेन्ट स्टोरमा पसेको बेला भावभङ्गिले “केही लिने हो ?’’ भनेजस्तो लागेको थियो । मैले हातको इसाराले “केही चाहिदैन’’ भन्न खोजेँ । उहाँले के सोध्नुभएको थियो, मेरो हातको ईशारालाई के भनेर बुझ्नुभयो, त्यो त अहिलेसम्म पनि थाहा छैन ।
तामायोले मलाई घुमाउनै भनेर दुईदिन छुट्टी नै लिएकी रहिछन् । बाँकी दुई दिन चाहिँ आमालाई हेर्न लगाइन् । आमा जापानीबाहेक केही नबोल्ने । श्रीमान चिनियाँ भएपनि उनीलाई भने चिनियाँ भाषा पटककै आउँदैन थियो । मैले पनि त्यो एकमहिनामा जापानी भाषा केही टिप्न सकेकी हैन । यस्तो अनुभव पनि रमाइलै हुँदोरहेछ । जीवन त जसरी पनि चल्दो रहेछ ।
तामायो बिहानै काममा हिंड्नु पर्ने, दिनभरि मलाई पकाएर खुवाउने, यता उता लैजाने काम सबै आमाको । साँच्चै आमाले जस्तै माया गर्नुभयो । मेरी आमासंग तुलना पनि गरेँ । सानै उमेरमा बिहे भएपछि मेरी आमाले जीवनभर सारी मात्र लगाउनु भयो । ती जापानी आमालाई भने स्कर्टमा देख्न पाएँ ।
लुगा सिउने कला र शीप भएकाले किसिम किसिमका डिजाइनमा लुगा सिलाउने र लगाउने गर्नुहुँदोरहेछ । छोरीले पनि आमाले सिएकै लुगा लगाउँथिइन्– पछिसम्म नै । मलाईसमेत आमाले सिएको कालो मखमलको स्कर्ट र माथि लगाउने लुगा एकसेट उपहार दिएकी थिइन् साथीले । पछि फर्केर चीनमा हुन्जेल मैले लगाएँ पनि । नेपाल पुगेपछि भने छोरीको निम्ति काम लाग्यो ।
एकदिन चाहिँ त्यो घरमा म एक्लै भएँ । त्यही दिन बाथरुम मर्मत गर्न दुईजना ज्यामीलाई बोलाईराखेको रहेछ । तामायोले आफ्नो काममा जानुभन्दा अगाडि भनेकी थिइन् “घरमा कामगर्ने मान्छे आउँछन्, काम सिद्ध्याएर जान्छन् । तिमीलाई केही डिस्टर्ब गर्दैनन्’’ भनेर ।
साँच्चै आफ्ना ज्यावल लिएर, आफै ढोका खोलेर दुईजना ज्यामी आए । म चुपचाप किताब हेरेर बसें । कुनै ठ्वाकठ्वाक आवाजसम्म पनि आएन । आफ्नो काममा तल्लिन दुई कामदारहरुलाई परैबाट हेरिरहें । केही घण्टापछि आफ्नो काम सकेर, भुईँको फोहोर सबै सफा गरेर जस्ताको तस्तै बनाएर फर्के । कति सजिलो ! घरको मान्छेले कुर्नुसमेत नपर्ने ! काम सिद्ध्याइसक्दा घरमा कुनै धुलोमुलो फोहर नहुने ! कस्तो श्रम संस्कृति !!
अर्को दिन बिहानै पानी परेर घुम्न जाने योजना त्यत्तिकै भयो । मलाई त केही थिएन । दुई–दुई दिन मेरै निम्ति छुट्टि लिइसकेकी साथी फेरि अर्को दिन घरमा बस्नुभन्दा काममै फर्किँदा मलाई पनि मन सन्चो भयो । म पाहुना लागेकोमा उनीहरुले कुनै झन्झट मानेको देखाएका थिएनन् आमा–छोरीले नै । तर बिना काम त्यसरी एक्लै बस्न भने जतिसुकै सुविधा सम्पन्न घरमा भए पनि असजिलो लाग्न थाल्दैथियो मलाई । कोबे र ओसाकातिर लाग्ने बेला पनि नजिक आउँदै थियो ।
कामबाट फर्केपछि तामायोले नै भनिन् – “तिमीलाई कोबे जाने बुलेट ट्रेनको टिकट मेरो तर्फबाट उपहार हो है ! धन्दा मान्नु पर्दैन ।’’ हरे! कति उपहार लिने यी साथीहरूको ! मनमा खुसी पनि अप्ठेरो पनि एकै पल्ट भयो ।
भोलिपल्ट बिहानै आमाले पिकनिकको निम्ति खाना बनाउनु भयो । फेरि एकपल्ट टोकियो घुमाउने इच्छा गर्नु भयो । हामी सुमिदागावा गयौँ । फेरि पानीलाई नजिकबाट हेर्न पाइयो । एमीले पनि त्यहाँको क्रुज चढाई सकेकी थिइन् मलाई । एक महिनामा दुईपल्ट ती सुन्दर दृश्यहरू देख्न पाएँ । त्यहाँ पुग्न रेल चढेर जानुपर्ने । रेल चढेरै फर्किनुपर्ने । मेरो निम्ति प्रशस्त पैसा खर्च गरिरहेका थिए साथीहरूले । म भने साथीहरूले जता जता लग्छन् त्यतै त्यतै खुरु खुरु जान्थेँ ।
मलाई घुमाउने जिम्माको भागबन्डामा चारदिन मात्र परेको थियो तामायोलाई । तर पानी परेर एकदिन थपियो । अर्को दिन बिहानै कामाकुराको ठुलो बुद्ध देखाउन आमाछोरी दुबै मिलेर मलाई लगे । त्यहाँ आउनेको संख्या ठूलै हुँदोरहेछ । मलाई निकै रमाइलो लाग्यो बिशाल बुद्धको मुर्ति देख्न पाएर । सानो मुर्ति भने किनेर पनि ल्याएँ, आफ्नै आमाको निम्ति भनेर ।
तामायोको उदारता र आमाको आत्मियताका निम्ति उत्तिकै आभारी थिएँ म । तामायोको एउटा कुराको सधैँ लोभ लाग्थ्यो मलाई । चीनको विश्वविद्यालयमा हुँदै विश्व भ्रमणमा गएकी थिइन् उनी । नेपाललगायत धेरै देश पुगेकी थिइन् त्यो बेला । बेसरी काम गर्ने, अनि त्यो पैसाले छुट्टीमा संसार डुल्ने । “कुनै दिन पैसा भएछ भने म पनि विश्व भ्रमण गर्थेँ’’ भन्ने लागिरह्यो ।











