Logo
Logo

नयाँ क्रान्तिको बाटोमा एकीकृत समाजवादी पार्टी


लक्ष्मण देवकोटा


राष्ट्रिय सभागृहमा निर्वस्त्र बादशाहको नग्न नृत्य हेरेर ताली बजाउने नेता कार्यकर्ताको नेपालमण्डलमा कमी छैन । माक्र्सवादका दार्शनिक र अनुयायी भनिएका नेताहरु अवसरवादको ढोकाबाट लुत्त छिरेपछि राजनीति किंकर्तव्यविमूढ भएर हेर्नुपर्ने जटिल मोडमा आइपुग्दो रहेछ । प्रकृति र विज्ञानमा विश्वास गर्नेहरुले परिवर्तनको सत्यतालाई स्वीकार्नैपर्छ ।

सगरमाथाको चुचुरो छुन हिंडेकाहरु बीच बाटोमै हिउँमा चिप्लिएर लड्दैमा के क्रान्तिको यात्रा रोकिन्छ त ? कदापि रोकिँदैन । नेपालको कम्युनिष्ट आन्दोलनलाई पश्चिम बंगालको नियति बनाउन मुठ्ठी कसेर लागेका खड्गप्रसाद ओली प्रवृत्तिविरुद्ध गरिएको विद्रोहले नेपालको कम्युनिष्ट आन्दोलन पुनर्गठनको अध्याय आरम्भ गरिदिएको छ ।

ओली प्रवृत्तिका निम्ति सत्ता भान्छा हो । फगत भुँडी अघाउने भान्छा । देश दुनियाँ बदल्न हिंडेकाहरु आफू पनि अघाउन, आफ्ना वरिपरिकालाई अघाउन हाल्न र धूपधुवाँर गर्ने र चाकरहरुको भीड जम्मा गर्न सधै उद्यत रहेपछि सत्ता भान्सा नै हुने हो । त्यही भान्से मानसिकताकै उपज हो, निकृष्टताको हद नाघेर अपमानको गाली बर्साउनु । अब यो भान्से प्रवृत्ति निर्मूल भएन भने सत्तामा पुगेर सुन्निएका यी भान्छावालहरुले कम्युनिष्ट आन्दोलनलाई नै खाएर मल बनाइदिनेछन् ।

नेपालमा मात्र हैन संसारैभरी कम्युनिष्ट पार्टीको गठन, विघटन र पुनर्गठनहरु निरन्तर भइरहेकाछन् । गतिशील र बदलिँदो समयअनुसार पार्टीले आफूलाई जीवन्त राख्न सकेन भने त्यसको विघटन अवश्य हुन्छ नै । वर्गीय समाजमा विश्वास गर्ने, समतामूलक समाजको निर्माणको नेतृत्व गर्ने र साम्यवादी समाजको कल्पना गर्नेहरु नै स्वयं दलाल पूँजीपति वर्गमा परिणत भएर बाँकीलाई दास ठान्न थालेपछि विग्रह नभए के हुन्छ ? त्यो विग्रह पार्टीभित्र पनि हुन्छ । समाजमा पनि हुन्छ । एमालेमा भएको त्यही हो । र, फेरि पनि विद्रोह हुन्छ । राज्यका संरचनाहरुमा लोकतान्त्रिक पद्धतिबाट विजयी भएर पुगेका कार्यकर्ताहरु नै त्यही राज्यको दुरुपयोग गर्दै भ्रष्टाचार गरेर अकूत कमाउन थाल्छ भने भाँडभैलो त सुरु हुन्छ नै ।

नेतृत्वले गलत गर्नेलाई कारवाही गर्नु त कता हो कता आफै अदालत भएर उनैको पक्षमा काम गर्ने, उनैलाई पार्टीका जिम्मेवारीहरु दिन थालेपछि इमान्दार र असल कार्यकर्ता त्यहाँ कसरी टिकिरहन सक्छन् ? लामो विरासत बोकेर आएको पार्टीमा यस्तै दलालहरुको कब्जा भएपछि विद्रोह र पुनर्गठन आवश्यक कुरा बन्छ ।

