Logo
Logo

बलिदानको मूल्य बुझ्ने नेतृत्वको खोजी


1.7k
Shares

यतिबेला दलका नेता र तिनका दलालहरूको फौज नैतिक पराजयको भारी बोकेर झुकिरहेको छ । सडकमा आगोजस्तै भड्किएको ‘जेनजी’ पुस्ताको विद्रोहपश्चात् बारम्बार जनताको रगत–पसिना लिलाम गरेर आफ्नो आधिपत्य ठड्याउनेहरू मुर्छित बनेको अवस्था छ । पुराना दल र तिनका पुराना नायकहरूको अनुहार ओइलाएको बेला अनपेक्षित रूपमा सुशीला कार्कीले त्यही विद्रोही रगतको बलमा परम्परागत ढोकालाई भत्काएर प्रधानमन्त्रीको शपथ लिएकी छिन् ।

भ्रष्टाचार, दलाली र शासक वर्गको दुराचारी जीवनशैलीले सिंगो पुस्तालाई निराश बनाइरहेको थियो । कयौँपटक हाम्रो कलमले लेखेका चेतावनीहरू, आम नागरिकले उठाएका खबरदारीहरू, पटकपटक संसद्मा प्रतिध्वनित भएका सवालहरू, सामाजिक सञ्जाल र आम सञ्चारमाध्यममा पोखिएका आक्रोशहरूलाई शासकहरूले मजाक ठानिरहेका थिए ।

जब ‘जेनजी’ पुस्ताले सुशासनलाई मुख्य मुद्दा बनाएर सडकमा ल्यायो, तब तत्कालीन राज्य सञ्चालकहरूले त्यसलाई मजाक ठानेर खिसिट्युरी गर्दै दबाउने चेष्टा पनि गरे । अझ त्यसमाथि सामाजिक सञ्जाल बन्द गर्ने बहानामा नागरिक अधिकार कटौती गर्ने कदम चालेर जनता जिस्क्याउन खोजे । फलस्वरूप स्कुले किशोर–किशोरीदेखि विश्वविद्यालय पढ्दै गरेका युवासम्म सडकमा ओर्लिए ।

उनीहरूले चिच्याउँदै अधिकार माग्दा राज्यले बन्दुकको गोली उपहार दियो र देशलाई अझ पीडादायी त्रासदीमा डुबायो । जब शान्तिपूर्ण आन्दोलनमाथि गोली बर्सिन्छ, तब इतिहासले बारम्बार देखाएको छ कि त्यसको आक्रोशले धैर्यताको सीमा नाघ्छ र सत्ताको ढोका ध्वस्त पार्छ ।

यसपालि सडकमा उम्लिएको विद्रोह कुनै क्षणिक उत्तेजना थिएन । बरु त्यो त पुस्तौँपुस्ताको पीडाको वंशावली थियो । जसमा कहिले ‘जनयुद्ध’को नाममा आफ्नो रगत बगाएका गाउँका गरिब युवा थिए, कहिले ‘जनआन्दोलन’को नाममा १९ दिन सडकमा लडेर सहिद बनेका क्याम्पसका विद्यार्थी थिए । कहिले खाडीमा पसिना बगाएर फर्किएका रित्तो हातका प्रवासी नेपाली थिए र कहिले आफ्नै भविष्य नष्ट भएको महसुस गरेर ‘पढेलेखेका बेरोजगार’को जमातमा धकेलिएका आजका युवाहरू थिए ।

यो वंशावलीलाई शासकहरूले लगातार अपमान गर्दै, ‘देशमा सबै ठिक छ’ भन्ने भ्रममा सिँगार्दै, सामाजिक सञ्जालसम्म नागरिकको आवाजलाई ‘नियन्त्रित’ गर्ने कानुनी षड्यन्त्रमा होमिएका थिए । तथापि, इतिहासलाई थाहा छ, जब सत्ताले जनताको आवाज दबाउन खोज्छ, त्यही क्षण विद्रोहको घण्टी बज्न थाल्दछ, यसपटक त्यही भयो ।

