राष्ट्रसंघले गणेशमान सिंहलाई ‘विश्वकै गौरव’ घोषित गरेको त्यो दिन « Drishti News – Nepalese News Portal
Logo

राष्ट्रसंघले गणेशमान सिंहलाई ‘विश्वकै गौरव’ घोषित गरेको त्यो दिन


माथवरसिंह बस्नेत


आजभन्दा २८ वर्ष अगाडिको घटना सम्झँदा र लेख्न खोज्दा कतै छुट्ने र कतै टुट्ने जोखिम हुन्छ, तापनि त्यो ऐतिहासिक घटनाको साक्षी बन्ने दुर्लभ अवसर प्राप्त गरेको व्यक्तिका नाताले त्यसको अभिलेख तयार पार्ने जिम्मेदारीबाट भाग्ने कुरा हुन सक्तैन । त्यसमाथि लौहपुरुष गणेशमान सिंहलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतबाट प्रदान भएका सम्मान तथा पुरस्कारका अभिलेख तयार गर्ने दायित्व पनि सकारेको व्यक्ति भएकाले कुनै पनि हालतमा मैले त्यो कर्तव्य निर्वाह गर्नै पर्छ । त्यो प्रयास थाल्न उहाँको पुण्यतिथिभन्दा उपयुक्त अवसर अर्को हुन सक्तैन, त्यही निष्कर्षका आधारमा अभिलेखिकरणको यो अभियान थालिएको हो ।

एक नितान्त आकस्मिक संयोगले म त्यो महान् घटनामा जुट्न पुगेको थिएँ । एकजना प्रियजनलाई सानो सहयोग जुटाइदिने कामले म उहाँको निवासमा पुगेको थिए । दिनको एक बजेको थियो, उहाँ नुहाई सकेर बगैंचाको डिलमा मंसिर महिनाको न्यानो घाम ताप्दै हुनुहुन्थ्यो । एकजना सहयोगीबाहेक त्यस बेला अरु कोही थिएनन् । मेरो अभिवादनको जवाफमा उहाँले नजिक आउने इशारा गर्नुभयो र सोध्नुभयो– आज के पर्यो र यस बेला आउनु भयो ? मैले संकोच मान्दै आफू आउनुको कारण बताएँ ।

उहाँले भन्नुभयो– ‘हुन्छ, मलाई अमेरिका जान पैसा खोज्नै परेको छ, त्यसैमा यो पनि जोडौंला हुन्न ? पर्सी बिहान एकपल्ट भेट्नोस् न ।’
बिदा मागेर हिड्नलाग्दा मनको जिज्ञाशा मेट्न सोधें– ‘कति समय लाग्छ अमेरिकामा ? अचानक जाने कुरा सुनियो । विशेष काम परेर जान लाग्नु भएको हो कि स्वास्थ्य परीक्षणका लागि ?’

उहाँले जवाफ थियो– ‘स्वास्थ्यको कारणले होइन । राष्ट्रसंघले सन् १९९३ को मानवअधिकार पुरस्कार एशियाको तर्फबाट मलाई दिने निर्णय गरेको रहेछ । त्यही ग्रहण गर्न जान लागेको ।’

प्रत्येक पाँचवर्षमा दिने त्यो पुरस्कार, यसअघि दक्षिण अफ्रिकाका नेता नेल्सन मण्डेलालाई प्रदान गरिएको थियो । त्यो निर्णयको जानकारी परराष्ट्र मन्त्रालयले हिजो बेलुका मात्र दियो । पर्सी हिडिहाल्नु पर्ने छ ।

मेरो मुखबाट हठात् निक्ल्यो– हजुरसँग को को जाँदैछन् ?

उहाँको जवाफ थियो– ‘मंगलादेवी, माहिली छोरी कान्ता सिंह, पीएल सिंह र फोटोग्राफर मीन बज्राचार्य ।’

मैले उहाँलाई ठूलो अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्नु भएकोमा हार्दिक बधाई ज्ञापन गरें र त्यस बारेमा अलि विस्तारमा कुराकानी पर्सी नै गरौंला भनेर हिड्न के लागेको थिएँ, उहाँले सोध्नुभयो– ‘तपाईंले त्यो प्रश्न किन गर्नुभयो ? के तपाई पनि जाने हो ?’

