काठमाडौं । नागढुंगा सुरूङमार्ग करिब करिब सञ्चालन ल्याउन तयारी थालिएको छ । निर्माण कार्य सम्पन्न हुन लागेको नागढुंगा–नौबिसे सुरूङमार्ग आयोजनाले सुरूङमार्ग सम्बद्ध दक्ष नेपाली जनशक्ति उत्पादन गरेको मात्र छैन, मुलुकलाई सुरूङ युगमा समेत प्रवेश गराएको छ ।

२०७६ सालदेखि निर्माणाधीन सुरूङमार्ग करिब करिब अन्तिम चरणमा पुगेर सञ्चालनमा आउन लागेको हो । सञ्चालनको क्रमसँगै सरकारले नागढुंगा सुरुङ मार्ग छिर्दा लाग्ने दस्तुर पारित गरेको छ । मन्त्रिपरिषद्को गत साउन २६ गते बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
जसअन्तर्गत सडक विभागले तयार पारेको उक्त निर्देशिकामा नागढुंगा सुरुङ मार्गको उपभोग दस्तुर तोक्ने सम्बन्धमा कार भ्यानहरूले काठमाडौं आउँदा ६५ र जाँदा ६० रुपैयाँ तिर्नुपर्ने छ । मिनी बस र ट्रकले काठमाडौं आउँदा ११५ र जाँदा ८० रुपैयाँ तिर्नु पर्ने छ । यस्तै, बस र ट्रकका लागि काठमाडौं आउँदा २६० र जाँदा २०० रुपैयाँ तोकिएको छ भने भारी उपकरणका सवारी साधनले काठमाडौं आउँदा ६०० र जाँदा २५० तिर्नुपर्ने छ ।
मोटरसाइकल र डिजेल, पेट्रोललगायत प्रज्वलनशील इन्धन बोक्ने गाडीले भने सुरुङ मार्गमा प्रवेश गर्न पाउने छैनन । नागढुंगा–सिस्ने खोला सुरुङ मार्ग सञ्चालनका लागि करिब तयारी अवस्थामा पुगेको छ । केही सामान्यबाहेक सुरुङ मार्गका सबै काम सकिएको आयोजनाले दाबी गरेको छ ।
सडक विभाग मातहतको नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाका सिनियर डिभिजन इन्जिनियर सञ्जय पन्थीले सुरुङ मार्गको काम ९२ प्रतिशत बढी भइसकेको बताएका छन् । उनले भने, ‘आगामी कात्तिकमा ठेकेदारलाई कामका लागि दिइएको समय सकिन्छ । पुस महिनाबाटै सुरुङ मार्ग सञ्चालनमा आउनेछ ।’
ठेकेदार कम्पनीले पनि सबै काम पूरा गरी कात्तिकअघि नै सुरुङ मार्ग सडक विभागलाई हस्तान्तरण गर्ने तयारी गरेको छ । अहिले सुरुङ मार्गमा सवारीसाधन परीक्षणको काम भइरहेको आयोजनाले जनाएको छ ।
निर्देशिकामा नागढुंगा सुरुङ मार्गको उपभोग दस्तुर तोक्ने सम्बन्धमा कार भ्यानहरूले काठमाडौं आउँदा ६५ र जाँदा ६० रुपैयाँ तिर्नुपर्ने छ । मिनी बस र ट्रकले काठमाडौं आउँदा ११५ र जाँदा ८० रुपैयाँ तिर्नु पर्ने छ । यस्तै, बस र ट्रकका लागि काठमाडौं आउँदा २६० र जाँदा २०० रुपैयाँ तोकिएको छ भने भारी उपकरणका सवारी साधनले काठमाडौं आउँदा ६०० र जाँदा २५० तिर्नुपर्ने छ ।
आयोजनाका अनुसार सिस्नखोलातर्फ काम भइरहेको छ । सुरुङ मार्ग सञ्चालनमा आएपछि काठमाडौंबाट बाहिरिने र बाहिरबाट काठमाडौं भित्रिने सवारी साधनलाई थानकोट र नागढुंगामा जाममा बस्नुपर्ने बाध्यता हट्ने छ ।
सुरुङ मार्ग भएर गुड्ने सवारी साधनले उक्त दूरी आधा घण्टामै पार गर्ने छन् । साढे दुई किमी बाटो छोटो बनाउने सुरुङ मार्ग हाल बलम्बुदेखि सिस्ने खोलासम्मको दूरी साढे ७ किमी छ । सुरुङ मार्ग सञ्चालनमा आएपछि बलम्बुबाट सिस्ने खोलासम्मको दूरी ५ किमी हुनेछ ।