सामाजिक सञ्जाल बन्द गरेर नागरिकलाई गुमराहमा पार्न खोज्नेहरूको नीतिले उल्टै सडकलाई ‘ज्वालामुखी’मा बदलिदियो । जेनजी पुस्ताले माग गरेको कुरा कुनै आलंकारिक क्रान्ति थिएन, बरु सबैभन्दा सामान्य र प्राकृतिक अधिकारहरू– रोजगारी, न्याय, समानता, सुशासन र अभिव्यक्ति स्वतन्त्रता थियो । तर त्यही सामान्य मागलाई पनि शासक वर्गले आफ्नो कुर्सीको रक्षा गर्न मजाक ठानेर गोली बर्साउन थाले । त्यसै क्षण सत्तामा रहेको पुस्ताको नायकत्व ‘हत्या’को प्रतीक बनेर ढल्यो ।

दुर्भाग्यवश, आन्दोलनको आक्रोशसँगै संवेदनशील सम्पदास्थलहरू, ऐतिहासिक अभिलेखहरू, व्यक्तिगत सम्पत्ति र सर्वसाधारणको पसिना मिसिएको व्यापार–व्यवसायलाई समेत क्षति पु¥याउँदा आन्दोलनको न्यायिकतामाथि प्रश्न उठ्यो । जसलाई पछाडि बसेर कतिपय शक्ति केन्द्रहरूले आफ्नो एजेन्डा अघि सार्ने माध्यम बनाए ।

माओवादी केन्द्रले भ्रष्टाचार र बेथितिको बहानामा ओलीलाई सत्ताबाट हटाउने लक्ष्य राख्यो । एमाले र कांग्रेसले भीडलाई उग्र बनाएर आफ्नो राजनीतिक दाउ थाप्न खोजे, रास्वपाले आफ्नो प्रमुख नेता रविलाई जेलमुक्त गर्न आन्दोलनलाई उपयोग गर्न चेष्टा ग¥यो । राजावादीहरूले त झन् व्यवस्था नै उल्ट्याउने सपना बोकेर शक्ति नपुग्दा जेनजीको आन्दोलनलाई तोडफोड र आगजनीतर्फ मोड्न खोजे ।

जे होस्, यो क्षणमा देशले पहिलोपटक महसुस ग¥यो कि शक्ति वास्तवमा सडकमा हुन्छ, जनता र युवा पुस्ताको काँधमा हुन्छ । न्यायका लागि उठ्ने हातमै हुन्छ, नत्र त दशकौँदेखि दलहरू र नेताहरूले ‘जनता’ भन्ने शब्दलाई भाषणको सौन्दर्यशास्त्रबाहेक के बनाएका थिए र ? जब सडक विद्रोहले संसद्का ढोका थर्काइदियो, जब बालुवाटारका बगैँचामा गजगजाएर उत्रिएका नाराहरूले सरकारको झ्यालमै आइपुगेर निद्राहीन बनायो, जब बलजफ्ती पारित गरेका सामाजिक सञ्जाल नियन्त्रणका विधेयकहरू कागजको थुप्रोमाथि जलिरहेको मैनबत्तीझैँ भस्म भए, त्यसपछि मात्र दलहरूले आफ्नो अपराधवोधलाई ‘जनताको आदेश’ भनेर स्वीकार गर्न बाध्य भए ।

देश र नागरिकका असन्तुष्टिहरू राज्यले सुन्नुपर्छ, र त्यसको समाधानको बाटो सुनिश्चित गर्न सक्नुपर्छ । समयमै सबैका असन्तोषहरू समाधान गर्न नसकिएला, तर त्यतातिर कम्तीमा अग्रसरता त देखाउनुपर्छ । यद्यपि, झण्डै तीन दशकअघिदेखि राज्यसत्तामा हालीमुहाली जमाएको हाम्रो पुरानो पुस्ता ‘कमाउ र राज गर’को उल्टो बाटो हिँड्न थाल्यो ।

कयौँपटकका चेतावनी र सचेतनामूलक सल्लाहहरू उनीहरूका लागि छेपारालाई शास्त्र सुनाएझैँ भए । जसको परिणामस्वरूप अस्तिको आन्दोलनको डढेलोले उनीहरूलाई मात्र जलाएन । भर्खरैका कलिला किशोरहरू अनाहकमा मृत्युशय्यामा पुगे । कयौं अंगभंग बने । देशको सम्पत्ति र इतिहास बोकेका पुरातात्त्विक संरचनाहरू खरानी बने ।