तत्कालका लागि बडो असजिलो, अप्ठेरो र अपजस लाग्ने काम भएपनि समाज विज्ञानको सत्यलाई निकटबाट बुझेकाहरुको निम्ति नदीको उल्टो बहावमा लाग्न लर्तरो मानसिकताले हुँदैन । त्यसका निम्ति दह्रो अडान र हिम्मत चाहिन्छ । त्यही हिम्मत बोकेर माधवकुमार नेपालको नेतृत्वमा नेपाली कम्युनिष्ट आन्दोलनको पछिल्लो परिदृष्यमा देखिएका केही नेताहरुको विद्रोहले नयाँ बाटो बनाउनेछ ।

वामदेव गौतमको उदाहरण दिएर नेपालमा फुटेर जाने कसैको भविष्य छैन भनेर जुन भाष्य निर्माण गरिएको छ, त्यो नै भान्छे मानसिकता हो । वामदेवको विद्रोह र माधव नेपालको विद्रोहमा आकाश जमिनको फरक छ । आखिर वामदेवको विद्रोहबाट सिंगो एमाले जोगाउने पनि तिनै माधव नेपालहरु हुन् । विचार सही हुन्छ भने व्यक्तिहरु आन्दोलनमा थपिंदै जाने क्रम चलिरहन्छ । यो शाश्वत सत्य हो ।

शहरको यौटा ठूलो तप्का जसले हरेक सरकारमा अवसर लिइरहेको हुन्छ, राज्यबाट लाभ लिइरहेको हुन्छ उसले परिवर्तनकारी शक्तिलाई सधै हमला गरिरहेको हुन्छ । ग्रामीण संगठनको जनआधारबाट उठेका र समाज फेर्ने कसम खाएर शहर पसेका कम्युनिष्ट नेताहरु नै फेरिएर अवसरवादी भैदिएपछि नेपाली समाजमा जुन रिक्तता देखिएको छ, त्यो रिक्ततालाई इमान्दारिपूर्वक भर्ने, गतिशील नेतृत्वको खाँचो नेपाली कम्युनिष्ट आन्दोलनको हो ।

देखिएकै छ, खड्गप्रसादहरु पूर्णतः कम्युनिष्ट आन्दोलनका बनियाँ भएर निस्किए । उनीहरुले मदन भण्डारीलाई भित्तामा झुण्ड्याएर, जबजलाई देखाएर, सूर्य चिन्हको झण्डा बोकेर नेपाली जनतालाई मूर्ख बनाउने प्रयत्न गरिरहेका छन् । काँग्रेसमा जसरी वीपी कोइरालाको निधनपश्चात कोइरालाको प्रजातान्त्रिक समाजवादका नाममा लुट चलिरहेको छ, त्यसैगरी कम्युनिष्ट आन्दोलनमा पुष्पलाल, मदन र जीवराजका नाममा लुट मच्चाउने काम जारी छ । माधवकुमार नेपाल नेतृत्वले कम्युनिष्ट आन्दोलनको नाममा भइरहेको यो लुटलाई रोक्न सकेमात्र विभाजनको औचित्य सावित हुनसक्दछ ।

कम्युनिष्ट पार्टीको पुनःनिर्माणको कुरा गरिरहँदा समाजको वस्तुगत विश्लेषण गर्नु जरुरी छ । बदलिँदो समाज, विकसित सूचना प्रविधिको कारण साँघुरिंदै गएको विश्व र लोकतान्त्रिक प्रकृयामा आम सहभागीताका अभ्यासहरुको कारण राजनीतिक प्रकृयामा आम मानिसहरुको सहभागीता त छ । तर, उही पूँजीवादी अर्थनीतिको आडमा शिक्षा, स्वास्थ्य र सुरक्षा जस्ता आम जनताका सरोकारका विषयहरुको जिम्मा नीजि क्षेत्रले होइन, राज्यले लिनुपर्दछ भन्ने कुरामा नयाँ क्रान्तिको बाटो लेखिँदा प्रष्ट हुन जरुरी छ ।

