Logo
Logo

रुबीको अकल्पनीय उदय, २६ वर्षमै संवैधानिक ‘कमान्ड’


567
Shares

काठमाडौं । धनुषाको मुजेलिया गाउँकी २६ वर्षीया रूबीकुमारी ठाकुरका लागि सफलताको यो शिखर सायद उनको कल्पनाभन्दा बाहिरको विषय थियो ।

झण्डै दुई महिनाअघि मात्र हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा आबद्ध भएकी उनका लागि राजनीतिले सोच्नै नसकिने गरी कोल्टे फेरेको छ । एउटा सामान्य श्रमिक परिवारमा हुर्किएकी युवती, जो आज देशको सर्वोच्च विधायकी संस्था प्रतिनिधिसभाको उपसभामुख बनेकी छन् ।

आज सम्पन्न निर्वाचनमा उनले राप्रपाकी उम्मेदवार सरस्वती लामालाई पराजित गरिन् । निर्वाचनमा उपस्थित २५७ सांसदमध्ये ठाकुरले २१५ मत प्राप्त गरिन् भने उनकी प्रतिस्पर्धी लामाले मात्र ५ मत पाइन् ।

ठाकुरलाई सत्तारुढ दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस र नेकपाको समर्थन रहेको थियो। यद्यपि एमालेले भने मतदान प्रक्रियामा भाग लिएन ।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका १४, मुजेलियाका रुबीको पृष्ठभूमि कुनै राजनीतिक विरासतसँग जोडिएको छैन । उनी एक श्रमजीवी ठाकुर परिवारकी छोरी हुन् । सामान्य श्रमिक परिवारबाट यति सानै उमेरमा उपसभामुखजस्तो गरिमायम पदमा पुग्न केवल एउटा राजनीतिक नियुक्ति मात्र होइन, नेपाली राजनीतिमा भुइँतहको वास्तविक प्रतिनिधित्व र समावेशी लोकतन्त्रको एक जीवन्त तस्बिर पनि हो ।

पार्टी अध्यक्ष हर्क साम्पाङले उनलाई समानुपातिक सूचीबाट सांसद चयन गर्दा रुबीका लागि त्यो जीवनकै पहिलो र सबैभन्दा ठूलो ‘सरप्राइज’ थियो । सांसद निर्वाचित भएपछि धरान पुगेर उनले भनेकी थिइन्– ‘यो मेरो लागि साच्चै नै एउटा सुखद आश्चर्य हो ।’ तर, त्यो आश्चर्यको शृङ्खला त्यतिमै रोकिएन । सांसद भएको केही दिनमै उनी उपसभामुख बन्न सफल भइन् । यो उनको लागि दोस्रो ‘सरप्राइज’ थियो । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समर्थनमा उपसभामुखको उम्मेरदवारी दिएपछि उनले भनेकी थिइन्– ‘यो पनि मेरो लागि सरप्राइज भयो ।’

नेपालको संसदीय इतिहासमा रुबीको यो उदयले के पुष्टि गर्छ भने, यदि अवसर र सही नेतृत्वको साथ पाउने हो भने सामान्य परिवारका युवाहरूले पनि देशको नीति निर्माण गर्ने उच्चतम तहमा पुग्न सक्छन् । यो समग्र मधेशी समुदाय र श्रमजीवी वर्गका लागि एउटा गर्वको विषय हो ।

रुबीको जीवनकथा कुनै चलचित्रको पटकथाभन्दा कम छैन । सामान्य किसान परिवारका सोगारथ ठाकुरले अरूको खेत अधियाँ कमाएर परिवार पाल्न नसकेपछि मुजेलियामा सानो सैलुन सुरु गरे । त्यसले पनि ६ सन्तानको गुजारा नचलेपछि सात वर्षअघि उनी साउदी अरब हान्निए । छोरी रुबी देशको सांसद चुनिएको खबर सुन्दा उनले साउदीकै मरुभूमिमा पसिना बगाउँदै थिए । तर, आज तिनै श्रमिककी छोरी देशको सर्वोच्च विधायकी संस्थाको उपसभामुख बनेर राज्य सञ्चालनको उपल्लो तहमा पुग्न सफल भएकी छन् ।

