हामी यस्तै त होनि ब्रो « Drishti News – Nepalese News Portal
Logo

हामी यस्तै त होनि ब्रो


उमेश बन्जाडे


चुट्किला सुनाएर मात्रै खीर पाक्दैन । दूध भल्भली उमाल्न पुग्ने दाउरा पनि चाहिन्छ । अनिमात्र खीर पाक्छ भन्ने मानेमा डाडु–पन्यू समाएर अँगेनाअघि रमाएकाहरु स्पष्ट हुन जरुरी छ । अर्कैले पकाएर तयार पारिदिएपछि थाल थाप्न जाने र उसैलाई होच्याउने शास्त्र अंगीकार गर्नु पनि एउटा भद्दा मजाक नै हो ।

कुरो के भने– विपरीत ध्रुव र आस्थाको व्यक्ति वा समुदायले जे गर्दैछ उसलाई ठिक उल्टो बनाएर व्याख्या गर्ने एउटा समूहको हर्कत नेपालमा गरिखाने पेशाकै रुपमा फस्टाएको छ । उनीहरु सधैँ सकारात्मक चिजहरुको नकारात्मक व्याख्यासहित जनतामा भ्रम सिर्जना गराई आफ्नो पुख्र्याैली हैकम कायम गर्न चाहन्छन् । यद्यपि, इतिहासको पुनरावृत्त नभई विकास हुन्छ भन्ने मानेमा यिनीहरु फिटिक्कै मान्दैनन् ।
ओलीराज बार्दलीमा पुगेपछि देशमा यतिबेला शेरबहादुर राज आएको छ । कतै सम्हाली नसक्नुको हर्षोल्लास छाएको छ भने, कतै मुटु नै फुट्ने गरी सन्नाटा छाएको छ ।

यद्यपि, यसमा यतिविधि प्रशन्न हुनुपर्ने वा तर्सिनुपर्ने कुनै कारण देखिँदैन । करिब साढे तीन वर्ष सत्ताको स्वादले अघाएको ओली आधा पेट मात्रै खान पाएको अभिनय गर्दैछन् । उनी आउने निर्वाचनको तयारीस्वरुप बँुइगलमा पसारिएर राष्ट्रवादको जितौरी धन गनिरहेका छन् । यता लामो समयसम्म आफूलाई प्रतिपक्षीको दाम्लोले बाँधिएको महसुस गरिरहेका देउवा भुँडी फराकिलो बनाउँदै बालुवाटारको कुर्सीमा खुट्टा हल्लाएर बसिरहेका छन् ।

धेरैपल्ट प्रधानमन्त्री बनेरै इतिहास कायम गर्ने ध्याउन्नमा रहेका देउवा पनि कम्तीका कहाँ हुन र ? उनले पनि दाउ लगाइरहेका छन् । माथिका यी दुवै प्रवृत्ति माटो विरोधी छन् । यिनीहरुले गर्ने हरेक निर्णय र अपनाउने गतिविधिले कुनै न कुनै रुपमा देशलाई पोलिरहेको छ । परन्तु ओली अहंकारको तुलनामा देउवालाई केही सहज मान्न सकिन्छ । काउछो घारी फाँडेर वनमारा घारी लगाउनुमा निकै ठूलो भेद छ । घारी नै भए पनि कमसेकम वनमाराले चिलाउँदैन । तुलनात्मकरुपमा ओली र देउवालाई यसरी बुझ्न सकिन्छ ।

पार्टी फुटाउने अध्यादेश केपी ओलीको अत्यन्तै लोकप्रिय कार्यक्रम थियोे । यद्यपि, त्यो सफल हुन सकेन । आज देउवाले त्यो उल्टै ओलीतिरै सोझ्याइदिए । हुन त यो प्रक्रिया आफैँमा गलत हो । अतिवाद र अंहकारको अन्तिम लक्ष्य र गन्तव्य भनेकै सर्वनाश र विध्वंश हो । इतिहासका विभिन्न कालखण्डले यो कुराको चित्रण गरिसकेको छ ।

