
जापानको संस्मरण लेखिरहँदा जापानका आत्मिय साथीहरुको सम्झनाले अझै पनि बेलाबेला भावुक हुन्छु । त्यति धेरै माया गर्ने साथीहरुले कहिल्यै मबाट केही आशा गरेको पाइन । र कहिल्यै आफूले गरेको सहयोगको बारे उनीहरुले कतै बयान गरेको पनि कसैबाट सुनेको छैन ।
कोही कोही साथीहरुले हामीकहाँ भूकम्पको बेला होस् या राजनीतिक उथलपुथलका बेला, सम्पर्क गर्न खोजेको थाहा पाएकी छु । निशिकावासँग भने पोहोरसम्म पनि इमेलमा कुराकानी भइरहन्थ्यो । अहिले अर्की एकजना घनिष्ठ साथी खोयोकोसँग फेसबुकमार्फत सम्बन्ध हुनसकेको छ । सन् २०१८ मा दोस्रोपल्ट जापान पुग्दा केही साथीहरुसँग पुनर्मिलन पनि भएको थियो । तर फर्केपछि फेरि पातलो हुँदै गयो सम्पर्क ।
जापानमा पाएको हार्दिकताबारे त धेरै लेखिपनि सकेकी छु । जापानमा बसुञ्जेल जापानी संस्कृतिलाई बुझ्न पनि पाएकी थिएँ र अलिअलि भिज्न पनि । गाउँदेखि सहरसम्मका साथीहरुका घर–घरमा पुगेको मात्र नभएर साथीहरुको मनमा समेत बस्न पाएको क्षण सम्झँदा खुसी लाग्छ । तर अहिले सम्झँदा लाग्छ सिक्नुपर्ने एउटा कुरा सिक्न सकिनछु । र बुझ्नु पर्ने एउटा कुरा बुझिनछु । सम्पर्कको निम्ति नभइ नहुने भाषा मैले सिक्नुपथ्र्यो । त्यो सम्भव पनि थियो । तर सिकिन । र बुझ्नुपर्ने एउटा कुरा थियो– जापानको राजनीति । त्यो बुझ्ने प्रयत्नै गरिन् । हुन त मेरा जापानी साथीहरुमा राजनीतिप्रति खासै चासो भएको नदेखेर पनि होला । अनि म राजनीतिक पाहुना भएर गएको भए त्यतिका साथीहरुको हार्दिकता पाउन पनि सक्दिनथिएँ होला ।
म टोकियोमा साथीको कोठामा एक्लै बसेको बेलामा टिभी हेरेर बस्थेँ । एक दिन त्यहाँको स्थानिय चुनाव भइरहेको बेलाको लाइभ दृश्य देखाइरहेको थियो । केही दिन अगाडिदेखि साथीहरुबाट सुनेकी पनि थिएँ स्थानीय चुनाव हुँदै गरेको कुरा । टिभीमा केही उम्मेदवारहरुलाई देखेकी पनि थिएँ । फोटो देखाएर साथीले उडाइरहेका थिए टिभीमा देखापर्नेहरुमा फलानो यस्तो, ढिस्कानो त्यस्तो भनेर । ‘घनागरिक भएपछि त भोट खसाल्न जानुपर्छ होला नि ।’ भनेर सोध्दा ‘म टोकियोको मान्छे होइन, त्यसैले पर्दैन’ भने । अनि अर्को कुरा पनि भने– ‘टोकियोकै मान्छेहरुलाई पनि भोट दिन कर छैन । आफ्नो काम छोडेर भोट हाल्न धेरै जाँदैनन् पनि ।’
मलाई अचम्म लागेको थियो यस्तो कुरा सुन्दा । नभन्दै टिभीको प्रत्यक्ष प्रसारणबाट देखें– अलि अलि पानी परिरहेको त्यो दिन मत खसाल्ने ठाउँमा मान्छे नै थिएनन् भने हुन्छ । एक–दुईजना मात्र देखिन्थे । नेपालमा भए मत दिने मान्छेलाई फकाएर, किनेर, घिसारेर भए पनि भोट खसाल्न लगाउँथे । मतदान केन्द्रहरुमा मान्छेहरुको भीड हुन्थ्यो । लाइन बस्नुपथ्र्यो । हामीकहाँ त दुईचोटी हाल्लान् कि भनेर नङमा चिनो पनि लाइदिन्थे । प्रत्येक पटक मतदान सकिएपछि धाँधलीको कुरा पक्कै चल्थ्यो । तर त्यहाँको चुनाव देखेर म छक्कै परेकी थिएँ । मैले राजनीति बुझेकी थिइनँ ।
