नेपाली साहित्यमा कथा, कविता, उपन्यास, गीत, मुक्तक लगायत विविध विधाहरूमा पुस्तक प्रकाशन निरन्तर नै छ । केही समय अगाडि कथासङ्ग्रह ‘बेग्लै म’ प्रकाशन पश्चात् अहिले उहाँले मुक्तकसङ्ग्रह ‘त्रासदीका हिमनदी’ प्रकाशन गर्नु भएको छ ।

पचास वर्षभन्दा वढि निरन्तर साधनामा रमाउनु हुने उषा शेरचन नेपाली साहित्यका अब्बल स्रष्टा हुनुहुन्छ । समकालीन नेपाली मुक्तकलेखनकी एक सशक्त महिला हस्ताक्षर पनि । उहाँ लेखनमामात्र सीमित नभएर नेपाली साहित्यमा अनुजलाई माया र अग्रजलाई सम्मान गर्नुहुन्छ ।
तिसको दशक देखि नेपाली साहित्य साधनारत उषा शेरचनले नेपाली साहित्य र नेपाली समाजको दारुणिक युगनै झेल्नु भएको छ । त्यतिबेला साहित्य क्षेत्रमा लाग्ने बाटाहरू वास्तवमै सजिला थिएनन्, त्यसका बाबजुद पनि उहाँको नेपाली साहित्यप्रतिको निष्ठा र निरन्तर साधनाले साहित्य जगत्मा उहाँको योगदान निरन्तर छ ।
मुक्तक विधामा पहिलोपटक टिकटमा मुक्तक सुन्ने परम्पराको थालनी गर्ने एकजना सशक्त अभियानकर्ता पनि हुनुहुन्छ । ‘त्रासदीका हिमनदी’पुस्तक पनि समर्पण गर्नु भएको छ, पोखरेली युवा सांस्कृतिक परिवारलाई । उहाँ पुस्तकमा लेख्नुहुन्छ–‘पोखरेली युवा सांस्कृतिक परिवारलाई जसले नेपालमा पहिलोपल्ट टिकटमा मुक्तक सुन्ने कार्यक्रमको थालनी गरेर पोखरालाई मुक्तकको राजधानी बनायो र मुक्तक सुन्न पोखरा जानु भन्ने उखान कायम गर्यो ।’
यसरी मुक्तक विधालाई चिनाउने तथा सुन्दर नगरी पोखरालाई मुक्तकको राजधानी बनाउने अभियान अहिले पनि चर्चित छ । उहाँको यो पछिल्लो कृति‘त्रासदीका हिमनदी’ले त्यो अभियान ताजा बनाएको छ ।
उहाँ ‘त्रासदीका हिमनदी’मा लेख्नुहुन्छ–‘मुक्तक लेखन थालनी गरेको पनि झण्डैझण्डै आधा शताब्दी पुग्न लागि सकेछ र अक्षरहरूको शिविरबाट(मुक्तकसङ्ग्रह,२०५६) प्रकाशित भएको पनि पच्चिस वर्ष कटिसकेछ । हुन त म उर्वरै लेख्ने साहित्यकार त होइन तर जतिसुकै प्रतिकूल अवस्थामा पनि लेखनको धर्मलाई नछाड्ने निरन्तर हिँडिरहने यात्री भने पक्कै हुँ है फेरि ।’
लेखिरहने तथा साहित्यमा केही न केही गरिरहन रुचाउने उषा शेरचनको आधा शताब्दीको लेखन यात्रा वास्तवमै सुमधुर देखिन्छ । जीवनका सत्तरीऔँ बसन्तसँग साक्षात्कार गरिरहनु भएकी उहाँ साहित्यिक पारखीहरुका लागि प्रेरणाका स्रोत हुनुहुन्छ ।
उहाँको पछिल्लो कृति ‘त्रासदीका हिमनदी’मुक्तकसङ्ग्रहका बारेमा केही लेखिरहँदा उहाँको शालिन व्यक्तित्वको पनि झल्झली याद आइरहन्छ । लेखन, जीवन र समाज भन्दा बाहिर जान सक्दैन, सरल शैलीमा समाजका चित्रहरू कोर्न सक्नु पनि लेखनको एउटा सुन्दर कला हो । उहाँका लेखन पनि समाजका मार्गचित्र हुन् । जसले सहज, सजग भएर सुन्दर जीवनका मार्गहरूलाई पहिल्याउन सक्षम छन् ।
‘त्रासदीका हिमनदी’मुक्तकसङ्ग्रहमा जीवन ः आफ्नै दृष्टिकोण, राजनीति ः विसङ्गतिको पराकाष्ठा, समाज ः असङ्गतिको गर्त, प्रणय ः केही बाछिटा र अनुभूति ः विविध आयाम लगायत पाँच भागमा एकसय चौतिस थान मुक्तकहरू सङ्ग्रहित छन् । वास्तवमा हामीले हाम्रो जीवनसँगै ल्याएका जीवनका हरेक मार्गहरूसँग सहकार्य गर्नुको विकल्प छैन । उषा शेरचनले पनि आफ्ना जीवन र जीवनयात्रामा भोगेका आफ्ना भोगाइलाई सिर्जनाको माध्यमबाट उजागर गर्नु भएको छ, ‘त्रासदीका हिमनदी’मार्फत ।
