काठमाडौं । नेपालको वर्तमान राजनीति तीव्र ध्रुवीकरण, पुराना शक्ति र नयाँ आकांक्षाबीचको टकरावले आक्रान्त बनेको छ । राजनीति जनसेवाको माध्यमभन्दा बढी शक्ति, सञ्जाल र प्रचारको प्रतिस्पर्धामा सीमित हुँदै गएको छ ।

यही परिवेशमा झापा निर्वाचन क्षेत्र नम्बर–२ बाट डाक्टर युवराज सङ्ग्रौलाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । यो केवल एउटा चुनावी उपस्थिति मात्र होइन; नेपाली राजनीतिमा वैचारिक विकल्प र बौद्धिक हस्तक्षेपको स्पष्ट प्रस्ताव हो ।
झापा–२ मा उनी स्थापित सत्ता संरचना र शक्तिशाली सञ्जाल भएका पूर्वसभामुख तथा पूर्वउपसभामुखजस्ता परिचित अनुहारहरूसँग प्रतिस्पर्धामा छन् । तर, सङ्ग्रौलाको उम्मेदवारी कुनै दलीय आड, आर्थिक शक्ति वा भौतिक तामझाममा आधारित छैन । यो ज्ञानको गरिमा, अनुभवको गहनता र विवेकको आलोकमा उभिएको स्वतन्त्र राजनीतिक प्रयत्न हो ।
डाक्टर सङ्ग्रौला आकस्मिक रूपमा उदाएका नेता होइनन् । करिब चार दशक लामो प्राध्यापन जीवनमार्फत उनले ज्ञान उत्पादन र बौद्धिक निर्माणको दीर्घ यात्रा तय गरेका छन् । नेपाल ल कलेज उनको पेसागत पहिचान मात्र नभई कानुनी चेतना र बौद्धिक बहसको एउटा सशक्त केन्द्रका रूपमा स्थापित छ । उनी कक्षाकोठामा सीमित प्राध्यापक होइनन्, चीन र भारतका प्रतिष्ठित विश्वविद्यालयहरूमा अध्यापन गरिसकेका, विश्व राजनीति, दर्शन र भू–राजनीतिमा गहिरो दखल राख्ने अन्तर्राष्ट्रिय स्तरका बौद्धिक व्यक्तित्व हुन् ।
पूर्व महान्यायाधिवक्ता, प्रखर कानुनविद्, अध्यापक र राष्ट्रहितलाई विवेकपूर्ण ढंगले बुझ्ने चिन्तकका रूपमा परिचित सङ्ग्रौला आज स्थापित दलका प्रभावशाली उम्मेदवारहरूसँग स्वतन्त्र रूपमा प्रतिस्पर्धा गरिरहेका छन् । यही स्वतन्त्रता नै उनको राजनीतिक पहिचानको मूल आधार हो ।
कक्षाकोठाको परिधि नाघेर चीन र भारतका विश्वविद्यालयहरूमा आफ्नो विद्वताको छाप छोडेका सङ्ग्रौला विश्व राजनीति, दर्शन र जियोपोलिटिक्सका गम्भीर अध्येता हुन् । महान्यायाधिवक्ताका रूपमा राज्य सञ्चालनको व्यावहारिक अनुभव बटुलेका उनी चीन, भारत र पश्चिमा शक्तिहरूबीचको जटिल शक्ति सन्तुलनमा नेपालले अपनाउनुपर्ने ‘मध्यम मार्ग’का स्पष्ट पक्षधर हुन् । उनको राष्ट्रवाद त उग्र छ, न त आत्मसमर्पणकारी । यो संवाद, सन्तुलन र रचनात्मक सहकार्यमा आधारित परिपक्व राष्ट्रवाद हो ।
डाक्टर सङ्ग्रौलाको राजनीतिक दर्शनको मूल मर्म स्पष्ट छ—पुराना र नयाँ पार्टीबीचको द्वन्द्व होइन, विचार, क्षमता र सृजनशीलताको प्रतिस्पर्धा आवश्यक छ । उनको दृष्टिमा समस्या पार्टी पुरानो वा नयाँ हुनु होइन, समस्या राज्य सञ्चालनको सोच नै पुरानो हुनु हो । त्यसैले उनी पुराना दललाई शत्रु र नयाँ दललाई मुक्तिदाताको रूपमा चित्रित गर्ने सरलीकृत राजनीतिबाट अलग उभिन्छन् ।
ताप्लेजुङको लिम्बू समुदायमा जन्मिएका युवराज सङ्ग्रौलाको जीवनयात्रा झापा हुँदै भक्तपुरसम्म आइपुगेको छ । यो यात्रा आफैँमा नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक यथार्थको प्रतीक हो । उनी आदिवासी–जनजाति समुदायप्रति गहिरो सम्मान राख्छन्, तर पहिचानलाई विभाजनको औजार बनाउने राजनीतिका कठोर आलोचक पनि हुन् । उनका लागि इतिहास कुनै एक जाति वा शासक वर्गको सम्पत्ति होइन, यो साझा सभ्यताको निरन्तर यात्रा हो । राष्ट्रियता भनेको एकरूपता होइन, विविधताको सम्मानसहितको साझा पहिचान हो ।
उनको आर्थिक दृष्टिकोण पनि उत्तिकै व्यावहारिक र दीर्घकालीन छ । कृषक र किसानलाई केन्द्रमा नराखी समृद्धि सम्भव छैन भन्ने उनको स्पष्ट बुझाइ छ । कृषि, संस्कृति र पर्यटनलाई आपसमा जोड्न सके नेपालको भविष्य उज्यालो हुन सक्छ भन्ने विश्वास उनी बोकेका छन् । भाषा, भेषभूषा, कला र संस्कृतिको संरक्षण विकासको बाधा होइन, विकासको आधार हो भन्ने उनको सोच कागजी घोषणामा सीमित छैन । यो स्थानीय सम्भावनाबाट राष्ट्रिय समृद्धितर्फ उन्मुख दृष्टि हो ।
झापा–२ का मतदाताले यसपटक एउटा गम्भीर र ऐतिहासिक प्रश्नको सामना गरिरहेका छन्– के हामी फेरि चिनिएका अनुहारहरूलाई दोहोर्याउँछौं, कि नयाँ तर जिम्मेवार विकल्प रोज्छौँ? डाक्टर युवराज सङ्ग्रौला कुनै चमत्कारी नारा बोकेर आएका छैनन् । उनी बौद्धिक इमानदारी, अन्तर्राष्ट्रिय अनुभव, राष्ट्रिय संवेदनशीलता र मध्यम मार्गको परिपक्व राजनीति आएका छन् ।
आज जब नेपाली राजनीति हल्ला, ध्रुवीकरण र असहिष्णुताले ग्रस्त छ, त्यस्तो समयमा युवराज सङ्ग्रौला जस्ता स्वतन्त्र, विवेकशील र चिन्तनशील व्यक्तित्व संसद्मा पुग्नु केवल झापा–२ को सवाल होइन, यो नेपालको लोकतान्त्रिक भविष्यका लागि आवश्यकता हो ।











