Logo
Logo

बालेन-मोदी आमनेसामने, ग्रेटर नेपालको नक्सादेखि लिपुलेक विवादसम्म


693
Shares

कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्ने र हिन्दी सिनेमामाथि प्रतिबन्ध लगाउने आँट गरेका प्रधानमन्त्री बालेन शाहको आसन्न भारत भ्रमणले यतिबेला राजनीतिक र कूटनीतिक वृत्त तातेको छ । वर्षौँदेखि नेपाली प्रधानमन्त्रीहरूले दिल्लीमा पुगेर ’भजन’ गाउने र आशीर्वाद् थापेर फर्कने जुन दास–परम्परा थियो, के बालेनले त्यसलाई तोड्न सक्लान् ? दिल्लीसँगको दशकौँ पुरानो कूटनीतिक जडता चिर्न कुन एजेन्डा बोकेर जालान ? के उनले वर्षौँदेखिको सीमा विवाद, बढ्दो व्यापार घाटा र थन्किएको इपीजी प्रतिवेदन बारे भारतीय समकक्षीको आँखामा आँखा जुधाएर टेबल ठटाउन सक्लान् ?

नेपाली राजनीतिक वृत्तमा यतिबेला प्रधानमन्त्री बालेन शाहको सम्भावित भारत भ्रमणलाई विशेष चासोको रूपमा हेरिएको छ । नेपालको कूटनीतिकमा प्रधानमन्त्रीको भारत भ्रमण केवल एक औपचारिक विदेश यात्रामा मात्र सीमित नरही, यसलाई आर्थिक कूटनीति र भू–राजनीतिक सन्तुलनको महत्त्वपूर्ण कडीका रूपमा विश्लेषण गर्ने गरिन्छ ।

विगतमा नेपाली शासकहरू नयाँ दिल्लीको निम्तो प्राप्त गर्न ‘लालायित’ हुने र त्यसलाई आफ्नो राजनीतिक स्थिरताको आधार मान्ने जुन परम्परा थियो, त्यसलाई यसपटकको घटनाक्रमले तोडिदिएको देखिन्छ । प्रधानमन्त्री बालेनले पदभार ग्रहण गरेलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको बधाई सन्देशमै भारत भ्रमणको औपचारिक प्रस्ताव समावेश गरिएको थियो । उक्त निमन्त्रणाको प्रत्युत्तरमा प्रधानमन्त्री बालेनले ‘उचित समयमा भ्रमण गर्ने’ भनी संक्षिप्त जवाफ दिएका छन् । जुन कुरा परराष्ट्रमन्त्री शिशिर खनालले भारतै पुगेर खुलाएका छन् ।

प्रधानमन्त्रीस्तरको भ्रमण हुनुअघि भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमण हुने छ । परराष्ट्र मन्त्रालयका अनुसार भारतीय विदेश सचिवको भ्रमण एक महिनाभित्रै हुने सम्भावना छ । सोही अवसरमा उनले नेपालका परराष्ट्र मन्त्रीलाई भारत भ्रमणको निम्तो दिने र प्रधानमन्त्रीको भ्रमण अगावै परराष्ट्र मन्त्री शिशिर खनालको भारत भ्रमण हुन सक्ने समेत बताइएको छ ।

प्रधानमन्त्री बालेनले आफ्नो पहिलो विदेश भ्रमण भारतबाटै गर्ने तयारी थालेपछि कूटनीतिक वृत्तमा नयाँ बहस छेडिदिएको छ । त्यसो त रास्वपाले बहुमत ल्याउन साथ मोदीले बालेन र रवि लामिछानेसँग टेलिफोन संवाद समेत गरेका थिए । यो केवल औपचारिकता मात्र थिएन । नेपालको नयाँ राजनीतिक शक्तिसँग सम्बन्ध विस्तार गर्ने भारतीय ‘वार्मअप’ रणनीतिको सुरुवात थियो ।