मुक्तक मार्फत राष्ट्रिय चिन्तन, समानताको नारा, मानवीय संवेदनाका स्वरहरू बुलन्द रूपमा प्रस्तुत भएका छन् । मुक्तक मार्फत उहाँले नलेखेको विषय खोज्न कठिन छ, त्यो पनि मुक्तकको परिधिमा रहेर त्यसकारण उनका यी मुक्तकहरू पठनीय र माननीय छन् । मुक्तक मार्फत पनि देश, काल परिस्थितिका अनेक आवाजहरू बुलन्द रूपमा उठाउन सकिने रहेछ भन्ने एउटा राम्रो उदाहरण बनेको छ, ‘त्रासदीका हिमनदी’ ।
मुक्तक, चतुष्पदीय (चार हरफको), आफैँमा स्वतन्त्र विधा हो । मुक्तकका पहिलो हरफले विषयको उठान गर्छ, दोस्रो हरफले उठानलाई थप समर्थन गर्छ, समग्रमा, सुरुका दुई हरफले पृष्ठभूमि तयार पार्छ, तेस्रो हरफ स्वतन्त्र हुन्छ र यो हरफले चौथो हरफमा झट्का हान्न उपयुक्त वातावरण तयार पार्छ, चौथो हरफ वजनदार र झट्का दिने खालको हुन्छ, मुक्तक पढ्दा सररर, बहावसँगै पढ्न सकिने हुनुपर्छ । अझ भन्नै पर्दा एउटा सुन्दर फूलजस्तै सानो आकारको तर सुवास निकै टाढासम्म फैलन सक्ने सार्मथ बोकेको चमकदार र आकर्षण भएको एउटा सुन्दर सिर्जना नै मुक्तकको स्वरूप हो ।
‘त्रासदीका हिमनदी’मा यस्ता सुन्दर सुवास फैलाउने मुक्तकहरू रहेका छन् । मुक्तक लेखनको अधिकतम नियमलाई पालना गरी लेखिएका यी मुक्तकहरू वर्तमान समयका दस्ताबेजहरू पनि हुन् । हाम्रो समाजमा भएका सङ्गत÷विसंगतहरूलाई मुक्तकका माध्यमबाट उठान भएका छन् । स्रष्टा पनि यहीँ समाजसँग पौठाजोरी खेलेर बाँच्न सिकेको कारणले गर्दा उहाँले यहाँ भएका हरेक गतिविधिलाई नियाल्दै शब्दका मार्फत कापीमा पोख्ने गरेको पाइन्छ । यसले गर्दा समाजका अरू व्यक्तिहरूलाई प्रेरणा पुग्छ ।
मान्छेका स्वभाव पनि अनेक प्रकारका हुन्छन्, जीवनमा मान्छेले धेरै थोक परिवर्तन गर्न सक्छ, तर उसले आफ्नो स्वभावलाई कहिल्यै परिवर्तन गर्न सक्तैन । यसैबाट मान्छेको घमन्ड, अहम्को बीजारोपण हुन्छ । त्यसको परिणाम आम मान्छेहरूले अनाहकमा अनेक प्रकारका दुःख भोग्नु पर्दछ । त्यस्ता मान्छेहरूका बारेमा या मान्छेका अहम्का बारेमा यहाँ पढ्न सकिन्छ । निराशामा पनि आशाका दीपहरु बलिरहेको आभाष ‘त्रासदीका हिमनदी’ले दिएको छ ।
उहाँका मुक्तकको अर्को विशेषता हो, नेपाली राजनीतिले उब्जाएको वेमेल परिस्थितिका बारेमा सिर्जना गर्नु । यो उहाँको मात्र आवाज होइन तपाई हामी सबैको आवाज मुक्तकमार्फत प्रस्तुत भएका छन् ।
हिजो चप्पल पड्काउँनेहरु आज करोडौँका गाडी चढ्ने र अर्बको महलमा रमाउने भएको देख्दा जो कोही पनि छक्क छन्, तर बोल्न सकेका छैनन्, यसरी एउटा सर्जकले व्यक्त गरेका यस्ता आवाजहरूलाई हामीले अझै बुलन्द रूपमा उठाउनु पर्छ । अनि मात्र एउटा सर्जकलाई सम्मान गरेको ठहर्छ, र, कुकर्म गर्नेहरूको शिर निहुरिन्छ ।
वास्तवमा केही स्रष्टाहरू आफ्नो रुचि र सौखका लागि लेखेको पाइन्छ तर छापामा आए पछि ती सार्वजनिक सरोकारका विषय बन्ने गर्छन्, अनि समाजमा जकडिरहेका भूइमान्छेहरुका कथा बन्छन् । त्यसपछि समानताको कुरा उठ्छ, केहीले न्याय पाउँछन्, पाएका पनि छन् ।
यसरी एउटा सर्जक समाजको एउटा सचेत नागरिक बन्छ र, समाजमै पुजिन्छ, उषा शेरचन पनि शब्दका माध्यमबाट सधैँ पुजनीय व्यक्ति हुनुहुन्छ । मुक्तकका पारखीहरूलाई ‘त्रासदीका हिमनदी’ले पक्कै मार्ग निर्देशन गरिरहेको छ । उहाँकै छोरा आस्तिक शेरचनले प्रकाशन गरेको ‘त्रासदीका हिमनदी’ मुक्तकसङ्ग्रह मुक्तक पारखीहरूको लागि पठनीय र सङ्ग्रहनीय पुस्तकको रूपमा लिन सकिन्छ ।