धनुषाको श्री सोहनी माध्यमिक विद्यालयबाट विद्यालय शिक्षा पुरा गरेकी रुबीले इन्जिनियरिङमा डिप्लोमा गरेकी छन् । सांसद निर्वाचित हुनुअघिसम्म उनी झण्डै आठ महिनादेखि ’वास्तु आर्किटेक्चर’का रूपमा नक्सा, टूडी र थ्रीडी डिजाइन गर्नेजस्ता प्राविधिक काममा व्यस्त थिइन् ।

देशमा स्थापित पुराना दलहरूको दबदबा र रास्वपाको लहरका बाबजुद उनले हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी रोज्नुको मुख्य कारण कामप्रतिको सम्मान र सादगी नै थियो। राजनीतिक पृष्ठभूमि नभए पनि रुबीमा मधेसको धरातलीय यथार्थ र जनजीवनका वास्तविक समस्याहरूको गहिरो बोध छ । त्यसैले उनले मधेसमा व्याप्त दाइजो प्रथा, बालविवाह र बेरोजगारी जस्ता सामाजिक विसंगतिहरूविरुद्ध आवाज उठाउने सङ्कल्प गरेकी छन् ।

योसँगै देशको कान्छी सांसद रुबीका काँधमा अब देशको कानुन निर्माण र संसदीय गरिमा कायम राख्ने गरुङ्गो जिम्मेवारी छ । उपसभामुखको रूपमा रुबीको उपस्थितिले राज्यका महत्त्वपूर्ण नियुक्तिहरूमा दूरगामी प्रभाव राख्नेछ । अब उनी संवैधानिक परिषद्को टेबलमा प्रधानमन्त्री वालेन्द्र शाह, प्रधानन्यायाधीश, सभामुख डिपी अर्याल, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र प्रमुख प्रतिपक्षी दलका नेतासँगै समान हैसियतमा बस्नेछिन् ।

किन महत्त्वपूर्ण छ उपसभामुख पद ?
सामान्यतया ‘उप’ शब्दावलीले दोस्रो तह वा सहायक भूमिकाको आभास दिलाउन सक्छ । कतिपय सन्दर्भमा महिलालाई ‘उप’ पदमा मात्र सीमित राखिएको भन्दै यसको आलोचना पनि हुने गरेको छ । तर, संवैधानिक कसीमा हेर्दा उपसभामुख पद कुनै आलङ्कारिक वा कमजोर भूमिका होइन । यसको ओज र प्रभाव विशेष गरी राज्यका अंगहरूको शक्ति सन्तुलनमा प्रतिविम्बित हुन्छ ।

उपसभामुख पदको सबैभन्दा शक्तिशाली पक्ष भनेको संवैधानिक परिषद्मा रहने यसको अनिवार्य सदस्यता हो । नेपालको संविधानको धारा २८४ अनुसार प्रधानमन्त्रीको अध्यक्षतामा रहने यस उच्चस्तरीय परिषद्मा उपसभामुख पदेन सदस्य रहने व्यवस्था छ ।

यस परिषद्मा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष र प्रतिनिधि सभामा विपक्षी दलको नेता रहन्छन् । यसले मुलुकको शासन व्यवस्था र न्याय प्रणालीका मुख्य स्तम्भहरूमा नियुक्ति गर्ने अधिकार राख्दछ । यही परिषद्ले संवैधानिक निकायका प्रमुख पदाधिकारी तथा सर्वोच्च अदालतका प्रधानन्यायाधीश, न्यायाधीशलगायत महत्त्वपूर्ण पदमा नियुक्तिका लागि सिफारिस गर्नेछ ।

यस्तो संवेदनशील र दूरगामी प्रभाव राख्ने निकायमा उपसभामुखको मत निर्णायक हुने हुनाले नै कुन दलले यो पद पाउँछ भन्ने विषयले राजनीतिक वृत्तमा विशेष अर्थ राख्दछ ।

सभामुखको अनुपस्थितिमा सदनको पूर्ण नेतृत्व गर्ने मात्र नभई, राज्यको मूल नीति निर्धारण गर्ने ठाउँमा उपसभामुखको उपस्थिति हुनुले यस पदलाई शक्ति सन्तुलनको कडी बनाएको छ । संवैधानिक परिषद्ले गर्ने सिफारिसहरू संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि मात्र कार्यान्वयन हुने भए तापनि, सिफारिसको चरणमै उपसभामुखको भूमिका अत्यन्त महत्त्वपूर्ण हुन्छ ।

प्रतिक्रिया दिनुहोस्