विगतका कतिपय कदमका कारण बालेनप्रति भारत सन्तुष्ट देखिँदैन । काठमाडौँका हलमा भारतीय चलचित्रको प्रदर्शन रोक्ने अडान होस् वा आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा राख्ने शाहको साहस । यी घटनाक्रमले नयाँ दिल्लीलाई झस्काएको मात्र थिएन, बरु नेपालमा एउटा प्रष्ट र नयाँ राष्ट्रवादी शक्तिको उदय भएको सन्देश समेत दिएको थियो । भारतले के बुझेको छ भने, नेपालको युवा पुस्ता र आम जनमानसमा बालेनको लोकप्रियता यति बलियो छ कि उनीसँग दूरी बनाउनु भनेको भविष्यको नेपालसँगको सम्बन्धलाई जोखिममा पार्नु हो । त्यसैले, यो भ्रमणमार्फत भारत बालेनसँगको सम्बन्धलाई रि–सेट गर्न र सहकार्यका साझा आधारहरू पहिल्याउन चाहन्छ ।

कूटनीतिको नयाँ मानक
विगतका प्रधानमन्त्रीहरू दिल्ली ओर्लिँदा एउटा मनोवैज्ञानिक दबाबमा हुन्थे– “सत्ता जोगाउन दिल्लीलाई कसरी रिझाउने ? तर बालेनका हकमा यो समीकरण उल्टो छ । उनी कुनै विदेशी शक्तिको आशीर्वादले होइन, नेपाली जनताको मत र भरोसाले सत्तामा पुगेका हुन् । त्यसैले उनलाई भारतलाई रिसाएपनि आफूँ सत्ताच्यूत हुने डर छैन ।

भारत भ्रमणमा विषेशगरी प्रधानमन्त्री बालेनले तीनवटा विष उठाउनु पर्ने देखिन्छ– राष्ट्रिय स्वाभिमान, आर्थिक लाभ र परिणाममुखी कार्यान्वयन । प्रधानमन्त्री बोलेनले दिल्लीमा बसेर केवल धार्मिक र सांस्कृतिक एकताको भजन गाउनुको साटो नेपालको व्यापार घाटा कसरी कम गर्ने र सीमाका विवाद कसरी सधैँका लागि सुल्झाउने भन्नेमा ध्यान केन्द्रित गर्नुपर्ने छ ।
बाइटः हर्क साम्पाङ, अध्यक्ष, श्रम संस्कृति पार्टी

आर्थिक एजेन्डा
नेपालको वैदेशिक व्यापारको सबैभन्दा ठूलो चुनौती भारतसँगको चुलिँदो व्यापार घाटा हो । विगतका तथ्याङ्कहरू हेर्दा भारतसँग वार्षिक १० खर्ब रुपैयाँभन्दा बढीको व्यापार घाटा हुने गरेको छ । प्रधानमन्त्री बालेनले अब यो खाडललाई पुर्न भारतसँगको सम्बन्धलाई परनिर्भरबाट साझेदार र सहयात्रीमा रूपान्तरण गर्नुपर्ने देखिन्छ । यद्यपि, व्यापार विस्तारमा सरकारको भन्दा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुन्छ, तर निजी क्षेत्रबाट अहिलेसम्म कुनै ठोस र रणनीतिक योजना आउन सकेको छैन । विगतमा प्रधानमन्त्रीको भारत भ्रमणमा निजी क्षेत्रका प्रतिनिधिहरू सहभागी हुने गरे पनि त्यो भ्रमण उपलब्धिभन्दा बढी औपचारिकता र खर्चमा मात्र सीमित हुने गरेको छ । त्यस्तै भैरहवा विमानस्थल चल्न नसक्नुमा भारतले हवाई मार्ग नदिनु मुख्य कारण हो । प्रधानमन्त्री बालेनले यो विषयलाई प्राविधिक भन्दा पनि ’उच्च राजनीतिक’ स्तरमा उठाएर समाधान खोज्नु पर्नेछ । त्यसैगरी भ्रमणका क्रममा प्रधानमन्त्री बालेनले नेपालको बैंकिङ प्रणाली र डिजिटल भुक्तानीलाई भारतसँग पूर्ण रूपमा जोड्दा लाखौँ नेपाली कामदार र पर्यटकलाई सहज हुनेछ । यसले अनौपचारिक च्यानलबाट हुने मुद्राको बहावलाई रोक्नेछ ।

