काठमाडौं । नेकपा माओवादी केन्द्रले उखु किसानका जायज मागलाई यथाशीघ्र सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

मङ्गलवार काठमाडौंको माइतिघरमा पुगेर उखु किसानहरूको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उखु किसानको मागप्रति माओवादीको समर्थन रहेको बताउँदै यथाशीघ्र माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
उखु किसानले भुक्तानीका लागि पटक पटक सङ्घर्ष गर्नुपर्ने स्थितिको अन्त्य हुनुपर्ने उनले बताए । श्रेष्ठले उखुको बक्यौता अनुदान रकम प्रति क्वीन्टल रु ७० का दरले भुक्तानी प्रक्रिया सुरु गर्नुपर्ने र न्यूनतम मूल्य समेत वृद्धि गर्नुपर्ने बताए । उखु किसानको आन्दोलनलाई सफल पार्न माओवादीको सम्पूर्ण साथ र समर्थन रहने उनको भनाइ छ ।
उखु उत्पादक महासङ्घ, उखु उत्पादक कृषक समिति लगायतले गत आर्थिक वर्षको उखुको बक्यौता अनुदान रकम प्रति क्वीन्टल रु ७० का दरले भुक्तानी गर्नुपर्ने भन्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् ।














