Logo

वेटर, एउटा अर्को कफी…


Published On : 2 January, 2019

कफी शपमा छु एक्लै ।
कफी शपको नाम बद्लिएर आजकाल क्याफे भन्छन् । यहाँ, यो उपत्यकामा धेरै किसिमका क्याफे छन् । कोही खुल्दैछन् कोही बन्द हुँदैछन् । खुल्दै गरेका कफी शपले नयाँ नाउँ पाएका छैनन् ।
नाङ्लोका साहु श्याम कक्षपति र रविभक्त श्रेष्ठको वारिस्ता क्याफे बन्द अवस्थामा पुगेको छ । पहिले यो इटालियन क्याफे लाबज्जाको फ्रेन्चाइज थियो । रोयल्टी तिर्न नसकेपछि यसले आफ्नो लाबज्जा नाम हटाएर वारिस्ता राख्यो ।

प्रकाश सायमी

वारिस्ता आउनुभन्दा दुई दशक अघि खुलेका हिमालयन जाभा र दी रोड हाउस क्याफे मेरो प्रिय क्याफे हुन् ।
मैले कफी खान शुरु गर्दा यो देशमा नयाँ सडकमा बैँङ्लोर कफीहाउस एउटा मात्र थियो, नाम चलेको र विश्वसनीय ।
बैँङ्लोर कफी हाउस अब कथा भइसक्यो वा इतिहास ।
बैँग्लोर कफी हाउसमा मैले भेटेका, देखेका वा चिनेका कैयन् कफी प्रेमी ( वा चिया प्रेमी ) कैयन् चिरपरिचित अब यो जगतमा छैनन् । ती मध्ये धेरै राजनीतिज्ञ र पत्रकार नै थिए ।
कैयन् पूर्व प्रधानमन्त्री, कैयन् काँग्रेसी नेता त्यहीँ भेटेको थिएँ ।
बैँग्लोर कफी हाउसमा मैले कथाकार प्रेमा शाहलाई पहिलो पटक त्यही देखेको थिएँ, गायक नारायणगोपाल, गीतकार तीर्थराज तुलाधर, उपन्यासकार धच गोतामे, आस्थाका सम्पादक जीवन आचार्य, नेपाल टाइम्सका सम्पादक चन्द्रलाल झा, जनजागृतिका नीरमान नेवालगायत अन्य कति ।
बैँग्लोर कफी हाउसमा आएर कफी खाने (आफ्नै पैसाले कफी खाने) मान्छे मलाई ठूलाठूला मान्छे लाग्थे । त्यहाँ मैले नियमित देखेका मध्ये गीतकार नगेन्द्र थापा र अन्वेषक सौरभ अझै भेट्छु बजारमा ।
बैँग्लोर कफीका साहु मरेपछि उनका ज्वाइँ रामचन्दरले पछि यही नामले चलाए तर त्यति चलेन । पछि उनले दरबारमार्गको छेवमा (जहाँ मायालु होटल थियो) त्यहाँ मैँग्लोर कफी हाउस नामबाट पनि चलाए । त्यो पनि नचलेपछि उनी दक्षिण भारततिर लागे ।
बैँग्लोर कफी हाउससँगै रश्मी, इन्दिरा, मोतिमहल आदि पनि आए । कुनै समय गीतकार एवम् पत्रकार बसन्त थापाले आफ्ना साथी जीवनलाल श्रेष्ठसित मिलेर प्वाइन्ट ऐट खोले, त्यो पनि थियो अर्को ।
कफी नेपालमा चियाभन्दा अलि ढिलो आएको भए पनि कफीले ख्याति नै पायो, नाममा । चिया पसलको नामा चिया चमेना घरबाहेक नेपाल टी हाउस भनेर जमानाको मरुहिटीको ओह्रालो (पाइएल्ली)मा खोलिएको बाहेक मैले अरु देखिनँ ।
आजकाल मान्छे कफी शपमा वाइफाइका कारणले जान्छन्, कुनै समय टाइम पत्रिका वा हेराल्ड ट्व्यिुन पढ्न पनि जान्थे, यही काठमान्डूमा ।
कफी शपको इतिहास नै गज्जब छ ।
विश्वको प्रसिद्ध कफी शप स्टारबक्स् होस् वा ग्य्रान्ड क्याफे, यिनका अलग अलग इतिहास छन् ।
ग्य्रान्ड क्याफे फ्रान्सको राजधानी प्यारिसमा थियो, यो क्याफेको भूइँतल्लामा संसारमै पहिलो पटक सिनेमा देखाइएको थियो । संसारकै पहिलो सिनेमा ५८ मिनटको थियो,यसलाई फ्रान्सका लुई लुइमिएर र अगत्यस लुमाइरले बनाएका थिए ।
रेल स्टेशनमा आउँदै गरेको त्यो मूक चलचित्र हेर्न त्यो क्याफेमा १२८ जना मान्छे बोलाइएका थिए ।