राष्ट्रसंघले सन् १९९३ को मानवअधिकार पुरस्कार एशियाको तर्फबाट गणेशमानलाई दिने निर्णय गर्यो । प्रत्येक पाँचवर्षमा दिने त्यो पुरस्कार, यसअघि दक्षिण अफ्रिकाका नेता नेल्सन मण्डेलालाई प्रदान गरिएको थियो । त्यो गौरवको क्षण थियो ।

मैले भनें– जाने भनेको होइन । टोलीका सदस्यहरुको छनोट पार्टी कि सरकार कसले गर्ने हो, त्यो केही नबुझि कसरी जाने भन्नु ? हुन त राष्ट्रसंघजस्तो संस्थाले पुरस्कार प्रदान गर्नु हजुरको जीवनभरको त्याग र वलिदानको उच्च मूल्यांकन हो । त्यत्ति ठूलो र यशस्वी घटनाका बारेमा भोलि मैले नै लेख्नुपर्ने छ । जसले लेख्ने हो, उसले त्यस्ता दुर्लभ अवसर आफैंले अवलोकन गर्ने अपेक्षा राख्नु अस्वभाविक होइन । तर यति छोटो समयमा नाम थपघट गर्न संभव नहुनसक्छ ।

उहाँले भन्नुभयो– एकपल्ट पीएललाई भेट्नोस् न । उनैले यात्राको संयोजन गरेका छन् । तिनताका काठमाडौंका मेयर पीएल दाईलाई सम्पर्क गर्नु र भेटनु भनेको हावालाई पक्रनुजस्तै असंभव थियो । तैपनि प्रयास गरेको थिएँ, सफल हुन सकिन । पछि आफैं काममा व्यस्त भएँ । भेट्ने कुरा भुसुक्कै बिर्सेछु ।

रातको साँढे दस बजे फोनको घण्टी बज्यो । निद्रामा थिएँ । फोन उठाएँ, पीएलजीको रहेछ । उहाँले भोलि बिहान ८ बजे पासपोर्ट लिएर आउन भन्नुभयो । ८ः३० मा अमेरिकी दूतावास पुग्नुपर्ने रहेछ । त्यो घटनाबाट गणेशमानजीको कार्यकर्ताप्रतिको अनुग्रहको प्रत्यक्ष दर्शन मिल्यो । त्यसरी उहाँका साथमा म न्युयोर्क पुगेको थिएँ ।

काठमाडौंदेखि न्युयोर्क पुग्न २० घण्टा लाग्ने र त्यस्तो यात्रा गणेशमानजीको उमेर र स्वास्थ्यका कारणले उपयुक्त नहुने भएकाले लण्डनको दूतावासमा चार दिन आराम गरेर आठ तारीखमा न्युयोर्क प्रस्थान गर्ने कार्यक्रम बन्यो । त्यहाँ हाम्रो आवासको व्यवस्था न्युयोर्कको म्यानहाट्टनको सेभेन र सिक्स एभेन्युजको बीचमा अवस्थित डोरसेट होटलमा गरिएको थियो । त्यसको सम्पूर्ण व्यवस्था राष्ट्रसंघका लागि नेपाली राजदूत डा.जयराज आचार्यले गर्नु भएको थियो ।

१० डिसेम्वरको मुख्य आकर्षण, मानवअधिकार पुरस्कार प्रदान गर्ने कार्यक्रम थियो । त्यसका निम्ति भएका तयारीको निरीक्षण एक दिन अगावै गराइएको थियो । ठूला समारोहका आयोजनामा कुनै त्रुटी हुन नपावोस् भनेर गरिने त्यस्तो पूर्वाभ्यासलाई पनि कार्यक्रमकै अंग मानिन्छ ।

राष्ट्रसंघले पनि त्यसको अनुसरण गर्ने गरेको रहेछ । यद्यपि, त्यो राष्ट्रसंघको आफ्नो बेग्लै परम्परा छ, तथापि समारोहलाई राजकीय मर्यादा अनुकूल तुल्याउन पनि उत्तिकै सजगता अपनाइँदो रहेछ । राष्ट्रसंघको साधारणसभाको प्रतिवर्ष चल्ने नियमित बैठक, जुन विशाल एवं भव्य सभाकक्षमा हुन्छ, पुरस्कार वितरण समारोह पनि त्यही हलमा आयोजित थियो ।

कार्यक्रम संक्षिप्त र व्यवस्थित थियो । त्यहाँ वन वे ट्राफिक नियम रहेछ । त्यो भनेको पुरस्कृत व्यक्तिहरुका बारेमा जति प्रकाश पार्नु पर्ने हो, ती सबै आयोजकले गरिदिने भएकाले पुरस्कृत व्यक्तिले बोल्नै नपर्ने । अनि, छिटो र छरितो हुने नै भयो !

