Logo
Logo

नयाँ पुस्ताले बनाउने नयाँ नेपालको आधारशिला


378
Shares

हाम्रो मुलुकको इतिहासमा कयौँपटक परिवर्तनका ठूलाठूला आन्दोलनहरू भए । व्यवस्था र अवस्था परिवर्तनको नाममा हजारौँ नेपाल आमाका छोराछोरीले बलिदान दिए । तर पनि नेपाली राजनीतिलाई पटकपटक जनताको विश्वास अनि रगत–पसिनाको खरानीमा घोलेर उनै पुराना शक्तिकेन्द्रको चाकरी र दलालीमा पुनरुत्थान हुने परिपाटी बस्दै गयो ।

जे होस् विगत ३० वर्ष अघिदेखिको अन्योलग्रस्त परिस्थितिमा जेन–जी विद्रोहले भुइँचालो नै ल्याइदिएको छ । जसले पुराना दलका नकाब च्यातिदिएको छ । नेपालको राजनीतिक यात्राले बारम्बार एउटा सत्य प्रमाणित गरिरहेको छ कि देशले सुशासनको दिशामा पाइला चाल्न सकेन भने जनताको धैर्यत सकिन्छ र विद्रोह अपरिहार्य बन्छ ।

लोकतन्त्र, गणतन्त्र र संघीयतासहितका सबै प्रणालीको प्रक्षेपण गरियो, तर ती सबैको प्राण भनेको सुशासन नै हो भन्ने कुरा राजनीतिक दलहरूले आत्मसात गर्न सकेनन् । परिणामस्वरूप, आज हामीले ‘जेन–जी विद्रोह’ जस्तो ऐतिहासिक घटना देख्यौं, जसले केवल पुराना दलहरूको असफलतामात्र होइन, सम्पूर्ण प्रणालीको खोक्रोपनलाई पनि उजागर गरिदिएको छ । साथमा यो जेन–जी विद्रोहले पहिलोपटक पुरानो पुस्ताको सत्तामोहलाई छर्लङ्ग पारिदिएको छ ।

कपोकल्पित भाषणमा आफूलाई सर्वज्ञ ठान्ने, मञ्चमा उभिएर धर्मशास्त्रका पण्डितले झैँ कथा बुन्ने, इतिहासलाई आफूअनुकूल व्याख्या गर्ने, तर जनताको भोक र वेरोजगारी, भ्रष्टाचार र अन्यायलगायत वास्तविकताको कुरा आउँदा उल्टै मुख थुन्न अघि बढ्ने दलगत प्रवृत्ति यतिखेर आफ्नै अहंकारको भुँग्रोमा परेर थला बसेको छ ।

जेन–जी पुस्ता जन्मदेखि नै राजनीतिक असफलता, भ्रष्टाचार र अवसरवादी नेतृत्वसँगै हुर्किएको पुस्ता हो । उनीहरूलाई न नोकरीको भरोसा छ, न शिक्षाको गुणस्तरीय आधार, न स्वास्थ्य वा सुरक्षाको ग्यारेन्टी ।

आजसम्म विदेश पलायनलाई जीवनको अन्तिम उपाय बनाउनुपर्ने बाध्यता नै उनीहरूको दैनिक वास्तविकता बनेको छ । जब नेतृत्वले यिनै समस्या समाधान गर्नुभन्दा उल्टै आफूलाई मात्र सुरक्षित बनाउने र परिवार अनि सन्तानलाई अवसर बाँड्ने काम गर्यो, तब जेन–जी पुस्ता सडकमा ओर्लिन बाध्य भयो । यो विद्रोह कुनै नेताले उक्साएको होइन, यो विद्रोह पुराना दलहरूको असफलताले नै जन्माएको सत्य हो ।