जनताको बहुदलीय जनवादको नारा लगाएपछि जे पनि गर्ने छूट हुनु हुँदैन । रेमिट्यान्सले धानिएको रुग्ण अर्थतन्त्र भएको सानो मुलुकका युवाहरुलाई स्वदेशमै रोजगारीको बन्दोबस्त गर्नका निम्ति नीतिगत तहमा गरिने कामहरुको प्रष्टता हुन जरुरी छ । कम्युनिष्ट आन्दोलनको नाममा उत्पीडतहरुको ढाडमा टेकेर राज्यसत्तामा पुगेपछि तिनै उत्पीडितलाई बिर्सने, जनताको करमा शासन गरेर तिनै जनतालाई सास्ती दिने पार्टी किमार्थ कम्युनिष्ट पार्टी हुन सक्दैन ।

बुर्जुवा सामन्ति वर्गमा अनुदित हुँदै गएका कम्युनिष्ट नामका पसलहरु जतिसक्यो चाँडो बन्द हुनुपर्दछ र नयाँ पुनःगठित आन्दोलनहरुले तिनीहरुलाई विस्थापित गर्नुपर्दछ । त्यसको निम्ति पार्टीको चुनाव चिन्हको ट्रेडमार्क बिक्री गरेर होइन, विचारमा प्रष्टता प्रमुख कुरा हो । विचारमा प्रष्टता भएकै कारण हिंजो एक्लै हिँडेका पुष्पलाल इतिहासमा अमर भएका हुन् । समयले नेतृत्व जन्माउँछ, त्यही नेतृत्वको नाम माधवकुमार नेपाल हो । जसका साथमा लाखौं सच्चा कम्युनिष्ट कार्यकर्ता र स्वाभाविमानी जनता छन् ।

यो दुनियाँमा सबैभन्दा ठूला शक्ति भनेका जनता नै हुन् । जनताले इतिहास निर्माण गर्दछन् । जनताले नै मक्किएका विचारहरुलाई समाजबाट विस्थापित गर्दछन् । त्यसका निम्ति सही विचार र उन्नत विधिबाट पार्टी चल्नैपर्दछ । विचारलाई गौण बनाएर संसारमै चलिरहेको लोकप्रियतावादलाई मूल आदर्श मानेर व्यक्तिलाई ठूलो बनाउँदै सिंगो पार्टी, विचार, संगठन, आदर्श भनेकै एकल व्यक्ति हो भन्ने चिन्तनले अन्तमा हुने विघटन नै हो । त्यत्रो सोभियत संघलाई हाँकेका र संसार सामू लडेर जितेका स्टालिन त कालान्तरमा तानाशाहको रुपमा चित्रित भएर सिंगो सत्ता नै गुमाउनु पर्यो भने अरु के कुरा गर्नु ?

नयाँ क्रान्तिको बाटो अप्ठेरो छ । सत्ताको तर मारेर निस्किएका बिरालोहरु बाघ बन्न खोज्नेछन् । जताततै आक्रमण हुनेछ । हतोत्साही पारिनेछ । समाजमा बहिष्कृत नै गरिनेछ । निस्क्रिय र पंगु बनाइनेछ । पार्टीलाई विसर्जनवाद उन्मुख बनाइनेछ । तर, विचारमा दृढ सतिसाल जस्ता चट्टाने मानिसहरुलाई यसले कुनै अप्ठेरो पार्नेछैन । नेपाली कम्युनिष्ट आन्दोलनको व्यापक पुनर्गठन जरुरी छ ।

गुटको आडमा सिंगो आन्दोलन हाँकिदैन । नेपालको गरीब, दुःखी वर्ग त्यसै एकीकृत भएका होइनन् । त्यहाँ भर्खरै दिवंगत जेबी टुहुरेजस्ता जनता जगाउने इमानदार कार्यकर्ताहरु, सत्तालाई चुनौती दिने मोहनचन्द्रजस्ता सिंहहरुको सिंगो अभियान फेरि एकपटक जगाउनु पर्छ । फेरि त्यो आन्दोलनको आँधीबेहरी उठ्नेछ । उत्पीडि़त वर्गको नाममा राजगज चलाउने काजीहरुलाई त्यो आँधीले बढारेर लैजानेछ । प्रतिक्षा गरौं ।

मदनपोखरा, पाल्पा

प्रतिक्रिया दिनुहोस्