विश्वको पहिलो सिनेमाको सम्बन्ध कफी सित यसरी जोडियो । त्यसको नौ महिना पछि भारतको मुम्बइस्थित होटल वाटसनमा विश्वको पहिलो सिनेमा देखाइयो, त्यहाँ पनि कफी नै सर्भ गरियो ।
सिनेमा र कफीको इतिहास आजसम्म कायमै छ ।
हामीले हेर्यौँ भने अहिले पनि मल्टिकम्प्लेक्स्हरुमा कफी नै प्रायः पाइन्छ । आजकाल कफीले हाम्रो राजनीतिक पार्टीले जस्तै अनेक नाम बोकेका छन्, अमेरिकानो, क्याप्चिनो, लाटे आदि आदि तर कफी एउटै हो स्वाद फरक ।
नेपालमा २०४६ सालको आन्दोलन पछि कफीको व्यापार र खेती बढेको हो भन्न सकिन्छ वा क्याफेको बाढी आएको हो भन्न मिल्छ ।
आजकाल मान्छे पहिलो भेटमा नै सोध्छन्, कुन कफी लिउँ ?
यो र यस्तै प्रश्न मैले एक पत्रकारका रुपमा धेरै भागेको छु । कुनै एउटा अमूक पत्रिकाको लागि भारतका भजन गायक अनूप जलोटालाई होटल अन्नपूर्णमा भेट्न गएको थिएँ, म जाँदा उनको स्वीटमा नेपालका प्रसिद्ध वेश विन्यासक एवम् लोकगीत संकलक तीर्थ शेरचन पनि पुगिसकेका थिए ।
भजन गायक जलोटा प्रिन्सेप शाहको निम्तामा ०४० मा काठमान्डूमा आएका थिए, कार्यक्रम गर्न । शेरचनजी पनि भारतका नैशनल स्कुल अफ ड्रामामा पढेर आएका पहिलो नेपाली थिए ।
हामी दुवै त्यहाँ पुग्दा जलोटाजी नुहाएर भर्खर निस्केका थिए, उनले हामी दुवैलाई हेर्दै सोधे, क्या कफी लेँगे ?
एनएसडी प्रोडक्ट शेरचनजीले बोलिहाले, मिल्क कफी ।
म चूप रहेँ, दूध नभएको भन्न मलाई आएन ।
जलोटा आफैँले सोधे, ब्ल्याक् ?
त्यतिवेला ब्ल्याक् भन्दा रंगभेदको आरोप लाग्ने समय थिएन, आइएनजीओको धन्दा त्यति बढीसकेको थिएन । चालीस सालको कुरा थियो ।
त्यसपछि मैले दोस्रो कफी पत्रकारकै रुपमा बलिऊडमा नायक अमिताभ बच्चनसित होटल एभरेष्ट शेराटनमा खाएँ । काठमान्डूमा नगर पञ्चायतको चुनावको माहौल थियो, मदनमणी दीक्षित समीक्षा साप्ताहिकमा चुनावमा हारेका मोतिमान शाक्य का वारेमा मेरो देश मेरो संसारमा मोतिमान जितुन् वा हारुन् लेखिरहेका थिए । म उनकै पत्रिकाका लागि बलिऊड नायक बच्चनको अन्तर्वार्ता गर्न गएको थिएँ । तर त्यो अन्तर्वार्ता पछि पुकार नामक् फिल्मी पत्रिकामा छपियो ।
अमिताभ बच्चनसित खाएको कफी र अनुप जलोटासित खाएको कफीमा फरक के थियो भने जलोटाले आफै कफी बनाएर खुवाएका थिए, बच्चनले अर्डर गरेर ।
कफी राम्रो बनाउने मान्छेलाई वारिस्ता भन्छन् भनेर पहिलो पटक त्यहीँ सुनेको थिएँ तर मैले पछि वारिस्तालाई आफैँ वरिष्ठ भनेर भूल गरेछु । यो मेरो भूललाई पछि विश्वप्रसिद्ध सेफ थोमस किल्रायले सच्याई दिए ।
जति वेला मैले उनको ठमेलस्थित किल्रायज्मा टेलिभिजनका निम्ति कफी विद् प्रकाश सायमी भन्ने कार्यक्रम चलाएँ, त्यसमा फोटोग्राफर मीन बज्राचार्य, गायक रामभक्त जोजिजू, लेखक ध्रुवचन्द्र गौतम आदि सित रोचक अन्तर्वार्ता गरेँ ।
कफीसित टेलिभिजनको आजकाल कैयन् शो आउँछन् ।
आजकाल म कफी शो भन्दा द रोड हाउस क्याफेमा गएर क्यापेचिनो खान मनपराउँछु । यो लेख लेख्दै गर्दा मेरो टेबिलमा पनि कफी मगाउँदैछु,
वैटर । वन मोर कफी ।

प्रतिक्रिया दिनुहोस्