दल विभाजनसम्बन्धी अध्यादेश ल्याउँदा ओलीको नियत संसद् सिध्याउने र मध्यावधि निर्वाचनमा देशलाई धकेल्ने थियो, तर यही अध्यादेश देउवाले ल्याउँदा उनको नियत संसद्लाई पूर्ण कार्यकाल जोगाउने र देशलाई आवधिक निर्वाचनमा लैजाने छ । यसर्थ, एउटै विषय पनि उद्देश्य र नियतका आधारमा फरक हुने रहेछ । तर, देउवाको यो कदमले ओली प्रवृत्तिको श्रीपेचविहीन टाउकोमा भने राम्रोसँग बजाएको छ ।

नेपालमा राजनीतिक स्वार्थभन्दा माथि उठ्ने र अरु सबै ‘वाद’ भन्दा ‘राष्ट्रवाद’ ठूलो देख्ने नेतृत्वको खडेरी परेको छ । ६०० खर्बको भ्रष्टाचार नरोक्नेहरु ५० अर्ब स्वीकार नगरे देशको विकास ठप्प हुन्छ भन्छन् । कार्यकर्ताहरु हत्केला पुत्याउन्जेल ताली ठोक्छन् । भोलि राज्यको बुइँगलमा उक्लिएर देशको नेतृत्व गर्ने पंक्ति त्यही हो । जसले आज लगातार देश विरोधी गतिविधिमा होमिएका मुठ्ठीभर दलालहरुको सुसार गरिरहेको छ ।

भनिन्छ, असल गुरूले कहिल्यै पनि पाउपुजन र पाउढोग गराउँदैनन् । आफ्नो भजनकीर्तन गाउन लगाउँदैनन् । गुरूले ज्ञानको कुराउनी खुवाएर शिष्यको शिर सदैव उठाउँछन् । जति शिष्यको शिरमाथि उठ्छ त्यति नै गुरूको गरिमा बढ्छ । तर यहाँ त्यो सब चल्दैन । घुँडा धसेर चाकडी गर्दागर्दै जीवनको ऊर्जाशील समय सकिन्छ । जोश जाँगर सबै ओइलाएपछि जेनतेन शक्तिमा पुग्छन् । अनि आफ्नै सुसारेहरुको सेवा गर्दागर्दै समय गुज्रिएको पत्तै पाउँदैनन् ।

सारांशमाः बाँसको टुप्पोमा बसेको भँगेराले आफ्नै वजनका कारण बाँस निहुरिएको भन्ठानेजस्तै वर्षभरि राज्यकोष निचुरेर देशलाई भुवाझैँ बनाएकाहरु मञ्च उक्लिएर जब समृद्धिको खोक्रो आदर्श छाँट्दै आफ्नै कीर्तन गाउँछन् । निरीह हामी जनता भन्नेहरु मख्ख र लठ्ठ पर्छौं, अनि हत्केला पुत्याउन्जेल ताली बजाउँछौँ । पटकपटक थिलोथिलो हुनेगरी पिल्सिएको ‘देशका जनता’ भन्ने हामी, जसरी नेताहरुले बतासे कुरा गर्छन् उसरी नै उड्दै गयौं ।

भ्रष्टहरुले हामीलाई भेडाबाख्राझैँ टाट्नामा बाँधेर हरियो घाँस हालिदिए । हामी नतमस्तक हुँदै पाउर लगाएर उनकै जयजयकार गरेर बस्यौं । हामीले अब पनि पाठ नसिके, कहिले सिक्ने ? तालपरे कात्रोमा समेत गोजी सिलाउन पछि नपर्ने राजनीतिज्ञहरूको अवशानबिना यस देशको उन्नति हैन अवनति मात्र हुँदैजाने निश्चित छ । एउटा कुलीन शासक वर्गले गरेको गलत निर्णयको भागिदार यो देश र हामी जनता कहिलेसम्म बन्ने ? कि सधैं भरि– ‘हामी यस्तै त होनि ब्रो ?!’

लमही दाङ

प्रतिक्रिया दिनुहोस्