सीमा विवाद र ईपीजी
कालापानी, लिपुलेक र लिम्पियाधुराको विषय नेपालका लागि केवल भूगोलको कुरा होइन, यो राष्ट्रिय भावनाको विषय हो । बालेनले नक्सा जारी गर्ने राजनीतिक साहस देखाइसकेका छन्, अब कूटनीतिक टेबलमा त्यसलाई स्थापित गर्ने चुनौती उनीसामु छ । त्यस्तै इपीजी प्रतिवेदन भारतले बुझ्न नमान्नुले नेपालको अपमान भइरहेको महसुस नेपाली जनतालाई छ । बालेनले यो प्रतिवेदन बुझ्न र यसमा उल्लेखित १९५० को सन्धिलगायतका विषयलाई परिमार्जन गर्न भारतलाई मनाउन सके भने, त्यो उनको जीवनकै सबैभन्दा ठूलो कूटनीतिक जीत हुनेछ । नेपाली युवाहरूको भारतीय सेनामा भर्ती (अग्निपथ योजना)को समस्याले हजारौँको भविष्य अन्योलमा छ, यसलाई पनि उनले एजेन्डा बनाउनै पर्छ ।

भू–राजनीतिक सन्तुलन
बालेनको भारत भ्रमणलाई चीनले पनि नजिकबाट नियालिरहेको हुनेछ । नेपालको असंलग्न परराष्ट्र नीतिलाई कायम राख्दै भारतसँग घनिष्ठ सम्बन्ध राख्नु बालेनको लागि ‘तरबारको धारमा हिँड्नु’ सरह हो । भारतले बालेनलाई ‘प्रो–इन्डिया’ बनाउन खोज्नेछ भने चीनले उनलाई आफ्नो प्रभाव क्षेत्रबाट बाहिर जान नदिन प्रयास गर्नेछ । बालेनले यी दुवै शक्तिलाई हाम्रो प्राथमिकता नेपालको विकास हो, कसैको पक्षधरता होइन भनेर बुझाउनुपर्ने छ ।

चुनौती र आशंका
बालेन शाहका लागि यो भ्रमण जति अवसर हो, त्यति नै जोखिम पनि हो । विगतमा धेरै राष्ट्रवादी नेताहरू दिल्ली पुगेपछि ‘परिवर्तन’ भएको इतिहास छ । त्यसैले जनतामा कतै बालेन पनि त्यही पुरानो चक्रव्यूहमा फस्ने त होइनन् ? भन्ने आशंका छ । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुरÞ्याउने मात्र नभई, नेपाली कूटनीतिको नयाँ मानक स्थापित गर्ने एउटा ऐतिहासिक अवसर हो। भ्रमणका क्रममा प्रधानमन्त्रीले के बुझ्न जरुरी छ भने नयाँ दिल्लीको भव्य स्वागत र रातो कार्पेटले मात्र नेपालीको आधारभूत आवश्यकता पूरा हुन सक्दैनन् । नागरिकको जीवनस्तर सुधार्न त ठोस आर्थिक सन्धि, सहुलियतपूर्ण व्यापार र जलविद्युत्को न्यायोचित मूल्य आवश्यक पर्छ ।

भारतसँगको हाम्रो सम्बन्ध अब केवल ’रोटी–बेटी’ को परम्परागत दायरामा मात्र सीमित नभएर प्रविधि, विकास र समान अस्तित्वको आधारमा अघि बढ्नुपर्छ । बालेनले काठमाडौँमा डोजर चलाएर भौतिक अवरोध भत्काए जस्तै गरी दिल्लीमा वर्षौँदेखिका कूटनीतिक जडताहरूलाई चिर्न सके भने मात्र उनी साच्चै नै इतिहासका निर्माता बन्नेछन् । अन्यथा, यो यात्रा पनि विगतका भ्रमणहरू झैँ एउटा वैदेशिक भ्रमणको सूचीमा मात्र सीमित हुनेछ ।

प्रतिक्रिया दिनुहोस्