त्यसैले आज हामीले देखेको यो मोड कुनै आकस्मिक दुर्घटना होइन, यो त लामो समयदेखि खनिएको खाल्डोमा सञ्चित आक्रोशको विस्फोट हो । जहाँ पुराना दलका पुराना नायकहरूको अनुहार ओइलाएर ढलिसकेको छ । दलालहरूको फौज तीतो सत्यसँग टक्कर खाइरहेको छ, अनि जनताको विश्वासको काँचो धागो पहिलोपटक ‘सत्यमेव जयते’को अभ्यास गर्ने बाटोमा प्रयत्नशील छ ।

अब यो देशको सत्ता दलालहरूको खेलमैदानमा होइन, फेरि एकपटक जनताको हातमा फर्किएको छ । अनि योपटक बगेको जनताको रगतको मूल्य सस्तोमा बेचिने छैन । यसपालिको आन्दोलनलाई दलहरूले आफ्नो बिर्सन सक्ने घोषणापत्रमा मात्र सीमित गर्न दिने छैनन्, योपटक क्रान्ति साँच्चिकै सुशासनमा परिणत हुन्छ भन्ने विश्वासको संग्राम जारी रहनेछ ।

इतिहासले हामीलाई देखाइरहेको छ कि, जबजब नेपाली जनताले बलिदान दिएर उपलब्धि हात पारे, त्यसलाई संस्थागत गर्न असफल हुँदा फेरि बलिदानको मूल्य खेर गएको छ । हामी आज फेरि त्यही मोडमा उभिएका छौँ । यसपटक सबै स्वार्थ त्यागेर, पार्टीगत लाभ र पद प्रतिष्ठाभन्दा माथि उठेर, जेनजी पुस्ताले गरेको बलिदानलाई संस्थागत गर्न सकेनौँ भने आगामी पुस्ता फेरि अर्को ठूलो बलिदान दिन बाध्य हुनेछ ।

त्यसैले जसले खरानी भएका संरचनालाई बटुलेर एउटै धागोमा उन्न सक्छ, जसले जनताको आँसु र रगतको मूल्य बुझ्छ, जसले पारदर्शिता, जबाफदेहिता र न्यायलाई शासनको आधारस्तम्भ बनाउन सक्छ, त्यस खालको नेतृत्व देशलाई आवश्यक छ ।

चिल्ला र मिठा भाषण र उखान टुक्काले भरिएको राजनीतिले अब पार लगाउन सक्दैन । जनताले विश्वास गर्ने सक्षम नेतृत्व चाहिन्छ, जसले हावामा उडाउने सपना नभनी, माटो सुहाउँदो र यथार्थपरक बाटो देखाउँछ । यस्ता सपूत जसले खरानीलाई महल बनाउने कला जान्दछ । हामीलाई विगतको ध्वंसलाई भविष्यको निर्माणमा बदल्न सक्ने अभिभावक चाहिएको छ । अब सबैले मनन गर्नुपर्ने समय यही हो कि हामी कुन दिशामा जाँदैछौँ ? फेरि त्यही स्वार्थी राजनीतिक खेलमा फस्ने कि बलिदानलाई संस्थागत गर्ने ?

अब कुनै नयाँ जनआन्दोलनको लागि ठाउँ छैन, बरु विद्यमान आक्रोशलाई संस्थागत उपलब्धिमा बदल्नु नै आजको पुस्ताको कर्तव्य हो । सुशासन र अभिव्यक्ति स्वतन्त्रताको न्यायोचित माग गर्दै ‘जेन–जी’ले सडकमा पोखेको रगत, ढलेका सपना र ध्वस्त भएका संरचनाको खरानीबाट जन्मिएको यो नागरिक सत्ता केवल अर्को इतिहासको पुनरावृत्ति नभई नयाँ यात्राको ज्योति बन्न सक्नुपर्छ ।

नागरिक सर्वोच्चता, उत्तरदायित्व र सुशासनलाई आधारशिला बनाएर यो सत्ताले मुलुकलाई अन्धकारको चक्रव्यूहबाट उज्यालोको क्षितिजतर्फ डो¥याओस् भन्ने शुभकामना ।
– लमही, दाङ, हाल : साउदी अरेबिया

प्रतिक्रिया दिनुहोस्