हामीकहाँ भर्खरै जस्तो ०४६ सालको आन्दोलन सकिएको थियो । राजनीतिक उथलपुथलपछिको कौतूहल, आशा, आशङ्का आदिले खल्बल्याएको मन अझै शान्त भइसकेको पनि थिएन । मेरा साथीहरुको, आफन्तको र देशको चिन्ता त बरोबर लागि नै रहन्थ्यो । तर जापानमा भने मानिसहरु यति व्यस्त थिए आफ्नो काममा कि राजनीतिक गफगाफमा समय बिताउने न फुर्सद न चाख नै देखिन्थ्यो । तर विकासको गति भने तिव्र थियो । हामीकहाँ जस्तो भ्रष्टाचार त्यहाँ थियो कि थिएन, त्यतिबेला त्यो बुझ्ने चासो पनि राखिन ।
हाम्रो देशमा बरोबर राजनैतिक उथलपुथल र आन्दोलन भइ नै रहन्छ । गएको सेप्टेम्बरको आन्दोलन धेरै हिसाबले अभूतपूर्व, नौलो, चर्को र बुझिनसक्नु भएर देखाप¥यो । दुई दिनमा सत्ता नै परिवर्तन भयो । उथलपुथल हुनु केही समय अगाडिदेखि नै मैले नियमित स्तम्भमा लेख्न पनि सकिरहेकी थिइन ।
अहिले अक्टोबरको यो अन्तिम हप्तासम्म आइपुग्दा सतहमा केही शान्त देखिन थालेको छ । तर भुसको आगोको सम्भावना अझै बाँकी छ । अनिश्चितता अझै गहिरिँदै छ जस्तो भान हुन्छ । आन्दोलनको सकारात्मक र नकारात्मक पक्षबारे अनेक पाटाबाट विश्लेषण भइरहेकै छन् । शहिद हुने र ज्यान गुमाउनेहरु त गइहाले । आमाहरुले र सिङ्गै देशले भने त्यो पीडा सहिरहनुपरेको छ ।
यस्तो बेला नेपालविज्ञ जापानी प्रोफेसर हिरोशी इशिलाई फेरि पनि सम्झिरहेकी छु । उनी कति दूरदर्शी रहेछन् भन्ने कुरामा उनका शब्द शब्द सम्झिरहेछु– ‘नेपालमा आन्दोलन त भइरहन्छन् । तर देशलाई सम्हाल्न सक्ने दूरदर्शी नेताको कमि छ’, नेपालमा केही वर्ष मात्र बसेर नेपालबारे अध्ययन गरेको मान्छेको भविष्यवाणी किन यसरी सही साबित भइ रहेको छ अझै पनि ? यो ३–४ दशक अगाडिको कुरा भैसक्यो ।
तीस वर्ष पनि नपुगेका युवाको यो आन्दोलनपछि पनि देशलाई एक जना सही नेता खोज्न कति गाह्रो भयो । दुई दिन जति त राज्यविहीन जस्तै भयो देश । कम्पास हराएको जहाज जस्तो भएको थियो मुलुक । धन्न दुई दिनमा सुशीला कार्की प्रधानमन्त्रीको रुपमा उभिइन् । ७३ वर्षकी सुशीला कार्की नेपालको राजनीतिमा पहिलो महिला प्रधानमन्त्रीको रूपमा उभिनु नेपालको राजनीतिक इतिहासमा नयाँ कुरा भएको छ । यसले नेपाली महिलाको अवस्था पहिलेभन्दा केही फरक भएको कुरा त देखायो नै । तर यतिकै भरमा राजनीतिक परिवर्तनको विश्लेषण र लैङ्गिक समानताको स्थितिको व्याख्या गर्न मिल्दैन ।
विश्वभरि नै महिला समानताको आवाज उठी नै रहेको बेला छ । महिलामाथि घरेलु हिंसालगायतका विभिन्न हिंसा र विभेद अझै व्याप्त छ । सबै देशको अवस्थाबारे ज्ञान नभए पनि मेरो देशमात्र होइन, यो संसार नै अझै पुरुष प्रभुत्वमै छ भन्ने थाहा छ । आफ्नै देशको राजनीतिबारे लेख्ने मेरो चाख र क्षमता पनि छैन । जे थियो, त्यो पनि अब हराउँदै छ ।
इतिहासमा महिलाहरु बेलाबेलामा राष्ट्रपति वा प्रधानमन्त्री भएका छन् । कति ठाउँहरुमा हुँदैछन् पनि । संयोग कै कुरा यी पंक्तिहरु लेखिरहेको बेला जापानले पनि पहिलोपल्ट महिला प्रधानमन्त्री पाएको छ– ६४ वर्षकी सानाए ताकाइचि । एउटा महिलाको दृष्टिले हेर्दा जापानमा पनि एउटा ठूलै परिवर्तन भएजस्तो लाग्छ । तर थाहा छैन, मेरा जापानी साथीहरुले यसलाई कसरी हेरिरहेका छन् । र यो पनि थाहा छैन महिला अनुहार सर्वोच्च पदमा आसिन हुनुले नै संसार पुरुष प्रभुत्वबाट मुक्त हुन्छ कि हुँदैन ? यसैलाई मात्र सकारात्मक परिवर्तन भनेर चित्त बुझाउन मिल्छ कि मिल्दैन ?