त्यो समारोह बिहानको ११ बजे सुरु भयो । पाँच मिनेट अगाडि नै अध्यक्ष स्यामुयल इनसाअली, महासचिव बुद्रोस बुद्रोस घाली र सहमहासचिव समारोहस्थलमा प्रवेश गरिसक्नु भएको थियो । राष्ट्रसंघका सदस्य देशका प्रतिनिधिहरुले पनि आ–आफ्नो स्थान ग्रहण गरिसकेका थिए । विश्वसंस्थाका पदाधिकारीले अग्लो मंचमा लहरै सजाइएका तीन कुर्सीमा आसन जमाएपछि एक क्षण विलम्व नगरी अध्यक्षले कार्यक्रम प्रारम्भ भएको घोषणा गर्नु भएको थियो ।

उहाँले मानवअधिकार दिवसको कार्यक्रमको उद्घाटन भाषणमा भन्नुभएको थियो– आजको यो गरिमामय समारोह सर्वप्रथम ती महानुभावलाई स्वागत तथा अभिनन्दन गर्दछ, जसले आफ्नो स्थानबाट मानवअधिकारको पोषण र संरक्षणका लागि ठूलो योगदान गर्नु भएको छ । प्रत्येक पाँच वर्षमा संयुक्त राष्ट्रसंघले प्रदान गर्ने मानवअधिकार पुरस्कार वितरण गरिसकेपछि मात्र आजको दैनिक कार्यक्रम शुरु हुने जानकारी पनि उहाँले दिनुभएको थियो ।

अध्यक्षले आफ्नो संक्षिप्त मन्तव्यसकेर महासचिव घालीलाई मानवअधिकार दिवसका सन्दर्भमा प्रकाश पार्न आग्रह गर्नु भएपछि उहाँ पोडियममा खडा हुनु भयो र तत्कालीन विश्वमा मानवअधिकारको जुन स्थिति थियो, त्यसको सटीक समीक्षा गर्नुभयो । त्यस क्रममा उहाँले भन्नुभएको थियो– हाम्रो सर्वोत्तम प्रयासका बावजूद जताततै मानवअधिकारको उल्लंघनका घटना भइरहेका छन्, तर खुशीको कुरा छ कि त्यस्ता प्रवृत्तिका विरुद्ध संघर्ष गर्ने शक्तिहरु पनि सबल बनेका छन् र तिनलाई प्रेरित र उत्साहित तुल्याउने व्यक्तित्वहरु पनि सक्रिय रहेका छन् ।

पुरस्कार प्राप्त गर्ने व्यक्तित्वको परिचय दिने क्रममा महासचिव बुद्रोस घालीले नेपालका सर्वमान्य नेता गणेशमान सिंहको मुक्तकण्ठले प्रशंसा गर्नु भयो । उहाँले भन्नुभएको थियो– ‘नेपालमा मानवअधिकार र प्रजातन्त्रका लागि गणेशमान सिंहले पाँच दशकभन्दा लामो अथक संघर्ष गर्नुभयो ।

उहाँको निर्भीक अभिव्यक्ति र संघर्षमय जीवनयात्रा नेपालका लागि मात्र होइन, शेष विश्वका लागि पनि ठूलो प्रेरणाको स्रोत हो । उहाँले सन् १९९० को जन–आन्दोलनको सफल नेतृत्व गर्नुभयो र प्रजातन्त्र र मानवअधिकारका क्षेत्रमा एक नयाँ कीर्तिमान स्थापना गर्नुभयो । उहाँ विश्व मानव समूदायकै निम्ति ठूलो गौरव हुनुहुन्छ ।’

त्यसपछि बुद्रोस घालीले गणेशमान सिंहसमक्ष पुगेर पुरस्कार प्रदान गर्नु भयो । त्यसको लगत्तै विभिन्न देशका प्रतिनिधिहरुले पालैपालो सर्वमान्य नेता सिंहलाई बधाई ज्ञापन गरेका थिए । तीमध्ये भारतका तत्कालीन प्रतिपक्षी दलका नेता अटलबिहारी वाजपेयीले भन्नुभएको थियो– ‘पुरस्कारबाट एशिया नै सम्मानित भएको छ । यो उहाँले प्रजातन्त्रका लागि गर्नु भएको अथक संघर्षको अभिनन्दन हो ।’

त्यही साँझ अमेरिका नेपाल मैत्री समाजले आयोजना गरेको स्वागत समारोहलाई सम्वोधन गर्दै सिंहले भन्नुभएको थियो– ‘यो नेपाली जनतालाई प्राप्त भएको सम्मान हो, म त भरिया मात्र हुँ । त्यस्तो विनम्रताले धेरैका आँखा रसाएका थिए ।’

त्यो कार्यक्रममा राजदूत डा. जयराज आचार्यले भन्नुभएको थियो– ‘पुरस्कार नेपाल र नेपालीका निम्ति त राष्ट्रिय प्रतिष्ठाको वृद्धि हुँदै हो, राष्ट्रसंघका लागि पनि यो ठूलो गौरव हो कि गणेशमान सिंहले पुरस्कार स्वीकार गर्नुभयो ।’

२५ औं पुण्यतिथिमा उहाँप्रति हार्दिक श्रद्धाञ्जलि !

प्रतिक्रिया दिनुहोस्