भलै आन्दोलनको बीचमा अनेकन शक्ति–समूहहरु घुसपैठ गरेर आफ्नो निहित स्वार्थ पूर्तिका लागि केही अप्रिय घटनाहरू घटाए पनि समग्रमा यो विद्रोहले अन्तर्राष्ट्रिय रूपमा समेत एउटा सचेत सन्देश प्रवाह गरेको छ । मूलतः पुराना मुख्य दलहरू नेपाली कांग्रेस, एमाले, माओवादी, मधेशवादी वा अन्य क्षेत्रीय दलहरु मिलेर मुलुकलाई सुशासन होइन, मनपरी शासनको लयमा लैजाने काम गरेको सत्य हो ।

सत्तामा पुगेपछि राज्यको ढुकुटीलाई निजी सम्पत्तिझैँ प्रयोग गर्ने, पार्टीभित्रकै गुटबन्दी मिलाउन राज्यकोष खर्च गर्ने, विदेशी शक्तिको कृपा–अनुग्रहमा नीतिहरू तय गर्नेभन्दा अर्को उपलब्धि दिन सकेनन् । जनताले बारम्बार विश्वास गरेर मत दिए, तर दलहरूले त्यही विश्वासलाई बेइमानीमा परिणत गरिरहे । यिनै कारणले युवापुस्तामा आक्रोश बढ्दै गयो, बेरोजगारीको खाडल अझै गहिरो बन्यो र अन्ततः जेन–जी विद्रोहको रूपमा विस्फोट हुन पुग्यो ।

आज उच्चशिक्षा प्राप्त गरेका नेपाली युवाहरूको ठूलो हिस्सा विदेश पलायन हुन बाध्य छ । लाखौँ युवाले खाँडीको तातो बालुवामा पसिना बगाएर देशलाई रेमिट्यान्सले पठाइरहेका छन् । यद्यपि नेताहरुको मस्तिष्कमा आफ्नै देशमा रोजगारी सृजना गर्ने सोच वा योजनाको सधैं अभाव देखियो । कृषि उत्पादनमा आत्मनिर्भर हुनसक्ने देश आयातमा निर्भर बनाइएको छ ।

उद्योगहरु बन्द छन्, कारखाना उजाड र व्यापारमा जतासुकै दलालतन्त्र हाबी छ । यी सबै बेथितिले देशलाई आक्रान्त बनाउँदा समेत पुराना दलहरूले सत्ता टिकाइराख्न मात्र प्राथमिकता दिए । दीर्घकालीन योजनामा ध्यान दिन सकेनन् । यिनै कारण कुसाशनले देशमा राज गरेको हो । अहिलेको विद्रोहको पहिलो नारा नै सुशासन हो ।

भ्रष्टाचार गर्ने नेताले तुरुन्तै कारबाही भोग्नुपर्ने, राज्यका स्रोत–साधनमा पारदर्शिता कायम हुनुपर्ने, सरकारी सेवा उत्तरदायी बन्नुपर्नेलगायतका विषय नै आजका युवापुस्ताका माग हुन् । सुशासन भनेको केवल घुसखोरी नहुनुमात्र होइन, अवसरमा समानता, निर्णयमा पारदर्शिता, न्यायमा पहुँच र नेतृत्वमा जबाफदेहिता पनि हो । यो मागलाई नजरअन्दाज गर्ने अबका कुनै पनि सरकार टिक्न सक्दैन ।