२०७६ सालबाट निर्माण सुरु गरिएको सुरुङ मार्ग परियोजनाको म्याद दुई पटक थप भइसकेको छ । सुरुङ मार्गको निर्माण जापानी ठेकेदार कम्पनी हाजमा–आन्दो जेभीले गरिरहेको छ । आयोजनामा १६ अर्ब रुपैयाँ जाइकाको सहुलियतपूर्ण ऋण छ भने मुआब्जालगायतमा नेपाल सरकारले थप नौ अर्ब खर्च गरेको छ । आयोजनाका अनुसार सुरुङ मार्ग निर्माण सञ्चालनका लागि अहिलेसम्म अन्डर पास, बक्स कल्भर्ट र ओभर पास बनाउने काम भइसकेको छ ।सुरुङ मार्ग प्रवेश गर्ने तीन वटा पुल बनिसकेका छन् ।
फ्लाइओभर (ओभर पास)को काम पनि लगभग सकिएको आयोजनाको भनाइ छ । फ्लाइओभर वान वे (एकतर्फी) छ । काठमाडौंबाट बाहिरिन सवारीसाधनले मात्र फ्लाइओभर प्रयोग गर्न पाउने छन् । काठमाडौं भित्रिने सवारी साधनले फ्लाइओभर प्रयोग गर्न नपाउने व्यवस्था गरिएको छ ।
यात्रुको सुरक्षा पहिलो प्राथमिकतामा
आयोजनाका परामर्शदाता इन्जिनियर रमेश कोइरालाका अनुसार सुरुङ मार्गमा बाहिर सडकको भन्दा पृथक् रूपमा यात्रुहरूको सुरक्षा व्यवस्था हुनेछ । बाहिरी सडकमा आपत्कालीन स्थिति आए जताततैबाट यात्रुको उद्धार गर्न सकिन्छ तर सुरुङ मार्गमा त्यस्तो हुँदैन । सुरुङ मार्गमा केही भइहालेको खण्डमा अगाडि र पछाडि जाम हुन्छ । यात्रु भाग्न पाउँदैनन् र उद्धार गर्न पनि कठिनाइ पर्छ ।
यसकारण सुरुङ मार्गमा वैकल्पिक सुरुङ ‘इभ्याकुएसन टनेल’ अर्थात् रेस्क्यू टनेल बनाइएको छ, जुन यात्रु तथा सवारीसाधन हिँड्ने टनेलभन्दा ३० मिटरको दूरीमा छ । मुख्य टनेलबाट रेस्क्यू टनेलमा जान सात वटा गेट बनाइएको कोइरालाले बताए ।
उनका अनुसार सुरुङ मार्गमा टेलिफोन बुथ, सिसिटिभी पनि राखिएको छ । टनेलमा कुनै दुर्घटना घटिहाल्यो भने तत्काल उद्धारका लागि कन्ट्रोल रुमको पनि व्यवस्था गरिएको छ । टनेलमा मोबाइल फोन पनि चल्ने व्यवस्था मिलाइने छ । भवितव्य भइहालेमा तत्काल उद्धारमा खटिने गरी टनेलको दुवै साइडमा एम्बुलेन्स र दमकल तयारी अवस्थामा राखिने छ ।
सुरुङ मार्गमा अक्सिजनको निरन्तर आपूर्ति सबैभन्दा संवेदनशील विषय हो । टनेलभित्र सवारीसाधनको चापले गर्दा मानिसलाई अक्सिजनको कमी हुने गर्छ । यसका लागि टनेलभित्र भेन्टिलेसन्स सिस्टम जडान गरी १५ सेटको ‘जेट फ्यान’ राखिएको उनले बताए । जेट फ्यानले गाडीबाट निस्किने हानिकारक ग्यासलाई बाहिर फाल्ने र बाहिरबाट भित्र स्वच्छ हावा प्रसारित गर्छ ।
सुरूङमार्गको सुरक्षा, सहज आवागमन र मानवीय सुरक्षाका लागि सुरूङभित्र दमकल, आकस्मिक उद्धार, सीसीटीभी क्यामेरा, सञ्चार र सुरक्षा संयन्त्र, अक्सिजनको निरन्तर प्रवाहजस्ता सुरूङमार्गका अत्यावश्यक सेवा (टनेल फ्यासिलिटी) उपलब्ध गराउने कामलाई अन्तिम रूप दिइरहेको छ । समानान्तर उद्धार आदि कार्यका लागि समानान्तर सहायक सुरूङसमेत खनिएको छ ।











