
यतिखेर हाम्रा भैरव दाइलाई– सबैका भैरवदाइलाई सम्झिरहेछु । साउनको अन्तिम हप्ता आउने बित्तिकै उहाँको जन्म दिन २९ गते पर्खिन थाल्थ्यौँ । हरेक वर्ष जन्म दिनमा प्रायः दाइसँग भेट हुन्थ्यो । तर यसपाली भेट हुँदैन भन्ने कुराले मन दुखेको छ । दाइको महाप्रस्थान भइसकेको छ । गएको चैत २४ गतेदेखि उहाँ हामी माझ हुनुहुन्न । तर मन मान्दैन– यतै कतै हुनुहुन्छ जस्तै लाग्छ ।
चिकित्सा विज्ञानको निम्ति उहाँले दान गर्नु भएको उहाँको पार्थिव शरीर त अझै पाटन चिकित्सा अध्ययन संस्थानको कुनै प्रयोगशालामा होला– तर भैरव दाइ त्यो शरीरमा हैन हामीसबैका मनमा, उहाँका सुकर्महरूमा, दूरदराजका पहाडमा बलिरहेका बत्तिको उज्यालोमा, उहाँका सत्य वचनमा जीवित हुनुहुन्छ ।
९७ वर्षको पाको उमेरसम्म पनि सकेजति सकारात्मक कामहरू गरि नै रहनु भएको थियो । वरिष्ठ पत्रकार, सामाजिक अभियन्ता, लेखक, रेडियो वार्ताकार… अनेक रूपमा । उहाँलाई सम्झाउने, उहाँको जीवनबाट सिक्नुपर्ने, यति धेरै सुन्दर कुराहरू छन् कि गनेर साध्यै छैन ।
२५ वर्ष अघि ज्येष्ठ नागरिकका हकहीतको निम्ति सँगसँगै काम गरेको कुरा सम्झिन्छु । त्यतिबेला म अझै “ज्येष्ठ नागरिक’’ भइसकेकी थिइन । तर मेरो सपना थियो ज्येष्ठ नागरिकका निम्ति केही गर्ने । ज्येष्ठ नागरिक समाजका अमूल्य सम्पत्ति हुन्, जीउँदा इतिहास हुन्, निकाल्न सके ज्ञान र विवेकका खानी हुन् भन्ने लाग्थ्यो । पाको उमेरका विशेषताहरूलाई ख्याल राखेर ज्येष्ठ नागरिकका निम्ति विशेष योजना हुनुपर्छ भन्ने लाग्थ्यो । त्यसै क्रममा धेरै असल जेष्ठ नागरिकहरूसँग मेरो सरसंगत भयो । उहाँहरूको अमूल्य अनुभवहरू मैले सुन्न पाएँ ।
भैरव दाइसँग बसेर एउटा पुस्तक पनि लेख्ने अवसर मिल्यो । त्यो बेला सक्रिय भएर देश र समाजको निम्ति काम गर्ने ज्येष्ठ नागरिकहरू हुतराम वैद्य, प्राडा लीलादेवी केसी, डा राधाकृष्ण जोशी, अहिले १०२ वर्ष पुगिसक्नु भएका डा. गौरीशंकरलाल दास… आदिसँग काम गर्ने अवसर पाएँ । उहाँहरूमध्ये कति त मैले लेखेको पुस्तक “इतिहासका ज्यूँदा पानाहरू’’ मा पात्रकै रूपमा प्रवेश पनि गर्नुभयो ।
भैरव दाइ स्वयम् पनि एक पात्र हुनुहुन्थ्यो । उहाँलाई नै त्यो किताबको भूमिका लेख्न अनुरोध पनि गरेँ । उहाँले त नौलो तरिकाले सबै लेखेपछि आफ्ना विचारहरू लेखिदिनु भयो । त्यही कारणले त्यो पुस्तक मेरो पुस्तक मात्र नभएर भैरव दाइसँग सहलेखनको चिनो हो भन्छु म । सन् २००३मा भएको थियो त्यो ।
अहिले यतिका वर्ष बितिसकेका छन् । जति सम्झ्यो, उति कृतज्ञ हुन्छु उहाँप्रति । रेडियो सगरमाथामा उहाँको विशेष स्तम्भ थियो– ‘उहिले बाजेको पालामा’ । पाका उमेरका विशेष पात्रहरूलाई रेडियो स्टेशनमा बोलाएर अन्तरवार्ता लिनु हुन्थ्यो । ओझेलमा परेका इतिहासका कति महत्वपूर्ण कुरा सुन्न पाइन्थ्यो । एकपल्ट साधना प्रधानको अन्तरवार्ता लिनु भएको थियो– गज्जबको वजनदार आवाज थियो साधनाको । तर मान्छेको आवाज पनि उमेरसँगै बदलिँदो रहेछ । केही पछि एउटा कार्यक्रमा साधना प्रधानलाई बोल्न अनुरोध गर्दा उहाँले केही बोल्नै सक्नु भएन ।
भैरवदाइ पनि आफ्नो रेडियो–कार्यक्रम कुरो–कुन्थोमा एकनासले बोलिरहन सक्नु भएन । निर्धक्क निर्भीक भएर देशका भइरहेका अनेक विकृति बिरुद्ध बोल्नु हुन्थ्यो । देशकै अभिभावक बोलिरहेजस्तो लाग्थ्यो । पछि खोक्दै, स्वाँ स्वाँ गर्दै पनि बोल्न छोड्नु भको थिएन । ९७ वर्ष पुगुञ्जेल नै बोल्नुभयो ।
