लोपोन्मुख अवस्थामै कम्रेडहरुको क्रान्ति ! « Drishti News – Nepalese News Portal
Logo

लोपोन्मुख अवस्थामै कम्रेडहरुको क्रान्ति !


उमेश बन्जाडे


– ‘हाउ कम्रेड ! नेतृत्व कता छ ? के छ नयाँ जानकारी ? माथिबाट केही आयो ? हाम्रो प्रकृति र दुश्मनको प्रवृत्तिबारे कुनै तलमाथि ?’ (जनयुद्ध)
– ‘ओ हो कामरेड ! अचेल नेताहरु कता छन् ? गाउँ नै बिर्सिए कि क्या हो ? होइन– हाम्रो त्यतिका वर्ष मरिमेटी गरेको योगदान त्यसै खेर जाने भयो त बरै ! संगठन सबै लथालिंग छ । हाम्रो अवस्थाको त झन् के कुरो गरौं र ?’ (मनोयुद्ध)

– ‘हेल्लो सर ! कता हो क्या तपाईं आजभोलि ? हिजोआज बुढाहरु कता छन् ? अस्ति नालाको टेण्डर पनि परेन । त्यो– रामनगरको बाटो पिच र माथि उदिन ढुंगा हुँदै शहिदमार्गसम्मको बाटो ग्राभेल हाम्रै टिमलाई दिन्छु भन्थे !?’ (धनयुद्ध)

पाठकवृन्द ! यतिखेर गणतन्त्रको साइनबोर्ड मुनि शाहीकालीन चाकरीले पराकाष्ठा नाघेको छ । माथि उल्लेखित केही पंक्ति ‘जनयुद्ध, मनोयुद्ध हुँदै धनयुद्धमा जमेर लाग्नुभएका लोपोन्मुख कम्रेडहरुको विगत अनि वर्तमानको सजिलो परिचय हो । हुन त यो युग मान्छेभन्दा बुख्याँचा राम्रो देखिने युग हो । त्यसैले यहाँ सत्यतालाई सदैव गर्भमा राखेर असत्यलाई प्रश्रय दिइन्छ । यो कस्तो अनौठो जुग ?

जहाँ सम्भावनाको लिस्नो चढेर समस्याको निराकरण गर्न खोज्नेलाई खुट्टा तानेर भुइँमा पच्छारिन्छ, अनि पृष्ठभूमिमा पलेटी कसेर थपडी बजाउँदै आफूले संसार जितेको अड्कल गरिन्छ । यसै सन्दर्भमा जनयुद्धपछिको मनोयुद्ध र वर्तमान धनयुद्धको लुछाचुडीमा चुर्लुम्म डुबुल्की मारिरहनुभएका लोपोन्मुख कम्रेडहरुको वर्तमानबारे केही चर्चा गर्ने प्रयत्न गरिएको छ ।

पहिले अर्थात् जनयुद्धताका एकाअर्काबीच देशका कुरा गरिन्थ्यो । पुरातनको पिँजडामा पिल्सिएर थकित जनभावना र अग्रगमनको सम्भावनाबारे विमर्श हुन्थ्यो ।

युद्धका बेला एसल्ट ग्रुपमा जान र दुश्मनसँग आमने–सामने भएर लड्न मरिहत्ते गरिथ्यो । यतिबेला सत्ताको तर मार्न तँछाडमछाड गरिरहेका छन् । उतिबेला परिआए वीरताका खातिर शहिद बन्न तयार भइन्थ्यो । अहिले मन्त्री नपाए आत्महत्या गर्न खोजिन्छ । उतिबेला एउटा ख्याउटे अनुहारले ‘कम्रेड’ भन्थे । कति गहिरो वर्गीय माया भेटिन्थ्यो त्यो ‘कमरेडमा’ ।

घर परिवार सबै त्यागेर हिँडेको युद्ध सिपाहीमा पनि कस्तो सुमधुर सामिप्यता झल्किन्थ्यो त्यो भाषाले । आफैँप्रति अथाह गर्व लाग्थ्यो त्यस्तो वातावरणले । उध्रिएको कमिज लगाएका बुवा, दाजुभाइ र गरिबीको रापले राँकिएका आमा दिदिबहिनीहरुको मनमा पो भेटिन्थ्यो– ‘कम्रेड’ बन्ने अनि भन्ने शब्दको मर्म र उचाइ । अहिले, नयाँ यद्यपि, ठाउँठाउँमा बन्दुकधारीले आक्रमण गरेर प्वाल परेको भित्तोझैँ, दुलो पारेका लुगा लगाउनेहरु कम्रेडहरु आफैँ सुकिला मुकिला बनेका छन् ।