विद्रोहपछि बनेको अन्तरिम सरकारले देशलाई अस्थिरताबाट स्थिरतामा लैजानुपर्ने ठूलो जिम्मेवारी बोकेको छ । यसको पहिलो कर्तव्य भनेको तोकिएको मितिमै निष्पक्ष र स्वतन्त्र निर्वाचन सम्पन्न गर्नु हो । निर्वाचन नै जनताको प्रतिनिधित्व गर्ने माध्यम हो । अन्तरिम सरकारलाई विश्वासिलो बनाउन पनि यही मार्ग सबैभन्दा महत्त्वपूर्ण हुन्छ, तर यो सजिलो छैन । निर्वाचन केवल कुर्सी बाँड्ने प्रक्रिया होइन । यो राष्ट्रको भविष्य निर्माण गर्ने ढोका हो । आउँदो निर्वाचनमा पुराना दलहरूलाई जनताले पुनः अस्वीकार गर्ने वा फेरि एकपटक मौका दिने निर्णय गर्नेछन् । तर यसपालि युवापुस्ताको चेतना जागिसकेको छ, उनीहरू भावनामा होइन, प्रश्नमा विश्वास गर्छन् । त्यसैले निर्वाचनले नयाँ शक्ति जन्माउने सम्भावना उच्च छ । यसलाई सहज र निष्पक्ष बनाउन अन्तरिम सरकारले कानुनको शासन, सुरक्षाको ग्यारेन्टी र मतदाता शिक्षामा विशेष ध्यान दिनुपर्ने जरुरी छ ।

देश अहिले ऐतिहासिक मोडमा छ । पुराना दलहरूको लोभ, स्वार्थ र असफलताले जन्माएको विद्रोहलाई नयाँ पुस्ताले अवसरमा बदल्न सक्ने वातावरण सिर्जना गर्नु हामी सबैको दायित्व हो । तर यदि फेरि पनि पुरानै दलहरूले मुख मिठ्याउँदै मौका पर्खिरहे, अन्तरिम सरकारले आफ्नो जिम्मेवारी पूरा गर्न सकेन भने, यो मुलुक अझ ठूलो दुर्घटनातिर धकेलिने निश्चित छ ।

त्यसैले अब कुनै बहानाबिना तोकेको मितिमै निर्वाचन सम्पन्न गर्नुपर्छ । नयाँ पुस्तालाई प्रत्यक्ष निर्वाचनमार्फत कार्यकारी नेतृत्वमा ल्याउनुपर्छ, अनि मात्र हामीले वर्षौँदेखि पर्खिएको सुशासनको बाटो खुल्न सक्छ । यी आधारहरूमा टेकेर मात्र हामीले चाहेको नयाँ नेपाल निर्माण गर्न सम्भव छ । जेन–जी विद्रोह केवल एउटा पुस्ताको असन्तोषमात्र होइन, बरु नेपालको असफल शासन, दलगत स्वार्थ र नेतृत्वको अवसरवादको सामूहिक प्रतिवाद हो ।

यो आन्दोलनले पुराना दलहरूको खोक्रो भाषण, नीतिगत असफलता र जनताको विश्वासमाथि गरिएको निरन्तर विश्वासघातलाई स्पष्टतापूर्वक अस्वीकार गरेको छ । लोकतन्त्र, गणतन्त्र, संघीयताजस्ता राजनीतिक संरचनाहरूको बाहिरी स्वरूप जति नै आकर्षक भए पनि, तिनको प्राण सुशासनमा निहित हुन्छ भन्ने कुरा यस आन्दोलनले देशभरि पुनः प्रतिध्वनित गरिदिएको छ ।

अबको राजनीतिक भविष्य युवापुस्ताको चेतनामा अडिएको छ । जेन–जी पुस्ताले माग गरेको सुशासन, पारदर्शिता, जबाफदेहिता र समान अवसरलाई बेवास्ता गर्ने कुनै पनि शक्ति अब दीर्घकालीन रूपमा टिक्न सक्दैनन् भन्ने कुरो स्पष्ट भएको छ । यदि अन्तरिम सरकारले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा गरेर नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने बाटो खोलिदियो भने, यो विद्रोह केवल आक्रोशको विस्फोटमा मात्रै सीमित हुनेछैन, बरु नयाँ नेपालको राजनीतिक आधारशिला बन्नेछ ।

लमही दाङ, हालः साउदी अरेबिया

प्रतिक्रिया दिनुहोस्