
तिम्रो यातनाले
प्रताडित भए पनि
मर्ने छैन आस्था
निभ्ने छैन दियो
ढल्ने छैन निष्ठा
म आत्म समर्पण गर्ने छैन
जुझ्ने छु तिम्रो निरङकुश सत्ता संग
जीवनको अन्तिम विन्दु रहेसम्म ।
प्रसव पीडा सहेरै
आमा गर्वले छाती फुलाउँछिन
बहादुर छोरो जन्माए पछि
आमाको सपना पूरा गर्नु छ मैले
आमा भन्थिन
खुशीको जून घाम टिपेर ल्याउनु
अनाथहरु रोइ रहेका होलान
अनाथहरुको आँसु पुछेर आउनु
चेलीहरु चिच्चाइ रहेका होलान कोठरीमा
चेलीहरुको इज्जत जोगाएर ल्याउनु ।
आमाले एक पेट खान पाइनन
आमाले एक आङ लाउन पाइनन
दुःखका आँसु बगाएर
गुन्युको फेरले आँसु पुछ्तै
लोरी गाउँदै
मेरो कोक्रो हल्लाएर
बा को अनुहार आँखामा राखी
मलाई बा को प्रतिरुप मानेर
कैयन छाक भोकै सुत्थिन मेरी आमा ।
म जिरह गर्थे
आमा मलाई जुत्ता
आमा मलाई नाना
आमा मलाई पापा
गहभरी आँसु जमाएर
गरुङगो मुन्टो हल्लाउँदै
अवाक बन्थिन मेरी आमा ।
सुखको चौतारीमा बस्नै नपाई
अभावका मुसलले कुटे पछि
मुखिनीको पाउ छोएर
कनिका माग्दा पनि
बचन लगाउँदै
भकारो सोर्ने शर्तमा
कनिका दिन्थिन मुखिनी बज्यै ।
खोलाहरु अविरल बगि रहे
बगिरहे निमुखाका आँसु
समयले उठाएर
लान सकेन दुःखहरु
मान्छेहरु व्यग्र बनिरहे
पूरा भएनन
आशामुखीका आशाहरु
कयौ पटक सत्ता पलट भए
लगाइए मुक्तिका नाराहरु
फेरिए कुर्सीहरु
फेरिए मन्त्रीहरु
फेरिएन मानसिकता
दास बने नेताहरु
गद्धारीको भ¥याङ चढेर
सत्ता लोलुपताको घिन लाग्दो आहालमा डुवी
विर्सिए शहीदका सपनाहरु ।
सुन्दरहरैंचा –६, दुलारी, मोरङ