जुवाको खाल र भट्टीमा आहाल बसिरहेकाहरु अचेलका चल्ताफिर्ता कमरेडहरु हुन् । युग बदलिएर होला घाँटीमा घिरौंला जत्रो छड्के तिलहरी झुण्ड्याएर तारे होटलमा कम्मर मर्काउने क्रान्तिकारी कमरेडनीहरु भेटिन्छन् । ‘रजस्वला हुनु पाप हो’ भन्दै मनाइने ऋषि पञ्चमीमा उनै कम्रेडनीहरु व्रत बसेको भेटिन्छन् । त्यहाँ मात्रै होइन ! यिनै लोपोन्मुख कम्रेडहरु महिला अधिकार र स्वतन्त्रताबारे दह्रो विषयमा खह्रो प्रवचन दिइरहेका पनि भेटिन्छन् ।

पहिले कमरेडहरु जनताका दुःखसुखमा भेटिन्थे । बिघौँ बिगाहा जमिन जोत्दा पनि महिना दिन खान नपुग्ने चुल्होमा देखिन्थे । तर अहिले सायद लोपोन्मुख भएर होला, ती असली कमरेडहरु कतै देखिदैनन् । बरु अचेल त चौराहमा गाँजा तानेर बस्ने चुल्ठे–मुन्द्रेहरु ‘के छ हौ सोल्टी कमरेड ?’– भन्छन् ! दलाल र भ्रष्टहरुसँग लाखौं– करोडौंको बार्गेनिङ गरिरहेकाहरुले सजिलैसँग ‘के छ आजभोलिको कारोबार– कम्रेड भन्छन् ।’ सुन्दा पनि कन्सरीको रौँ तातेर आउने ।

युद्ध रोकियो । नेता कम्रेडहरु गोल्डस्टार जुत्ताका जुम्रा कन्याउँदै शहर पसे । अथाह बेरोजगारीको दुष्चक्रमा परेका कयौं इमानदार कमरेडहरु केही लाख कमाउन अरबको तातो बालुवामा परेड खेलिरहेका छन् । के गर्नु ? उन्मुक्तिका गगनभेदी नारा लगाएर ‘भोक धान्ने रोटो र लाज ढाक्ने भोटो’ नपाइँदो रैछ । आफ्नो खुन पसिना बगाएर ल्याएको लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति गर्व लागे पनि नेताहरुको व्यवहार र उँधोगतितर्फ लागिरहेको देशको अवस्थाले ती असल ‘कम्रेडहरु’लाई असह्य पीडावोध त पक्कै हुन्छ नै ।

हुन त, हिजोका नामुद क्रान्तिकारी कम्रेडहरु पनि यहीँ छन् । परन्तु यहीँ भएर पनि उनी कता छन् कता ? बिहान झिसमिसेमै उठेर शहर पसेका कम्रेड बेलुका जुनकिरीले बत्ती बालेपछि घर फर्किन्छन् । उनीहरुलाई पनि कम्ती गाह्रो छ । अथाह दौडधुप गर्नुपर्छ । हुन त क्रान्ति कहाँ सजिलो छ र ? त्यसैमा पनि यो पूँजीवादी युग ।

कहिलेकहीँ सानोतिनो कामले खोज्न जाँदा खोला जोतिरहेका क्रसर उद्योगमा भेटिन्छन् ती कम्रेडहरु । कहिले धानफल्ने खेतका बीच भागमा फलिरहेका अलिसान महलको मुन्तिर जग्गाको नक्सा पल्टाइरहेको भेटिन्छन् । कहिले आफ्नाहरुको पोल्टामा टेन्डर पार्न बडो फुर्तिका साथ लविङ गरिरहेका हुन्छन् हाम्रा क्रान्तिकारी कमरेडहरु । यसमा गम्भीर विषय त के भने, हामीले बेलाबेलामा खोज्ने ‘भोलिको नयाँ नेतृत्व पुस्ता’ पनि यही हो ।

हामी सधैँभरि हिजोमै खुम्चिएर बस्नुपर्छ भन्न खोजिएको कदापि होइन । मात्रै हिजोलाई बिर्सिनु सरासर यो देश र जनताप्रतिको अन्याय हो भन्न खोजिएको हो । सँगसँगै युद्ध लडेका अधिकांश सहयात्रीहरुलाई सडकमै छाडेर देश बदल्न शहर पसेका कम्रेडहरु उतै बेपत्ता भएदेखि हिजोले टाढै बसेर गिज्याइरहेको छ ।

भनिन्छ– सत्ता नामको धङधङीले खुट्टा लरखराएपछि आफू र आफ्ना नातागोताबाहेक अन्यत्र अन्धकार देख्छन् । सायद, ती कम्रेडहरुले पनि सत्ताको अन्धोपनाले गर्दा आफू वरपरबाहेक सर्वत्र अन्धकार देख्छन् । यदि साँच्चिकै देख्थे र सुन्थे भने त साइरन जडित करोडौंका गाडीले हिलो छ्याप्दै हिँडेका युद्धका घाउहरु चिन्नुपर्ने ?

‘जेहोस् लोपोन्मुख अवस्थामै भएपनि कम्रेडहरु क्रान्तिमै छन्’ भनेर एक सर्को चित्त बुझाउँ ।

प्रतिक्रिया दिनुहोस्