एकपल्ट उहाँलाई धेरै माया गर्ने सन्तान मध्येकै उहाँकै कान्छी छोरी सुशम रिसाल खतिवडाले “बा किन बुढो हुनु भा ?’’ भन्ने एउटा मार्मिक लेख लेख्नु भएको थियो । ९७ वर्षको जन्मदिन भन्दा केही अघिको मात्र कुरा हो । त्यो लेख पढेपछि मलाई रुनै मन लाग्यो । किन मान्छे बुढो हुन्छन् ? किन बिरामी पर्छन् ? जस्ता प्रश्नले भित्रैसम्म हल्लाइदिए ।
सिद्धार्थ गौतमलाई पनि त्यस्तै भएको हुँदो हो । त्यो बेला भैरव दाइको स्वास्थ्यमा समस्या आउन थालिसकेको थियो, रेडियोमा बोल्न पनि गाह्रो हुन थालिसकेको थियो । म नियमित श्रोता भैरव दाइको । सबभन्दा ठूला फ्यान मध्येकी एक । उहाँको सक्रियताको तारिफ गरिरहन्थेँ । उहाँबाट सिकिरहन्थेँ । पच्चीसवर्ष नै भयो होला उहाँले नै मलाई पनि रेडियो सगरमाथाका “रेडियो कुराकानीमा“ बोल्न लगाउनु भएको ।
त्यो बेला रेडियो कुराकानीमा सातदिन सातैजना पुरुषहरुको मात्र कुराकानी सुनिन्थ्यो बिहान ७ बजेको “कुराकानी’’ मा । मैले यो कुरा भनेपछि “तिमी नै आउ न त…’’ भन्नु भयो । त्यो बेलादेखि नै हो रेडियो सगरमाथामा म निरन्तर बोलिरहेको ।
सुरुमा ‘आवाज नहुनेको आवाज’ भनेर बोलें । पछि ‘जीवनबाट जीवन सिकौं’ भनेर बोल्न थालेँ । यसरी भैरव दाइ मेरो गुरु पनि हुनुहुन्छ । मैले बोलेका शब्द मिलेनन् भने तुरुन्तै फोन गरेर सच्याइ दिनु हुन्थ्यो ।
भैरव दाइका पछिल्ला जन्मदिनहरु झन् झन् अर्थपूर्ण हुन थालेका थिए । म पनि काम छोडेर भएपनि सामेल हुन्थें उहाँको जन्म दिनमा । वि.सं २०८० मा ‘भैरव दाइ ’ नामको पुस्तक निस्केको थियो । आजभन्दा ठीक एक वर्ष अघि यहीबेला तिर साउनको २७ गते भैरवदाइको ९७औं जन्मोत्सव औपचारिक रूपमा मनाउँदै थियौं । निम्तो उहाँले आफै दिनु भएको थियो– केही दिन अगाडि नै । उहाँको जन्म दिनमा उहाँको नजिक बसेर शुभकामना दिन पाउनु नै एउटा अहोभाग्य ठान्थेँ म ।
एक आदरणीय अभिभावक हुनुहुन्थ्यो मेरो निम्ति । भेट भइरहन्थ्यो, फोनमा पनि कुरा भइरहन्थ्यो। अन्तिम जन्मदिनमा दाइलाई के विचार आएछ कुन्नी ! नेवाः संस्कृति अनुसारको ‘ख्यें सगँ’ (फुल, माछा, बारा, फलफूल र रक्सी)समेत राखेर मनाउने रहर गर्नु भएछ ।
उहाँकै जेठी छोरी सुस्मा सापकोटाले फोनमा बुवाको इच्छा सुनाउनु भयो । म नेवारकी छोरी भएकोले मबाट त्यो सगुनको बन्दोबस्त होस् भन्ने थियो । म अत्यन्तै खुसी भएँ । सबै जिम्मा लिन नसके पनि हुन सक्ने जति गर्छु भनें । सुस्माजी पनि खुसी हुनुभयो ।
शनिवारको दिन थियो । वानेश्वरको पार्टी प्यालेसमा भैरव दाइका शुभचिन्तकहरू प्रायःजसो सबै पुग्नु भएको थियो । सगुनको कार्यक्रमबाट नै शुभारम्भ भयो कार्यक्रम । सगुनको सेट मसँग नभए पनि, मेरी दिदीसँग भनेर सगुनका मुख्य घटक मगाएकी थिएँ । त्यो बोकेर शुभ कार्यक्रममा पुगेँ ।
मञ्चमा दाइ सुशीला भाउजुसँगै हुनुहुन्थ्यो । सगुन दिनेबेला खुसी हुनुभयो दुवै । पालामा रक्सी राख्ने बेला भाउजुसँग भनेँ – “यो त दाइलाई हुदैन होला …’’ भाउजुले हाँस्दै “खानु हुन्छ होला ! ’’ भन्नुभयो । नभन्दै दाइले त पालाको रक्सी सुरुप्पै पार्नु भयो । कहिल्यै बिर्सिन सक्तिनँ भैरव दाइको रमाइलो, ठट्यौलो बानी र उहाँले समाज र देशलाई लगाउनुभएका अनगिन्ती गुन ।











